उत्तरी गोरखामा भारी हिमपात, किसान खुशी (तस्बिर)
गोरखा : उत्तरी गोरखा भारी हिमपात भएको छ। चुमनुब्री गाउँपालिका, धार्चे गाउँपालिकाका अधिकांश गाउँ तथा लेकहरुमा मंगलबार साँझदेखि नै हिमपात भएको स्थानीयबासीले बताएका छन् ।
‘अहिलेसम्म एक फिट हिउँ परेको छ’, चुमनुब्री ६ लोक्पाका सेराप गुरुङले भने, ‘पहिलो पटक हिउँ परेको छ। हिउँले गौँ, जौ राम्रो हुन्छ त्यै भएर गाउँले खुशी भएका छन्।’
लोक्पा २२ सय फिट उचाइमा रहेको ठाउँ हो। त्यसभन्दा माथिका ३८०० मिटर उचाइमा रहेका चुमनुब्री गाउँपालिकाको वडा नं. १ को साम्दो, सामा, वडा नं. २ को ल्हो, स्यो, हिनाङ, ल्ही, वडा नं. ४ को प्रोक, क्वाक, छाक, नाम्रुङ, गप, वडा नं. ५ को बिही, क्य्राक, वडा नं. ३ को न्याक, आँगा, सस्र्यूँ, फिलिम, पाङसिङ, देवल, पाती, वडा नं. ६ को लोक्पा, चुम्लिङ, सिप्चेत, चुम्चेत तथा वडा नं. ७ छेकम्पार, लार, छुले, निलेलगायतका सबै गाउँमा हिउँ परेको वडाअध्यक्षहरुकाले जानकारी दिएका छन्।
‘छेकम्पारमा त चार फिट हिउँ परेको छ’, वडा नं. ७ का वडाअध्यक्ष पासाङ लामाले भने, ‘मान्छेहरु बाहिर निस्कन सकेका छैनन्। खानेपानी पनि हिउँ फुटाएर, पगालेर खानु परेको छ।’
सामागाउँ, ल्हो लगायतका गाउँमा भने फोन सेवासमेत अवरुद्ध भएको छ। 
हिउँले ढाकेको चुमनुब्री- ६ लोक्पा । तस्बिर : सेराप गुरुङ



प्रतिक्रिया दिनुहोस !