गाउँपालिका केन्द्र जोड्ने वैकल्पिक सडकमा जोखिमपूर्ण यात्रा

गाउँपालिका केन्द्र जोड्ने वैकल्पिक सडकमा जोखिमपूर्ण यात्रा

बेनी : म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि धवलागिरी गाउँपालिकाको केन्द्र मुना जोड्ने वैकल्पिक सडकको यात्रा जोखिमपूर्ण बनेको छ । बादिकाको उकालोमा नयाँ वैकल्पिक सडक निर्माण गर्न पूर्वाधार विकास कार्यालय, स्थानीय प्रशासन, सुरक्षा निकाय र धवलागिरी गाउँपालिकाले पुष १३ गतेदेखि दरबाङ–धारापानी–ताकम हुँदै मुना जोड्ने सडकमा अनिश्चितकालका लागि सवारी आवत जावत बन्द गरेका थिए । 

विकल्पकोरुपमा सञ्चालन गरिएको दरबाङ–खारा–भारबाङ–ताकम–मुना वैकल्पिक सडक अन्तरगत मालिका र धवलागिरी गाउँपालिकाको सिमानामा पर्ने भारबाङस्थित म्याग्दी नदीमा पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्नुपरेको हो ।  

गाउँपालिकाका र निर्माण कम्पनीले म्याग्दी खोलामा सात वटा ह्युम पाइप राखेका थिए । तर खोलाको पानी ह्युम पाइप भन्दा बाहिरबाट बगेको हुनाले जिप, बस, मोटरसाइकल र ट्याक्टर आवत जावत गर्न जोखिम भएको यातायात व्यवसायी ओम बिकले बताए । 

सवारी साधनका इञ्जिन पानीमा डुब्ने र मोटरसाइकलाई खोलाले बगाउने खतरा रहेको उनले बताए । भारबाङदेखि ताकम जोड्ने सडकमा ग्रेड र घुम्ति नमिलेकाले सवारी चलाउन अप्ठ्यारो भएको बस चालक राम्जी थापाले बताए । 

झारबाङ घाटमा पूर्वाधार विकास कार्यालयले ४० मिटर लामो पक्कि पुल पनि निर्माण गरिरहेको छ । गत असारमा सम्पन्न गर्ने लक्ष्य राखिएको पुलको दुई तर्फ पिल्लर मात्र ठडिएको छ । धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले म्याग्दी खोलामा थप ह्युम पाइप राख्न, सडक मर्मत गर्न र मोटरेबल पुल निर्माणलाई पूर्णता दिन सम्बन्धित निर्माण कम्पनीलाई ताकेता गरिएको बताइन् । 

बिस २०७५मा मार्ग खोलिएपनि दरबाङ-बिम-ताकम-मुना सडकमा पर्ने म्याग्दी नदीमा मोटरेबल पुल नहुँदा यातायातका साधन सञ्चालन हुन सकेको थिएन् । बर्खा अघिनै म्याग्दी नदीमा मोटरेबल पुल निर्माण सकेर सडक सञ्चालन गर्ने गाउँपालिकाको योजना छ । 

पूर्वाधार विकास कार्यालय म्याग्दीसंग २०७६ चैत ४ गते १४ करोड ३८ लाख ६७ हजार १७६ रुपैयाँमा ठेक्का सम्झौता गरेको धुलीखेल–ब्राइट–कुवर जेभीले बादिकाको उकालोमा वैैकल्पिक सडक निर्माण गरिरहेको छ । 

यसअघि मार्ग खोल्न बनाइएको सडक धेरै उकालो र ग्रेड नमिलेकाले जोखिमयुक्त भएकोहुँदा दुई वटा घुम्ति थपेर करिव चार सय मिटर नयाँ मार्ग निर्माण गर्न लागिएको पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले बताए । 

आगामी चैत ४ गतेसम्म ठेक्का अवधि भएको आयोजना अन्तरगत सडक फराकिलो बनाउने, ग्रेड तथा घुम्ति सुधार र पर्खाल निर्माण भइरहेको छ । दरवाङको म्याग्दी खोला मोटरेबल पुल देखि दङखोला सम्मको खण्डमा बिस्तार र पर्खालको काम सकेर नाली बनाइरहेको छ । 

दरबाङदेखि धारापानी गाउसम्मको सात किलोमिटर सडक स्तरोन्नति हुन लागेको हो । दरवाङ-दाङखोला-ताकम-मुना-ढोरपाटन सडक आयोजनालाई गण्डकी प्रदेश सरकारले (क) वर्गमा राखेको छ । सबै स्थानीय तहका केन्द्र जोड्ने सडकलाई स्तरोन्नति गर्ने प्रदेश सरकारको घोषणा अनुसार यो आयोजना सञ्चालन भएको हो ।

पहिलो चरणमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको धारापानी सम्मको सडक स्तरोन्नतिको हालसम्मको प्रगति ३६ प्रतिशत छ । स्तरोन्नति गरेर सडकलाई ८ मिटर फराकीलो बनाइने भएको छ । ग्राबेल गरिने सडकको ग्रेड र घुम्ति मिलाउनुका साथै ग्यावीन, मेसिनरी पर्खाल निर्माण र केही ठाउँमा ढलान गर्ने लक्ष्य छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.