त्यो रोमान्चक पदयात्रा

त्यो रोमान्चक पदयात्रा

केही समयअघि विदेशी महिलाको टोली १२ दिनको पदयात्रामा नेपाल आयो। टोलीको पहाड र तराई हेर्नुका साथै महिला र आमा समूहद्वारा सञ्चालित विकासका कार्यहरू हेर्ने र भेट्ने योजना पनि रहेछ। यो समूहमा धेरै महिला यात्री थियौं। भारी बोक्नेमा शेर्पा महिला पनि थिए। धादिङका केही तामाङ युवती टे«किङ गर्नेको सम्पर्कले पर्यटकको भारी बोक्ने काम गर्न थालेका रहेछन्। पोखरासम्म बसमा गएर वीरेठाँटी हँुदै घान्द्रुकसम्म जाने पहिलो कार्यक्रम  थियो। नुवाकोटको त्रिशुली बजारपट्टिबाट धादिङ जिल्लाको त्यतिबेलाको सेर्तुङ गाउँ विकास समितिसम्म पुग्न हाम्रो त्यो नेपाली, भारती, युरोपेली र अमेरिकी महिलाको टोली हिड्यो। गणेश हिमाल तल सेर्तुङ जान पैदल यात्रा थाल्यौं। देउराली पुग्दा धादिङ जिल्ला छोएछ।

टोलीमा स्वदेशी, विदेशी, शेर्पा भरियाहरू सबै खालका थियौं। कसैको हिँडाइको रफ्तार छिटो छ कसैको ढिलो छ। केही छिटो उकालो हिँड्न सक्ने थियौं। टोलीमा महिलाको संख्या धेरै थियो। गाउँका मानिस अनौठो मानेर हामीलाई हेरिरहेका हुन्थे। पाका पुरुषले मलाई लक्षित गर्दै भने, ‘गाईबस्तु धपाउने पछि हिँडेर मानिस धपाउने अघि हिँडेर।’ समूहमा कोही अघि हिँडेमा अरूलाई पनि छिटो हिँड्न करै लाग्ने भयो। त्यसकारण यसो भनेको रहेछ। दसैंको समय आउन लागेको थियो। मौसम सुन्दर थियो, यात्रा रमाइलो थियो। गाउँबाट काठमाडौं पेन्सन लिन भारतीय आर्मीमा काम गरेका वृद्ध सिपाहीहरू अनि उनका श्रीमतीहरू डोकोमा बोकिएका दृश्य रमाइला देखिन्थे। हिँड्न नसक्ने भएपछि ती वृद्धवृद्धालाई आफन्तले डोकोमा बोकेर ल्याएका दृश्य पनि अनौठो नै भयो।

दोस्रो दिन हिँड्दै थियौं। भारतीय साथीले भनिन्– ‘मानिस पैसा खर्च गरीगरी किन नेपाल ट्रेकिङ आउँदा रहेछन् ?’ उनलाई उकालो हिँड्न निकै गाह्रो भएको थियो। फेरि थपिन्– ‘यो उकालो ओह्रालो त ज्यान लिने रहेछ।’ सातौं दिनसम्म नुहाउन पनि नपाइने। पश्चिमा महिला भन्छन्– ‘नेपाल कति राम्रो, नेपाली कति हँसिला ? तर साह्रै दुःख रहेछ। बिरामी परे त अकालमै मरिने रहेछ। हामी हाम्रो देशको सुखसुविधा, घरको ऐस आराम सम्झिराखेका छौं।’ त्यो दिन झलिङ गाविसमा बास बस्न आइपुग्यौं। बास बस्ने ठाउँमा शेर्पाहरू पाल टाँग्न थाल्छन्। शेर्पाहरू खाना बनाउन थाल्छन्। गाउँभरिका केटाकेटी ओइरिएर विभिन्न देशका महिलाको जमात हेर्न आउँछन्। मलाई भने हामी सर्कसका पात्र जस्ता लाग्दैछांै।

अर्को दिन अघि बढ्दा खोलामा पुलको सट्टा एउटा मुढा मात्र भेटियो। बल्लबल्ल खोला पार गर्‍र्यौं। नेपाली हुनुको पीडा अरूसामू कसरी छोप्ने ? सरकारले एउटा अथवाको पुलसम्म बनाउँदैन। विदेशी महिलाले साहसिक काम गरेझै अनुभव गरे खोला तर्दा। गरुंगो भारी बोक्ने पनि त्यहीबाट पारी पुग्न तर्नु पर्छ। हाम्रा सामान बोकेकाहरू पनि तरे। यहाँका बासिन्दा त झन्  चिराइतोको भारी त्रिशूली बजारतर्फ लैजान्छन्। एक जनाले ५० देखि ६० किलोसम्मको भारी बोक्छन्। एक धार्नीको भारीको साहुले १० रुपैयाँ दिन्छन् रे। तर यही भारी बोक्ने काम पनि सधैं पाउँदैनन् रे। त्यसैलै कामको खोजीमा गाउँबाट बाहिर बसाइँ जाने चलन रहेछ। कति मानिस काठमाडौं गएका छन् भने खाडी मुलुकतिर पनि गएका छन्। झर्लाङ गाविसमा ठूलोठूलो पहिरोे गएको रहेछ। पुग्दा पहिरो गएको धेरै भएको थिएन। पहिरोले गर्दा बाटो पनि पुरिएको थियो। गेग्र्यान भएको चिप्लो सानो भीरबाट हिँड्यौं।

