विधिविधान अनुसार क्याम्पस सञ्चालन गर्न नेविसंघको माग
वीरगन्ज : नेपाल विद्यार्थी संघले वीरगन्जको हरिखेतान बहुमुखी क्याम्पसलाई सामुदायिक क्याम्पसको विधिविधानअनुसार सञ्चालन गर्न माग गरेको छ । नेविसंघले आइतबार क्याम्पस प्रमुख डाक्टर भगवान यादवलाइ ७ बुँदे मागसहितको ज्ञापनपत्र पनि बुझाएको छ ।
हरिखेतान बहुमुखी क्याम्पस, सामुदायिक क्याम्पस भएपनि स्थापनाकालदेखि सामुदायिक क्याम्पसको विधिविधान अनुरूप संचालन नभएकाले आइतबार ७ सुत्रीय मागसहितको ज्ञापनपत्र क्याम्पस प्रमुख यादवलाई बुझाइएको नेविसंघका इकाइ सभापति मनोज साहले बताए।
वीरगन्जका उद्योगपति एंव समाजसेवी बिहारीलाल खेतानले आफ्ना छोरा हरि खेतानको स्मृतिमा विक्रम संवत २०३८ सालमा त्रिवि विश्वविद्यालयबाट सम्बन्धन लिएर सामुदायिक क्याम्पसका रुपमा हरिखेतान क्याम्पस स्थापना गरी सञ्चालनमा ल्याएका थिए ।
त्यसपछि उक्त क्याम्पस, समुदायले नै सञ्चालन गर्ने गरि हस्तान्तरण गरेपछि झण्डै साढे ३ दशकदेखि भगवान यादवले नीजी क्याम्पसका रुपमा एकलौटी गरि सञ्चालन गर्दै आएका छन् । नेविसंघले ज्ञापनपत्रमार्फत सरकारी क्याम्पसको जस्तै हरिखेतान बहुमुखी क्याम्पसको क्याम्पस प्रमुख हरेक ३/३ वर्षमा परिवर्तन हुनुपर्ने माग गरेको छ । यस्तै सामुदायिक क्याम्पस भएकोले कुल विद्यार्थी भर्ना संख्याको २० प्रतिशत विधार्थीलाई अनिवार्य रूपमा निःशुल्क छात्रवृत्ति दिनुपर्ने माग नेविसंघको छ ।
यसैगरी वीरगन्ज विश्वविद्यालय स्थापनाको नाममा एक दशकअघि संकलित करोडौं रकमको हिसाबकिताब, क्याम्पस प्रमुख यादवले सार्वजनिक नगरी अनियमितता गरेको नेविसंघको आरोप छ ।
हरिखेतान बहुमुखी क्याम्पसका बारेमा ७ सुत्रीय मागसहितको ज्ञापनपत्र पर्साका सहायक प्रमुख जिल्ला अधिकारीलाइ बुझाउँदै नेविसंघका नेताहरु । तस्बिर : क्रान्ति शाह
उक्त रकमको हिसाब पनि पारदर्शीरुपमा सार्वजनिक गर्नुपर्ने माग नेविसंघको छ । क्याम्पसमा कर्मचारी भर्नाको प्रक्रिया तथा अहिले कार्यरत कर्मचारीहरुको सन्चय कोष र समाजिक सुरक्षा कोषको रकम कट्टा गरिएपनि सम्बन्धित कार्यालयमा दाखिला नगरिएको भन्दै नेविसंघले त्यसको पनि विवरण र कारण सार्वजनिक गर्न माग गरेको छ ।
हरिखेतान क्याम्पस दाताबाट समुदायमा हस्तान्तरण भएपछि अहिलेसम्म क्याम्पस व्यवस्थापन समिति गठन नगर्नुको कारण पनि सार्वजनिक गर्न नेविसंघले माग गरेको छ । क्याम्पसमा करोडौंको लागतमा निर्माण भइरहेको छात्रावास भवनमा सम्झौता अनुसारको गुणस्तरीय निर्माण सामग्रीको प्रयोग नभएको नेविसंघले आरोप लगाएको छ । यी ७ सुत्रीय माग ३ दिनभित्र क्याम्पस प्रशासनले पुरा नगरे सशक्त आन्दोलनमा उत्रिने चेतावनी पनि दिइएको नेविसंघ इकाइ कमिटिका सभापति बताए ।
यसैबीच आइतबार ज्ञापनपत्र बुझाउन क्याम्पसमा जाँदा क्याम्पस प्रमुख यादवले ज्ञापनपत्र लिन नमानेको र ज्ञापनपत्र च्यात्ने कोशीश पनि गरेको साहले बताए । साहले भने ,‘ क्याम्पस प्रमुखले सुरुमा ज्ञापनपत्र नै लिन मानेनन्, विवाद गरे, त्यसपछि जबरजस्ती क्याम्पस प्रमुख यादवलाई ज्ञापनपत्र दिएर हिड्यौं, अनि त्यसपछि पर्साका सहायक प्रमुख जिल्ला अधिकारीलाई पनि त्यसको बोधार्थ प्रतिलिपी बुझायौं ।
यता क्याम्पस प्रमुख यादवले भने विधिविधानअनुसार नै क्याम्पस सञ्चालन भइरहेको दाबी गरे । यादवले बाहिरका विद्यार्थीले ज्ञापनपत्र लिएर आएकाले आफूले नलिएको बताए । यादवले भने,‘ बाहिरका विद्यार्थी आएर हल्लीखल्ली गरेका थिए, मैले कुनै वास्ता नै गरिन् । ज्ञापनपत्र किन च्यात्नु भएको त भन्ने प्रश्नमा यादवले भने ,‘ सबैलाई थाहा छ म बदमास व्याक्ति हुँ त्यसैले यस्तो हल्ला फिजाएका हुन् ।