उपभोक्ताको टोलमै पुगी योजना सम्झौता, चैत्र भित्रै योजना सम्पन्न हुने
तानसेन : वडावडामा संचालन हुने योजनाहरुको सम्झौता, बैंक खाता संचालनको लागि उपभोक्ताहरु गाउँपालिकाको कार्यालय तथा सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको छ । आर्थिक वर्ष समाप्त हुने महिनासम्म उपभोक्ताबाट योजना सम्झौता गर्ने, २० देखी २५ दिन सम्म काम सकेर कागजी फरफारक गर्ने देशव्यापी परम्परालाई पाल्पाको बगनासकाली गाउँपालिकाले यस बर्ष तोडेको छ ।
चालु आर्थिक वर्षमा संचालन हुने योजनाहरु बगनासकाली गाउँपालिकाले वडावडा,टोलटोलमा पुगेर सम्झौता गरेपछि उपभोक्ताहरु सक्रिय भई योजनाको काम गर्न थालेका छन् । गाउँपालिकाका अध्यक्षसहित प्रमुख प्रशासकीय अधिकृत, ईन्जिनीयर, प्राविधिक, वडाअध्यक्ष वडासचिवहरु वडावडाका टोलटोलमा पुगेर योजना सम्झौताको काम खटिएका हुन् । योजना सम्झौताको लागि बैंक खाता अनिवार्य भएपछि गाउँपालिकाको टोलीसहित नेपाल बैंकका कर्मचारीहरु समेत उपभोक्ता समितिको खाता खोल्न टोलटोल, वडावडामा पुगेका हुन् ।
विगतका वर्षहरुमा उपभोक्ता समिति, गाउँपालिकाको कार्यालयमै पुगेर योजना सम्झौता गर्ने, सदरमुकाम पुगेर बैंक खाता खोल्ने प्रचलनलाई चालु आर्थिक वर्षमा बगनासकाली गाउँपालिकाले तोडेको छ । वडावडामा योजनाहरु सम्झौता भएपछि उपभोक्ताहरु योजनाको काममा जुटेका छन् । गाउँपालिकाले चालु आर्थिक वर्षमा वडावडामा पुगेर पालिकाले १ सय ९३ वटा योजना सम्झौता भई काम सुरु गरेको छ । बाँकी रहेका योजनाहरु पुनः पुस महिना भित्र वडामै पुगेर पुनः सम्झौता गरिने गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले बताए ।
वडाबाटै योजना सम्झौता भएपछि १५ वटा योजनाको काम सम्पन्न भई फरफारक भईसकेको अध्यक्ष बस्यालले बताए । गाउँपालिकाले वडा नंं १, चिरतुङ्गधारामा २५ वटा, वडा नंं २ पोखराथोकमा १६ वटा, वडा नंं ३ नायरनमतलेसमा २९ वटा, वडा नंं ४ खानीछापमा २३ वटा, वडा नंं ५ दर्लामडाडामा १८ वटा, वडा नंं ६ यम्घामा १९ वटा, वडा नंं ७ खानीगाउँमा १७ वटा, वडा नंं ८ बराङ्दीमा २३ वटा र वडा नंं. ९ चापपानीमा २३ वटा योजनाहरु वडावडा, टोलटोलमै पुगेर सम्झौता गरेको प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तीले बताए । सम्झौता भएका योजनाहरुको काम सुरु भएका छन । चैत्रभित्र सबै योजनाहरु सम्पन्न भई फरफारक हुने प्रमुख प्रशासकीय अधिकृत घर्तीले बताए ।
अहिले वडा नंं ४ खानीछापमा २३ वटा योजना सम्झौता गरेकोमा ३ वटा सम्पन्न भई फरफारक भएको, वडा नंं २ पोखराथोकमा १६ वटा योजना सम्झौता भएकोमा ३ वटा सम्पन्न भएको, वडा नंं ८ बराङ्दीमा २३ वटा योजना सम्झौता भएकोमा २ वटा सम्पन्न भएको, वडा नंं ९ चापपानीमा २३ वटा योजनामा २ वटा सम्पन्न भएको, वडा नंं १ चिरतुङधारामा २५ वटा योजनामध्ये १ वटा सम्पन्न भएको गाउँपालिकाका योजना अधिकृत भरत प्रसाद घिमिरेले बताए ।
वडावडामा योजना सम्झौता भएपछि उपभोक्ताहरु उत्साहित भएका छन् । स्थानीय सरकारको ईच्छाशक्ती भएमा अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत लगायतका कर्मचारीहरु जनताप्रति उत्तरदायी भएमा जनताका काम सजिलो तरीकाबाट गर्न सकिने रहेछ भन्ने उदाहरण बगनासकाली गाउँपालिकामा टोलटोलमा गरिएको योजना सम्झौताबाट महशुस भएको उपभोक्ता दयाराज न्यौपानेले बताए । गाउँपालिकामा जान गाउँबाट दुई वटा सवारी साधन परिवर्तन गरेर जानुपर्ने बाध्यता छ। एउटा योजना सम्झौता गर्दा विगतमा दुई दिन लाग्दथ्यो, केही कागजात कमी हुँदा कर्मचारीहरुले भोलि आउनुभन्थे, दुःखकै कारण गाउँमा उपभोक्ता समितिमा बसेर काम गर्न मान्दैनथे, अहिले घरदैलोमा योजना सम्झौताले काममा सजिलो भएको र खर्च बचेको बगनासकाली गाउँपालिका-८ की उपभोक्ता कुभिजा घिमिरेले बताईन ।
गाउँको काम नगरी भएन समितिमा नबसे योजना फ्रिज जाने, बसे दुःख पाउने अवस्था थियो तर टोलटोल भएको योजना सम्झौताले काम गर्न सजिलो भएको छ । सम्झौतापछी योजनाको काम सुरु भएको बराङ्दी सिद्धवावा मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष श्रीधर बस्यालले बताए ।
गाउँपालिका भित्र ससाना ठूला गरी चालु आर्थिक वर्षमा ३ सय ९० भन्दाबढी योजनाहरु गाउँपरिषदबाट पारित भएको गाउँपालिकाले जनाएको छ । चालु आर्थिक वर्षका सबै योजनाहरु चैत्र मसान्तभित्र फरफारक गरिसक्ने गरी उपभोक्ता समिति, र पालिकाका प्राविधिकहरु परिचालन गरिएको गाउँपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !