अंग्रेजी नयाँ वर्षको अवसरमा भेडेटारमा खाना महोत्सव
धनकुटा : अंग्रेजी नयाँ वर्षको अवसर पारेर पर्यटकीयस्थल भेडेटारमा खाना महोत्सव हुने भएको छ । आयोजक भेडेटार होटल एशोसिएशन अफ भेडेटारले सोमवार पत्रकार सम्मेलन गर्दै अंग्रेजी नयाँ वर्ष सन् २०२१ को अवसर पारेर खाना महोत्सव आयोजना गर्न लागेको जानकारी दिएको हो ।
महोत्सव आगामी पुस १६ देखि १८ गते सम्म भेडेटार बजारमा आयोजना हुने एशोसिएशनका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताए । विगत ८ वर्ष देखि आयोजनाहुँदै आइरहेको महोत्सव गत वर्ष कोरोनाको कारण आयोजना हुन सकेको थिएन ।
तर यस वर्ष हुने महोत्सवमा स्थानीय खानाका परिकार, स्थानीय अर्गानिक खेतीबाट उत्पादित तरकारी तथा फलफूलको प्रदर्शनी, हस्तकला, कृषि तथा घरेलु सामाग्रीहरुको २४वटा स्टल रहनेछन् । स्टल निर्माण कार्य तीव्र रुपमा भइरहेको छ । पर्यटक स्वागत गर्न भेडेटार बजार क्षेत्रमा आर्कषक सजावट गरिने अध्यक्ष राईले बताए ।
महोत्सवमा आउने आगन्तुकलाई हेलिटुर, प्याराग्लाइडिङ, माउण्टेनबाइक र भिन्न भिन्न टुर प्याकेजहरुमा ५ देखि ३० प्रतिशत सम्म छुट र होटलमा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । महोत्सवमा आउने पर्यटकहरुलाई सागुरीगढी गाउँपालिका भित्र रहेको साँगुरीगढी, पाथिभरा मन्दिर, शंखेश्वर महादेवको मन्दिर, नाम्जे, नमस्ते झर्ना, शैलुङडाँडा, आत्मबस्ने घर थुम्की, बौद्धविहार, गुम्बा, ध्वजेडाँडा अजङगको बरको रुख लगायतका ठाउँमा घुमाइने छ ।
त्यस्तै मगर, लिम्बु, राई, चौधरी, धिमाल र याखा जातीको सांस्कृतिक झाँकीको समेत प्रर्दशनी गरिनेछ । महोत्सवको मुख्य प्रायोजक गोर्खा बुअरी, प्रर्वद्धनमा नेपाल टुरिज्म बोर्ड र सहयोगीमा साँगुरीगढी गाउँपालिका र ६ नं. वडा कार्यालय रहेका छन् ।
प्रतिक्रिया दिनुहोस !