दाङमा बस दुर्घटना : एक शिशुको मृत्यु, ९ जना घाइते
दाङ : दाङमा बस दुर्घटना भएको छ। राप्ती गाउँपालिका-५ सिसहनियाँस्थित दालाई खोला नजिक विरगञ्जबाट सुर्खेत जाँदै गरेको ना ५ ख २०६ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा एक शिशुको मृत्यु भएको हो। दुर्घटनामा ९ जना यात्रु घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार भारत जिल्ला मोतीहार बस्ने असिर आलकका ९ महिने शिशुको नानु आलमको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते शिशुको उपचारका लागि कोहलपुर लैजादै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले बताएको छ।
घाइते हुनेहरुमा पर्सा जिल्ला विरगञ्ज उपमहानगरपालिका- १६ बस्ने ३५ वर्षीय रतन शाही, रौतहट जिल्ला पुर्वाह गाउँपालिका- ६ बस्ने ३४ वर्षीय रामविनायक कुर्मी, भारत जिल्ला विहार बस्ने ४० वर्षीय सन्सात खातुन, सोही ठाउँ निवासी एन्डिल आलक, सुर्खेत जिल्ला सिन्चु नगरपालिका ९ बस्ने १७ वर्षीय दिलबहादुर क्षेत्री रहेका छन्। अन्य घाइतेहरुमा बर्दिया जिल्ला गेरुवा गाउँपालिका-१ बस्ने ३८ वर्षीय पुर्णप्रसाद पाण्डे, बाँके जिल्ला कोहलपुर नगरपालिका- १८ बस्ने ३५ वर्षीया शान्ता वली, हुम्ला जिल्ला तातोपानी गाउँपालिका- ७ बस्ने ४५ वर्षीय धनबहादुर रावत र सोही ठाउँ बस्ने ५२ वर्षीय गोरख रावत रहेका छन्। बसमा २० जना यात्रु सवार रहेका थिए।