सेतो गुम्बाका रिन्पोछेको वर्ष दिनमा पनि भएन अन्त्येष्टि
![सेतो गुम्बाका रिन्पोछेको वर्ष दिनमा पनि भएन अन्त्येष्टि](https://annapurnapost.prixacdn.net/media/albums/rimpochhe_20220112013932_k7cobbdu95.jpg)
काठमाडौं : बौद्ध फूलबारीस्थित सेतो गुम्बाका गुरु छोग्लिब रिन्पोछेको निधन भएको एक वर्ष नाघिसक्दा पनि अन्त्येष्टि गरिएको छैन। रिन्पोछेको पार्थिव शरीरलाई गुम्बामै पूजा र सम्मान गरेर राखिएको छ। २०७३ सालमा सिंगापुर जाँदा उनी बिरामी परेका थिए। उनलाई सोही ठाउँको अस्पतालमा भर्ना गरियो। अस्पतालमा उनी परिवारका सदस्यहरूसँगै थिए। उपचारकै क्रममा २०७७ पुस ३ गते उनको निधन भयो। पार्थिव शरीरलाई नेपाल ल्याएर सेतो गुम्बामा राखियो।
विदेशमा रहेका उनका शिष्यहरूले सम्मान गर्न चाहेकाले उनको पार्थिव शरीर अन्त्येष्टि नगरी गुम्बामै राखिएको गुम्बा व्यवस्थापन समितिका सदस्यहरू बताउँछन्। रिन्पोछेको पार्थिव शरीरमा स्वदेश र विदेशमा रहेका उनका शिष्यहरूले श्रद्धाञ्जली अर्पण गरिरहेका छन्। चेलाहरूले फूल, माला, खादा ओढाएर गुरुको सम्मान गरिरहेका छन्। बौद्ध धर्मअनुसार सेतो गुम्बाको पूजा हलमा संस्मरण अनुष्ठान, पूजा भव्य रूपमा सञ्चालन गरिएको छ।
छोग्लिबको सन् १९५३ मा टुल्कु उर्गेन रिन्पोछेज्यू र कुन्साब देक्षेनज्यूको पुत्रका रूपमा जन्म भएको थियो। १० वर्षको उमेरमा सिक्किम रुम्तेक, सेडुप छोर्खोलिब महाबिहारमा अध्ययनार्थ प्रवेश गरेका छोग्लिब देवे दोर्जेले अक्षर लेखनको पठनपाठनबाट वाद्यवादन, धार्मिक नृत्य कला, मण्डला रेखांकित गर्ने कला र स्वर लहरीमा सूत्रपाठ गर्ने कलामा निपूर्ण थिए। उनले सद्धर्म, विनय, अभिधर्म कोष, माध्यमिकशास्त्र र मैत्रीयको पाँच शास्त्र, अभिलक्षण यानका ग्रन्थहरूको गहिरो अध्ययन गरेका थिए।
बौद्ध गुरुहरूको प्रायः ४९ दिनमै अन्त्येष्टि गर्ने चलन छ। तर, रिम्पोछेको एक वर्ष हुँदा पनि अन्त्येष्टि भएको छैन। लामो समय भएकोले उनको पार्थिव शरीरलाई नगलोस्÷सडोस् भनेर औषधिको प्रयोग गरिएको छ। मलेसिया, अष्ट्रेलिया, अमेरिका, सिङगापुरमा रिन्पोछेका थुप्रै चेलाहरू छन्। सबैले उनको पुजा गर्न चाहन्छन्। तर, कोभिडले उनीहरू नेपाल आउन पाएका छैनन्। सोही कारणले उनको अन्त्येष्टि रोकिएको गुम्बाका कोर्डिनेटर डोङक साङकोले बताए। ‘सामान्य मानिसको जीउ मरेपछि चिसो हुन्छ। खुम्चिएर जान्छ,’ साङकोले भने, ‘तर लामा गुरुहरूको जीउ तातो हुन्छ। यो एउटा शक्ति हो। उहाँ औतारी हो। लामो तपस्या गरेकोले यसो हुन गएको हो।’
शिष्यहरूले गुरुको पार्थिव शरीरलाई पूजा गरेपछि पाप नष्ट भई पुण्य प्राप्त हुने विश्वास रहँदै आएको छ। उनका अनुसार काठमाडौकै अर्को गुम्बा टुसाल गुम्बामा पनि ३० वर्षदेखि गुरुको पार्थिव शरीरलाई पूजा गर्दै आइएको छ। त्यसैगरी सिन्धुपाल्चोकमा गुरुको पार्थिक शरीरको अन्त्येष्टि गरिएको छैन। सेतो गुम्बाका गुरु रिन्पोछेको पार्थिव शरीरमा अरू गुम्बाका गुरु, शिष्य, चेला र परिवारका सदस्यहरूले एक वर्षको अवसरमा उनको पार्थिव शरीरलाई पूजा गरेका छन्।
लामाहरूमध्ये कसैको बिहे गर्ने चलन हुन्छ। कसैको हुँदैन। यस विषयमा उनीहरूले पहिले नै निर्णय गर्नुपर्ने हुन्छ। गुरु छोग्लिब विवाहित हुन्। उनका श्रीमती, दुई छोरा र दुई छोरी छन्। छोग्लिबको पार्थिव शरीरलाई उनका चेला र परिवारका सदस्यले दैनिक पुजा गर्ने गर्छन्। ‘शरणनायक गुरु छोग्लिब रिन्पोछेको जीवन लीला सकिए पनि उहाँको ज्योतिस्वरूप धार्मिक कलाकृति र धर्मनिधिहरू कहिल्यै निभ्ने छैन,’ भिक्षु कृष्णमानले भने।
उनका अनुसार रिन्पोछेको देश विदेशमा गरि लगभग ३० हजार चेला छन्। कहिलेसम्म राखेर पूजा गर्ने भन्ने कुनै यकिन हुन नसकेको उनी बताउँछन्। समितिले निर्णय गर्ने उनले बताए। सेतो गुम्बाको स्थापना सन् १९७६ मा भएको थियो। गुम्बाको उद्घाटन राजा वीरेन्द्रले गरेका थिए। सेतो गुम्बामा ५ सय लामा छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)