पाल्पाको रम्भा गाउँपालिका बालमैत्री घोषणा
तानसेन : रम्भा गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाले बालमैत्री स्थानीय शासनको सबै सूचकहरु पूरा गरी जिल्ला सम्वनय समिति पाल्पा र लुम्बिनी प्रदेश सरकारको अनुगनम तथा अनुमतिमा सोमवार गाउँपालिका बालमैत्री गाउँपालिका घोषणा भएको हो ।
पालिकाले ५१ वटा बालमैत्री स्थानीय शासनका सूचकहरु पूरा गरी स्थानीय बालमैत्री शासन लागू भएको हो । पाल्पा क्षेत्र नंं १ का संघीय सांसद तथा पूर्व भूमिसुधार मन्त्री दलबहादुर रानाको प्रमुख आतिथ्य र लुम्बिनी प्रदेशकी कानून महिला, बालबालिका तथा ज्येष्ट नागरिक मन्त्री रमा घर्तीमगरको सहभागीतामा रम्भा गाउँपालिकालाई स्थानीय बालमैत्री शासन लागू भएको गाउँपालिका घोषणा गरीएको हो ।
बालमैत्री शासन घोषणा कार्यक्रममा बोल्दै संघीय सांसद दल बहादुर रानाले रम्भा गाउँपालिका अब युवा जवानको मात्र नभई बालबालिकाले पनि शासन गर्ने अधिकार सुनिश्चित भएको बताए । लुम्बिनी प्रदेश कानून, महिला, बालबालिका तथा ज्येष्ट नागरिक मन्त्री रमा घर्ती मगरले पाल्पामा रम्भाले बालमैत्री गाउँपालिका घोषणा गरेर लुम्बिनी प्रदेशमै नमुना गाउँपालिका भएको र अबका दिनमा महिला तथा ज्येष्ट नागरिकमैत्री गाउँपालिका घोषणाको अभियानमा लाग्न पालिकालाई सुझाव दिईन् । कार्यक्रममा प्रदेश सांसद नारायण प्रसाद आचार्यले बालमैत्री शासन लागू भएको गाउँपालिका घोषणाले पालिका भित्र बालअधिकार पूर्ण रुपमा कार्यान्वयनमा आएको बताए ।
गाउँपालिकाले ४ वटा मुख्य सूचक भित्रका ५१ वटा सूचकहरु चरणबद्ध रुपमा पारेर पालिका भित्र बालमैत्री शासन लागू गरेको हो । बाल बचाउँ, बाल विकास, बाल संरक्षण र बाल सहभागिता मुख्य सूचक रहेका छन् । गाउँपालिका भित्र विधालय, वडातहमा गरी १ सय वटा बालक्लबहरु सूचिकृत रहेको, सबै क्ब्लहरुलाई सक्रिय बनाईएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए ।
५ वटा वडामा बल समन्वय समिति, एक वटा पालिका स्तरीय बाल सम्वनय समिति गठन गरी बालबालिकाहरु सक्रिय बनाउँदै आएको छ । गाउँपालिकाले सबै बालबालिकाहरुलाई विद्यालयमा अनिवार्य सहभागिता, बालबिवाहकानो अन्त्य, सबै विद्यालयमा गुणस्तरीय स्वच्छ खानेपानीको व्यवस्था, साबुन पानीले हातधुने व्यवस्था, आधारभूत कक्षा १ देखि ८ सम्मका बालबालिकाहरुलाई विद्यालयमै दिवा खाजाको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष भण्डारीले बताए ।
पालिकाले बालबालिकाको क्षेत्रमा १० प्रतिशत बजेट विनियोजन गर्दै आएको छ । सवारी साधन देखि होटल रेष्टुराँ तथा अन्य क्षेत्रमा १८ वर्ष भन्दा मुनी बालमजदुर राख्ने अवस्था शुन्यमा झरेको, घरेमा सुत्केरी हुनेकोे संख्या विगत दुई वर्ष देखि शुन्य रहेको, दुई वर्षको अवधीमा एक वर्ष मुनीका बच्चा र सुत्केरी आमाको मृत्यु नभएको, सबैक्षेत्र तथा कार्यक्रममा अनिवार्य बालसहभागिता लागू गरिएको, सुत्केरी आमालाई पोषण भत्ता प्रदान गरिदै आएको अध्यक्ष भण्डारीले बताए ।
बाल बचाउका सम्बन्धी १४ वटा सूचक, बाल संरक्षण सम्बन्धी १० वटा सूचक, बालविकास सम्बन्धी ६ वटा सूचक, बाल सहभागिता सम्बन्धी ६ वटा सूचक र संस्थागत विकास सम्वन्धी १५ सूचकमा गरी ५१ वटा सूचकहरुमा गाउँपालिकाले शत प्रतिशत नतिजा ल्याई प्रदेश सरकारको अुगमन र अनुमतीमा बालमैत्री गाउँ घोषणा गरिएको प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ढकालले बताए ।
बालमैत्री मैत्री स्थानीय शासनका फोकल पर्सन कुश्माखर पाण्डेले २०७५ साल पुष देखि गाउँपालिकालाई बालमैत्री घोषणा गर्न अभियान सुरु गरी २०७८ पुष १९ गते रम्भा गाउँपालिकालाई बालमैत्री घोषणा गर्दासम्म भएका गतिविधी तथा सूचकका आधारहरु प्रतिवेदनको रुपमा पेश गरेका थिए ।
रम्भा गाउँपालिकाले २ वर्ष अघि नै पूर्ण संस्थागत भएको गाउँपालिका घोषणा गरिसकेको छ भने पूर्ण सरसफाई उन्मुख वडा घोषण भएको छ । केही महिना भित्र पूर्ण खरको छानामुक्त गाउँपालिका, पूर्ण सरसफाई उन्मुख गाउँपालिका घोषणा गर्ने तयारी भईरहेको पालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !