कपिलवस्तुमा ट्रयाक्टर पल्टिंदा दुईजनाको मृत्यु
कपिलवस्तु : कपिलवस्तुमा ट्रयाक्टर पल्टिंदा दुईजनाको घटनास्थलमा मृत्यु भएको छ। जिल्लाको बुद्धभूमि नगरपालिका–३ रनगाईमा लु ४ त २४०२ नंको ट्रयाक्टर मंगलबार बिहान दुर्घटना भएको थियो।
बालुवा लोड गर्न मजदुर लिएर हिँडेको ट्रयाक्टर सडकदेखि करिब २० मिटर तल खसेको थियो। मृत्यु हुनेमा स्थानीयवासी ४८ वर्षीया शिवकुमारी थारू र १६ वर्षीया फुलकुमारी थारू रहेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ। यसैगरी, घाइते हुनेमा बलराम सुनार, कृष्ण विक, सरिता थारू र सीमा थारू रहेका छन्। उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
तीव्र गतिका कारण ट्रयाक्टर दुर्घटना भएको हुन सक्ने इलाका प्रहरी कार्यालय गोरुसिङ्गे प्रहरी निरीक्षक लीलाराम आचार्यले बताए। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस