तारुका मेला स्थगित भएपनि किसानले आफैँ जुधाए गोरु

तारुका मेला स्थगित भएपनि किसानले आफैँ जुधाए गोरु

तारुका : स्पेनको बुल फाइटको झल्को दिने नुवाकोट तारुकाको माघे संक्रान्ति गोरु मेला पहिलो पटक यस वर्ष महामारीको रुपमा रहेको कोरोनाका कारण रोकिएको छ। औपचारिक रुपमा शनिबार गोरु नजुधाइएपनि किसानहरु आफैंले स्वतफुर्त रुपमा गोरु जुधाएका छन्। 

नुवाकोटको गोरु जुधाई मेला स्थगित भएपनि किसान आफैँले चन्दनीको ठुलो वारीको पाटोमा गोरु ल्याएर जुधाए। गत वर्ष विजेता तथा उपविजेता गोरुधनीले पुरस्कार थाप्ने गरेको भएपनि यस पटक कसैले पनि गोरु जुधाई मेला औपचारिक रुपमा नगरेका कारण किसानले एकआपसमा गोरु जुधाएर परमपराको निरन्तरता र मनोरन्जनमात्रै लिएका छन्।

सदियौंदेखि नुवाकोटकै पहिचानको रुपमा रहेको प्रसिद्ध गोरु जुधाई मेला कोरोनाको तेस्रो भेरियण्टका कारण रोकिएको हो। किसानहरुले तारुकाको चन्दनीमा भने आफैं गोरु जुधाएका हुन्। मेला सन्चालनको लामो अवधिमा पहिलो पटक गोरु जुधाई मेला रोकिएको हो। स्थानीयवासीले आफैं जुटेर सामाजिक दुरी कायम गर्दै १५ हल गोरु जुधाएको तारुकाका युवा सामाजिक कार्यकर्ता दिपेश शाक्यले जानकारी दिए। 

गोरु जुधाई हेर्न नुवाकोटलगायत आसपासका सर्वसाधारण तारुकाको चन्दनी पुगेका थिए। स्वास्थ्य मापदण्डको पालना र सामाजिक दुरी पालना गर्दै यस वर्षको गोरु जुधाई अवलोकन गरेको शाक्यले बताए। पहिलो पटक नुवाकोटको पहिचानको रुपमा रहेको गोरु जुधाई मेला रोकिदा सर्वसाधारण तथा संस्कृतिप्रेमीहरु भने चिन्तित भएका छन्।
सदियौदेखी प्रत्येक वर्षको माघे संक्रान्तिका दिन नुवाकोटको दक्षिणी भेगमा रहेको तारुका गोरु जुधाउने मेलाको रुपमा देशकै एकमात्र नमूना र पहिचानको रुपमा परिचित भइसकेको छ। तारुकाको पर्यटकिय गाउँ चन्दनीमा गरिदै आएको गोरु जुधाउने मेला यसवर्ष स्थगित भएपनि किसानले आफैं १५ हल गोरु जुधाइदै आफ्नो गाउंको मौलिक परम्परालाई  निरन्तरता दिएका हुन्। 

माघे संक्रान्तिका अवसरमा नेपालकै मुख्य स्थान तारुकाको चन्दनीमा विशेष मेलाको रुपमा गोरु जुधाई मेला गरिदैं आएको थियो। तारुकाका गोरु पालक किसानहरुले गोरु जुधाइलाई राष्ट्रिय पर्व मनाउन माग गर्दै आएको स्थानीयवासी तथा तारकेश्वर ३ का वडाध्यक्ष सुर्यमान श्रेष्ठले जानकारी दिए। उनका अनुसार नेपालको एकमात्र स्थान नुवाकोटमा प्रत्येक वर्षको माघे सङ्क्रान्तिमा नमूना, पर्व र पहिचानको रुपमा गोरु जुधाइने गरिएको छ। गोरु पालक किसानहरुले तारुकामा गोरु जुधाउने मेलाको अस्तित्व रक्षा र निरन्तरताका लागि कोषको स्थापना गरेर आफ्ना गतिविधिलाई प्रवद्र्धन गरिरहेका छन्। 

वडाध्यक्ष श्रेष्ठले किसानहरुले स्थानीय पर्वको रुपमा विस्तार भइरहेको गोरु जुधाई मेलालाई निकै सक्रियता अपनाइरहेको बताए। किसानहरुले मेलाको निरन्तरताका लागि एकलाख ११ हजार एकसय ११ रुपैयाको कोष स्थापना गरेर गाउंको मौलिकताको उजागर गरिरहको उनले जानकारी दिए। 

सरकारले २५ जनाभन्दा बढी भेला भएर मेला, पर्व तथा कार्यक्रमहरु भौतिकरूपमा उपस्थित हुन नमिल्ने भएकाले यस पटक शनिबारको मेला स्थगित गरिएको आयोजक तारुका चन्दनी माघे सङ्क्रान्ति गोरु जुधाई संरक्षण संस्थाका अध्यक्ष सूर्यमान श्रेष्ठले जानकारी दिए। नुवाकोटको विभिन्न स्थानमा हुँदै आएको गोरु जुधाई मेलाको लागी गोरु दर्ता गराउने काम प्रायः स्थानमा सकिएको अवस्थामा तीन दिन अगाडि मात्र मेला स्थगित भएको हो।

प्रत्येक वर्ष माघ १ गते नुवाकोटको तारुका (तारकेश्वर गाउँपालिका), बेत्रावती (विदुर नगरपालिका), पञ्चकन्या, लिखु, तादी गाँउपालिकालगायतका स्थानमा गोरु जुधाई प्रतियोगिता गरिँदै आएको थियो। 
माघे सङ्क्रान्तिमा नुवाकोटको शिवपुरी गाउँपालिकास्थित सेराबगरमा गोरु जुधाउने मेला पनि स्थगित भएको छ। कुनै कुनै स्थानमा स्वतफुसर्त रुपमा पिकसान आफैंले अनौपचारिक रुपमा गोरु जुधाएको स्थानीयले बताएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.