लुम्बिनी प्रदेशमा पनि ओमिक्रोन, नाकामा सर्तकता

लुम्बिनी प्रदेशमा पनि ओमिक्रोन, नाकामा सर्तकता

भैरहवा : कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनकाे संक्रमण लुम्बिनी प्रदेशमा पनि देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरबाट पुस महिनामा संकलन गरेको एक हजार एक सय ४६ पोजेटिभ नमुनाको एसजिन स्क्रिनिङ गर्दा दुई सय ५० वटा (२२ प्रतिशत) नमुनामा एसजिन नेगेटिभ पत्ता लागेको छ । एसजिन नेगेटिभ पत्ता लागेको मध्ये २४ नमुनाको जिन सिक्वेन्सिङ गर्दा सबैमा ओमिक्रोन पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसरी देशभरबाट संकलन गरिएको नमुना मध्ये लुम्बिनी प्रदेशको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाले पनि नमुना संकलन गरी जिन सिक्वेन्सिङका लागि काठमाण्डौँ पठाएको थियो । जसमध्ये रुपन्देहीको बेलहिया नाकाबाट २८ वटा, पाल्पा जिल्लाबाट ५ वटा र नेपालगंजको भेरी अस्पतालबाट दश वटा गरी कुल ४३ वटा नमुना संकलन गरी परिक्षणका लागि पठाइएको थियो ।

लुम्बिनी प्रदेशबाट पठाइएको नमुना मध्ये केहीमा ओमिक्रोन संक्रमण देखिएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाका ल्याब इन्चार्ज प्रेम कुमार यादवले बताए । ‘हामीले पठाएको ४३ वटा नमुना मध्ये केहीमा ओमिक्रोन देखिएको छ’ उनले अन्नपूर्ण पोष्ट्सगँ भने, ‘तर संख्यामा कति वटा भन्ने अझै एकिन भएको छैन ।’

लुम्बिनी प्रदेशबाट सबैभन्दा बढी रुपन्देहीको बेलहिया नाकाबाट २८ वटा नमुना संकलन गरी जिन सिक्वेन्सिङका लागि पठाइएको थियो । केही समय यता बेलहिया नाकाबाट भित्रिने सर्वसाधरणको नाकामा एन्टिजन परिक्षण गर्दा पोजेटिभ संख्या बढ्दै गएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले बताए ।

उनका अनुसार बेलहिया नाकामा पुस २१ गते स्वदेश भित्रिने मध्ये दुई सय ८० जनाको एन्टिजन परिक्षण गर्दा ३६ जनामा पोजेटिभ देखिएको थियो । त्यस्तै २२ गते पाँच सय १८ जनामा परिक्षण गर्दा एक सय पाँच जनामा र २३ गते एक सय ८० जनामा परिक्षण गर्दा १८ जनामा पोजेटिभ देखिएको छ । प्रदेशबाट पठाइएको नमुनामा देखिएको ओमिक्रोन संक्रमण पनि भारतमा रोजगारी गरेर स्वदेश फर्किएको व्यक्तिमा पुष्टि भएको हुन सक्ने बताइएको छ ।

देशको विभिन्न स्थानबाट रोजगारीका लागि भारत गएका नेपालीहरु स्वदेश फर्किने क्रममा र विदेशी नागरिकहरुको नाकामा एन्टिजन परिक्षण गर्ने गरिएको छ । केही समय अघि विदेशी नागरिकको हकमा ७२ घण्टा भित्र गराइएको पीसीआर रिपोर्ट वा कोरोना खोप लगाएको आधिकारिक कार्ड देखाए पश्चात नाकाबाट स्वदेश भित्रिन अनुमति दिने गरिएको थियो । तर, अब नाकामा एन्टिजन परिक्षण गर्दा पोजेटिभ देखिए विदेशी नागरिकलाई नाकाबाट नै फर्काउने गरिएको रुपन्देहीको इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक नविन पौडेलले जानकारी दिए । नाकाबाट स्थानीय सर्वसाधरणहरुको आउजाउमा भने कुनै रोकछेक छैन ।

नाकाबाट संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि नाकामा सर्तकर्ताका साथै एन्टिजन परिक्षणको दायरा बढाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए ।

उनले संक्रमित नेपाली यात्रुहरुका लागि होल्डिङ सेन्टर र आइसोलेशन सेन्टर संचालनको तयारी सुरु भएको बताए । साथै सुरक्षित रुपमा उनीहरुको गन्तव्यसम्म पुर्याउनका लागि यातायातको व्यवस्था समेत मिलाउने तयारी भएको छ । ‘जसका लागि शुक्रवार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले यातायात र होटल व्यवसायीहरुसगँ समन्वय गर्ने, नाकामा कडाई गर्ने लगायतको निर्णय गरेको छ’ उनले भने ।

साथै उनले जिल्लामा भएका सबै स्वास्थ्य संस्था, अस्पतालहरुलाई पनि तयारी अवस्थामा रहन निर्देशन दिइएको बताए । ‘अहिले रुपन्देहीमा संक्रमणको अवस्था नियन्त्रित नै देखिएको छ’ प्रजिअ तिवारीले भने, ‘तर, पनि हामीले सर्तकर्ता अपनाउनुका साथै आवश्यक तयारीहरु गरिरहेका छौँ ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.