सबैले सकुशल पहिरोको बाटो काट्यौं। सहयोगी शेर्पाहरू भन्दै थिए, यी महिलाहरू किन यस्तो असजिलो बाटो आएका होलान् ? टे«किङ पनि किन सजिलो चाहिँ बाटो नगएका होलान् ? कति ठाउँमा कति जनालाई यी शेर्पाले तान्न र डोहोर्‍याउन पर्ने थियो। बाटोमा शेर्पाहरू सोध्छन्– ‘दिदी ! यो विदेशी महिलाको टोली किन यस्तो अप्ठ्यारो बाटो अर्थात् भीरको बाटो खोजेर आएका ?’ भन्छु– ‘साँच्चैको नेपाली जीवन हेर्न टुरिस्ट हिँड्ने पदयात्रा मात्र नहिँडेर यो बाटो  आउन परेको हो।’ उनीहरू हाँस्छन्। यी शेर्पाहरूको सद्व्यवहारले यात्रा केही सजिलो बनाएको थियो।

सेर्तुङ गाविसका एक बासिन्दा जो जंगलको जरामासी र पदमचाल, चिराइतो अनि जंगली झ्याउ त्रिशूली बजार ल्याई बेच्ने काम गर्छन्। उनीसँग कुरा गर्दै हिँडे। यी व्यक्ति वर्षको १० हजार कमाउँछन् रे। यिनका सात छोराछोरी छन्। जेठो छोरी १८ वर्ष अनि १६, १४, ११, ९ र ७ वर्षका। जेठी छोरी विवाहित अनि जेठो छोरो उनको काम सघाउन सक्ने भएको छ। बाँकी एउटा छोरा भेडा चराउँछ र गाउँ डुल्छ। अर्का छोरीहरू बाख्रा चराउँछन् र भात पकाउँछन्। यी केटाकेटीकी आमा १५÷१६ दिन ज्वरोले थला परेर मरिन् रे। ४५ वर्षे यी बाबु यी छोराछोरीको स्याहारसुसार गरेर बसेका रहेछन्। भगवान्को कृपाले मलाई रोगव्याध लागेको छैन भन्थे।

बाटोमा धेरै चाखलाग्दा मानिस भेटिए। ८० वर्षे काठमाडौंबाट मोतीबिन्दु औषधि गरेर घर फर्कंदै रहेछन्। उनको चिन्ता थियो– झर्लाङ गाविसको बाढीपहिरो रोक्ने भन्ने। हाम्रो टोली केका लागि हिँडेको ? मेरो कामको धेरै खोजीनीति गरे। सुनिसकेपछि उनले टिप्पणी गरे– ‘तिमी जनाना तर काम भने मर्दाना रहेछ नि।’ म र मेरा नेपाली साथी हाँस्दै बिदा भयौं। सधैंकै जस्तो मेरो यो यात्रा पनि शिक्षाप्रद रह्यो। केही वर्षपछि समाचार पाताहरू त्यतिबेलाको सत्यदेवी गाविसको विकराल पहिरोे अनि गाउँ नै बगाएको खबर आयो। ती ८० वर्षका वृद्धको चिन्ता झर्लाङको पहिरोेको थियो, त्यहाँबाट त बस्ती उठिसकेको थियो। त्यही नजिकको सत्यदेवीमा भने धेरै जन र धनको क्षति भयो तर सधैं जस्तै मेरो मनमा आइरहने प्रश्न यो सुन्दर देश विकास हुने कहिले ?

पदयात्राका क्रममा बाटामा विभिन्न सामान बेच्नेहरू पनि भेटिन्थे। युरोपका महिलाले यी केटीसँग मोलतोल गरेर मुगाका मालाहरू किने। मुगा बेच्ने नेपाली किशोरीहरू विदेशी महिलासँग उनीहरूकै भाषामा गरेको मोलतोल र उनको विभिन्न भाषाको दक्खल बिर्सन सकेको छैन। नेपाली पहाडिया केटी मैलीधैली मैलो लुगा लगाएको तर अनुहार चाहिँ राम्रो थियो। ती किशोरीले अंग्रेजी र फ्रेन्च भाषा बोलेर सामानको मोलतोल गरेको व्यापारिक कला आँखामा त्यो दृश्य ताजा छ।

अन्नपूर्ण हिमालको सौन्दर्य नियाल्दै एक्यापको कार्यक्रम हेरेर लवाङ गाविस हुँदै गएका थियौं। अब हामी घान्द्रुकमा पुग्दा त त्यहाँको प्राकृतिक छटा नै मुग्घ हुने पायौं। आतिथ्य सत्कारको अनुपम उदाहरण नेपालकै गाउँमा अझैसम्म रहेछ, पाइयो। पहाडी भेगको सुन्दरता एक किसिमको थियो भने भित्री मधेस चितवनको मैदानी भेग पुग्दा त्यहाँको सुन्दरता अर्कै थियो। नेपालको हिमाल, पहाड र तराई तीनै स्थानको दृश्यावलोकन र यात्रा अनुभव रमाइलो थियो। महिलाका सामाजिक, आर्थिक प्रयासका नमुनाहरू पनि अवलोकन गर्ने अवसरले शिक्षाप्रद भयो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.