वरिष्ठ गीतकार डा. बराललाई सम्मान
काठमाडौं : नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा पुरस्कार घोषणा गरेको छ। प्रतिष्ठानका अध्यक्ष गणेश राईको अध्यक्षतामा बसेको बैठकले वरिष्ठ गीतकार प्रा.डा. कृष्णहरि बराललाई ‘प्रतिभा सम्मान’ र युवा संगीतकार गणेश गुरुङलाई ‘प्रतिभा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको हो।
सम्मानको राशि नगद ५० हजार छ भने पुरस्कार एक लाख रुपैयाँ राशिको रहेको प्रतिष्ठानका महासचिव देवेन्द्र खेरेसले जानकारी दिए। वि.सं. २०१० साल कार्तिकमा सिन्धुलीको हतपतेमा जन्मिभएका डा. बरालले स्कुले जीवनबाट गीत तथा गजल लेख्न थालेका हुन्। उनका दर्जनौं गीत तथा गजल चर्चित र लोकप्रिय छन्। उनलाई नेपाली गीत तथा गजलका क्षेत्रमा विशिष्ट योगदान दिएवापत ‘प्रतिभा सम्मान’ प्रदान गरिन लागेको हो।
यसैगरी वि.सं.२०३० वैशाख १५ गते पाँचथरको रानीटारमा जन्मिएका गणेश गुरुङले २०४७ सालमा रेडियो नेपालबाट गायन सुरु गरेका हुन्। एक सयभन्दा बढी गीतहरूमा संगीत संयोजन गरेका गुरुङको सयकै हाराहारी एल्बममा संगीतसमेत रहेको छ। गुरुङलाई संगीत सिर्जना तथा एरेन्जका साथै संगीत प्रशिक्षणसमेत गरेर नेपाली गीतसंगीत क्षेत्रमा महत्वपूर्ण योगदान दिएवापत ‘प्रतिभा पुरस्कार’ प्रदान गरिन लागिएको हो।
यसैगरी ‘प्रतिभा पुरस्कार’बाट नवीन विभास, कुवेर राई, उपेन्द्र सुब्बा, श्रवण मुकारुङ, मोमिला जोशी, राजकुमार दिक्पाल, भूपाल राई, बीबी अनुरागी, टीका चाम्लिङ, फूलमान वल, बलराम अधिकारी, शुभ मुकारुङ र विमला तुम्खेवा पुरस्कृत भइसकेका छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)