हिउँ पर्यो फुरुरुरु ...
तेह्रथुम : तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सिमावर्ती क्षेत्र तिनजुरे,मिल्के र जलजले क्षेत्रमा बाक्लो हिमपात हुँदा जनजीवन प्रभावित बनेको छ । मंगलबार राती वर्षासँगै हिउँ परेपछि जनजीवन प्रभावित बनेको हो।
खासगरी हिउँका कारण बालबालिका र जेष्ठ नागरिक मारमा परेका छन् । यहाँका डाँडाकाँडा हिउँले ढाकेर सेताम्यै बनेका छन् भने करिब चार फिटसम्म हिउँ जमेको टुटेदेउरालीका श्री कार्कीले बताए ।
उनका अनुसार चित्रे, बसन्तपुर, देउराली, तिनजुरे पाथीभरा, पाँचपोखरी, मंगलबारे, चौकी गुफालगायत उच्च लेकाली क्षेत्रमा बाक्लो हिउँ परेको छ । ‘बाक्लो हिउँ परिरहेकाले यहाँका नागरिकलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ ।
पशुचौपया चरनमा नै कति हराएका छन् । सडकमा सवारीसाधन गुड्न समेत समस्या हुँदा यस क्षेत्रमा आएका पर्यटकहरु यात्रा गर्न झनै समस्या भएको छ,’ उनले भने । घरको छानादेखि सडक, वनजंगल हिउँले ढाकेर सेताम्यै बनेका छन् । हिउँका कारण अत्यधिक चिसो बढेको छ । चिसोका कारण नागरिकलाई हिँडडुल गर्न समस्या भएको छ ।
यहाँका नागरिक आगो तापेर घरमै बस्नुको विकल्प नरहेको स्थानीय छिरिङ शेर्पाले बताए । यस क्षेत्रमा हिउँ पर्दा छिमेकी जिल्ला र तराईका विभिन्न जिल्लाबाट पर्यटक आउने गरेका छन्। तर,हिउँ परिरहेकोले यात्रा गर्न समस्या भएको छ ।
खासगरी यहाँ पर्यटक हिउँ खेल्न र गुराँस फुल्ने सिजनमा गुराँसले रंगिएको वनमा रमाउने गरेका छन् । गुराँसको राजधानीको रुपमा चिनिएको तिनजुरे,मिल्के र जलजले पर्यटकीय रुपमा परिचित नाम हो। हिउँ बुधबार पनि बिहानैदेखि परिरहेको छ ।