सडकले फेरियो सहर

सडकले फेरियो सहर

तराईको पुरानो सहर भए पनि नेपालगन्ज अस्तव्यस्त थियो। बाटो किनारमा फोहोरका थुप्रा हुन्थे। नेपालगन्ज देशको फोहोर सहरको परिचय बनेको थियो। सडक फराकिलो थिएन। खुला नाली थियो। ढलको भेल सडकमै बग्थ्यो। ठाउँठाउँमा सडक भत्केको थियो। सडक किनार अतिक्रमण गरेर ठेला सञ्चालन हुन्थे। ट्राफिक समस्या हुन्थ्यो। जिल्लाको अर्को सहर कोहलपुर नगरपालिकामा बस्ती विकास बढ्दै थियो। गाविसबाट नगरमा रूपान्तरित हुँदासम्म कोहलपुर व्यवस्थित सहरमै कहलिन थालेको थियो। रत्न राजमार्गभन्दा पनि सहरभित्रका गल्लीका सडक चौडा थिए। कुनै बेला नेपालगन्ज–कोहलपुरमा टाँगा नै सवारी हुन्थ्यो। नेपालगन्ज–कोहलपुर चार लेनको सडक बनेपछि भने चिल्लो सडकमा चिल्ला गाडीमा सरर यात्रा गर्न सकिने भएको छ।

‘नेपालगन्जको सुर्खेतरोड साँघुरो थियो। हिउँदमा धुलाम्ये हुन्थ्यो। सडकभरि खाल्डाखुल्डी थिए। वर्षायाममा जलमग्न हुन्थ्यो’, १० वर्षअघिको नेपालगन्जको सडकबारे नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओली अनुभव सुनाउँछन्, ‘बाह्रैमास सडक अस्तव्यस्त हुन्थ्यो। ट्राफिक जाम र दुर्घटना धेरै हुन्थ्यो। सडक किनारमा फोहोरका डंगुर हुन्थे।’ एसियाली विकास बैंक (एडीबी) को सहयोगमा नेपालगन्ज–कोहलपुर सडक खण्डलाई चार लेन बनाएपछि अहिले बाँकेका दुई सहर नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाको दूरी मात्र घटेको छैन, सहरको स्वरूपै फेरिएको छ। महासचिव ओली भन्छन्, ‘नेपालगन्जबाट कोहलपुर १६ किलोको दूरी पूरा गर्न सार्वजनिक बसमा एक घण्टा नै लाग्थ्यो। अहिले त गाडीमा 
१५ मिनेटमै पुगिन्छ।’

सरकारले नेपाल–भारतका अतिरिक्त सार्क मुलुकसँग व्यापार वृद्धि गर्ने लक्ष्यका साथ भारतसँगका प्रमुख पाँच नाका र पूर्व–पश्चिम राजमार्ग जोड्न ६ लेनका व्यापारिक मार्ग विस्तार गर्न गर्ने लक्ष्य राखियो। २०६९ सालमै रत्न राजमार्गमा पर्ने नेपालगन्ज–कोहलपुर सडक विस्तारको काम थालेको थियो। सीमानाका जमुनाहादेखि कोहलपुरसम्म २२ किलोमिटर सडक एक अर्बभन्दा बढीको लागतमा निर्माण भएको थियो। जसमध्ये नेपालगन्ज र कोहलपुरमा दुई दुई किलोमिटर गरी चार किलोमिटर सडक त ६ लेनको बनेको छ। १८ किलोमिटर सडक चार लेनमा विस्तार भएको छ। ‘नेपालगन्जमा दुई किलोमिटर भनिए पनि ६ किलोमिटरभन्दा बढी सडकलाई ६ लेनको बनाइएको छ’, सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख होमबहादुर एसी प्रस्ट पार्छन्, ‘कोहलपुर चौराहादेखि त्रिभुवन मावि क्षेत्रको दुई किलोमिटर क्षेत्रको सडक ६ लेनको बनेको छ।’

सुर्खेत रोडमा अहिले सफा र चिल्लो भएको छ। दुर्घटनाबाट जोगाउन र सडकमा सर्भिस लेन छुट्ट्याउन डिभाइडर राखिएको छ। यद्यपि नगरपालिकाले धेरै ठाउँका डिभाइडर हटाएको छ। सडक किनारमा फलामे रेलिङ लगाइएको छ। ठाउँठाउँमा सडक किनारमा पार्किङ पनि बनाइएको छ। नेपालगन्जका धम्बोझी, बीपी चोक, पुष्पलाल चोक, गणेशमान चोक र कोहलपुरका चौराहा, न्युरोड क्षेत्र, एनटीभी रोड, पीपल चौतारो, त्रिभुवन माविलगायतका प्रमुख चोकमा जेब्रा क्रसिङ बनाइएको छ। ‘सडकको बीचमा तीन मिटरको ग्रिनरी छ। जहाँ थरीथरीका फूल रोपिएका छन्। हरियाली छ। जसले सहरको सौन्दर्यता बढेको छ’, प्रमुख एसी थप्छन्, ‘चिल्लो सडकमा गाडी गुडेका छन्। ट्राफिक जामको समस्या हटेको छ। प्रदूषण पनि घटेको छ।’

तराईको पुरानो नगर नेपालगन्ज र व्यवस्थित सहर कोहलपुर रत्न राजमार्गमा चार लेन सडकले जोडिँदा अहिले यी दुई सहरको स्वरूपै फेरिएको छ।

कोहलपुर–राँझाको ११ किमि ७ सय मिटर खण्ड कालिका कन्स्ट्रक्सन प्रालि र राँझा–नेपालगन्ज–जमुनाहाको १० किमि ५ सय मिटर खण्डमा एमआर पप्पु जेभीले निर्माण गरेको हो। राँझादेखि जमुनाहसम्मको चार लेन सडक निर्माण सम्पन्न भएर हस्तान्तरण नहुँदै ठाउँठाउँमा खाल्डा परेको खबर अन्नपूर्ण पोस्ट्ले पटक–पटक समाचार प्रकाशित गरेको थियो। त्यसो त अहिले पनि यो सडकको नेपालगन्ज सहर क्षेत्रमा मर्मत सम्हारको काम जारी छ। निर्माण कम्पनीको ठेक्का अवधि सकिएकाले सडक विभागले यो काम जारी राखेको छ। गत वर्ष कोहलपुर राँझा क्षेत्रमा झन्डै चार करोड रुपैयाँ र चालू आर्थिक वर्षमा नेपालगन्जको राँझा–जमुनाहा सडक खण्डमा ७ करोड रुपैयाँ विनियोजन गरेर सडक मर्मतसम्हार गरिरहेको सडक डिभिजन कार्यालयका इन्जिनियर निजल श्रेष्ठले जानकारी दिए।

आम जनताको बुझाइमा विकास भनेको भौतिक पूर्वाधार विकास हो। त्यो विकास भनेकै सडक बन्नु हो। सडक निर्माणले अन्य विकास निर्माणको सम्भावनाको ढोका त पक्कै खोल्छ। तर, सडक नै विकासको पर्याय भने होइन। त्यो सडकसँगै जनताको आवश्यकतामा आधारित आर्थिक र सामाजिक विकास पनि हुन जरुरी छ। नेपालगन्ज–कोहलपुर चार लेन सडकले भने बाँकेका दुई सहर नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकालाई जोड्ने काम गरेको छ। सुविधा सम्पन्न सडकले दुई सहरको दूरी घटाउँदै निकट भविष्यमै महानगरमा रूपान्तरित हुने सम्भावना बढ्दै गएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.