सरकारी सुविधा सुगममै केन्द्रीत, दुर्गमका साना किसान मर्कामा

सरकारी सुविधा सुगममै केन्द्रीत, दुर्गमका साना किसान मर्कामा

सुर्खेत : कर्णालीमा प्रदेश सरकारले अघिल्लो वर्षदेखि किसानलाई आत्मनिर्भर बनाउन सहुलियत ऋण कार्यक्रम संचालन गरिरहेको छ । जसअन्तर्गत व्यवसायीक किसानले बैंक तथा सहकारीबाट लिएको कृषि ऋणमा लाग्ने ब्याज सरकारले नै तिर्दै आएको छ । तर सहुलियत अर्थात ब्याज तिर्न नपर्ने उक्त ऋण दुर्गमका किसानले पाउन सकेका छैनन् । दुर्गमका किसानको पहुँचमा यो कार्यक्रम छैन् ।

प्रदेश सरकारले बैंकमार्फत व्यावसायिक किसानले लिने एक करोड रुपैयाँसम्मको ब्याज तिरिदिने गरेको छ । यस्तै विपन्न किसानले सहकारी संस्थाबाट लिने पाँच लाख सम्मको ऋणमा लाग्ने ब्याज पनि प्रदेश सरकारले नै तिरिदिने नीति तयार भएको छ । यसका लागि प्रदेश सरकारले किसानलाई ऋण उपलब्ध गराउन विभिन्न ६ वटा बैंक र नौं वटा सहकारी संस्थाहरु पनि छनौट गरेको छ । यद्यपी हालसम्म हिमाली र दुर्गम जिल्लाका किसानले भने सहुलियतमा पाइने भनिएको ऋणमा आफूहरुको पहुँच पुग्न नसकेको गुनासो गरेका छन् । 

साढे एक वर्षको अवधिमा दुर्गमका ३८ जना किसानले मात्र सहुलियतमा पाइने ऋण लिएका छन् । बाँकी किसानले प्रदेश सरकारले भनेअनुसार बैंक तथा सहकारीबाट सहुलियतको ऋण पाउन सकेका छैनन् । हिमाली जिल्ला मुगुमा त हालसम्म एकजना किसानले पनि सहुलियतको ऋण पाएका छैनन् । प्रदेश सरकारको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार हुम्लामा तीन, जुम्लामा सात, डोल्पामा ६ र कालिकोटका १९ जना किसानले मात्र सहुलियतको ऋण लिएका छन् । उनीहरु सबैले बैंकमार्फत ऋण लिएका हुन् । सहकारी संस्थाबाट भने हालसम्म एक जनाले पनि ऋण लिएका छैनन् । 

प्रदेश सरकारले नै सहकारीको योग्यता नपुगेपछि सुर्खेत बाहेकका जिल्लाका सहकारीलाई सहुलियत ऋण कार्यक्रममा समावेश गरेको छैन । यहीकारण दुर्गमका साना किसान सहुलियत ऋण कार्यक्रमबाट बन्चित भएका हुन् ऋण लिनका लागि सरकारले विभिन्न २० वटा क्षेत्र तोकेको छ । बैंक तथा वित्तिय संस्थाबाट ऋण लिन किसानले तरकारी उत्पादन, प्रशोधन, भण्डारण तथा विक्री वितरण, पुष्प व्यवसाय, पशुपन्छी पालन फलफूल उत्पादन, दुग्ध उत्पादन, प्रशोधन र विक्री वितरण लगायतका व्यवसाय तोकेको छ । यस्तै मत्स्यपालन, च्याउ उत्पादन, पशु वधशाला मासुजन्य उत्पादन र विक्री वितरणका गर्ने किसानलाई पनि सहुलियत ऋण दिइन्छ । 

तर दुर्गममा व्यवसाय दर्ता गरेका र सरकारको नियमअनुसार सबै प्रक्रिया पुगेका किसान कम छन् । त्यस्तै ऋण लिनका लागि पान नम्बर अनिवार्य छ । दुर्गमका अधिकांश किसानले पान नम्बर नै लिएका छैनन् । त्यसमा पनि दुर्गमका सहकारीहरु नै ऋण प्रवाहका लागि प्रदेश सरकारको छनौटमा नपर्नु लगायतका कारणले पनि दुर्गमका किसान सहुलियत ऋण पाउनबाट बन्चित भएका हुन् । कृषि अनुदान कार्यक्रममा दुरुपयोग बढेपछि प्रदेश सरकारले २०७७ देखि सहुलियत ऋण कार्यक्रम सुरु गरेको छ । यो कार्यक्रमबाट पिछडिएका र निम्न आय भएका किसान लाभान्वित हुने अपेक्षा गरिएको थियो । तर पनि दुर्गमका किसानले लाभ लिन सकेका छैनन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.