नुवाकोटमा एकैदिन ४० महिलासहित ७४ संक्रमित
नुवाकोट : काठमाडौसंगै जोडिएको नुवाकोटमा कोरोना सङ्क्रमणदर बढ्दै गएको छ। संक्रमणको तुलनामा निको हुनेहरु कमि रहेका छन्। १२ स्थानीय तह रहेको पहाडि नुवाकोटमा समुदायस्तरमा कोरोनाको सङ्क्रमण फैलिएर नियन्त्रणमा लिने प्रयास भइरहेको समयमा बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीदेखि सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयका कर्मचारीमासमेत कोरोना सङ्क्रमण पुष्टि हुनेदर बढेसँगै रोगबाट उच्च सावधानी अपनाउन अपिल गरिएको छ। पछिल्लो २४ घण्टामा ४० महिलासहित ७४ जना संक्रमित भएका छन्।
सोही अवधिमा २ जनामात्रै संक्रमित निको भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ। सक्रिय संक्रमितमध्ये ५ जना अस्पतालमा, ४ जना अस्पतालको कोभिड वार्डमा र १ जना आइसियुमा रहेका छन् भने अन्य सवै होम आइसोलेसनमा रहेको अस्पतालका वरिष्ठ जनस्वास्थ्य प्रशासक महेन्द्रध्वज अधिकारीले जानकारी दिए।
उनका अनुसार वुधवार नुवाकोटमा ७४ जना आरटिपिसिआर र ८९ जनाको एन्टिजेन परिक्षण गर्दा ८९ जना सक्रिय संक्रमित भएको पुष्टि भएको छ। १२ मध्ये ककनी गाउंपालिकामा मात्रै शुन्य संक्रमित रहेका छन्।
नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा दुई विशेषज्ञ चिकित्सक, चार मेडिकल अधिकृतसहित ३० स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण देखिएको मेडिकल सुपरिटेन्डेण्ट डा दीपेन्द्र पाण्डेले जानकारी दिए। उनका अनुसार कोरोना नियन्त्रणका लागि अग्रपङ्क्तिमा रहेर सेवा पुर्याउने अधिकांश चिकित्सक–स्वास्थ्यकर्मी भाइरसबाट सङ्क्रमित भएका छन्।
“अस्पतालका विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत, नर्स, पारामेडिक्स, प्रयोगशालाकर्मीलाई लक्षणसहितको समस्या देखिएसँगै गरिएको परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएको छ।” अस्पतालका मेसु पाण्डेले अगाडि भने “जाँच गराउन आउने बिरामीको दर बढिरहेको समयमा स्वास्थ्यकर्मी आफै सङ्क्रमित भएकाले सेवा दिन कठिनाइ भएको छ।”
अस्पतालको स्त्रीरोग तथा प्रसूति सेवा विभागमा कार्यरत तीन विशेषज्ञ चिकित्सकलाई कोरोना सङ्क्रमण भएपछि सेवा प्रभावित भएको छ। अस्पतालले सूचना जारी गर्दै उक्त विभागबाट उपलब्ध गराइने विशेषज्ञ सेवा केही दिनका लागि प्रभावित भएको जानकारी दिएको हो।
मानिसको भीडभाड बढेको र स्वास्थ्य मापदण्डको पालना नहुँदा सङ्क्रमणदर बढेसँगै सामान्य प्रकृतिका बिरामी तथा केही समयपछि शल्यक्रिया गर्दा पनि हुने बिरामीलाई हाल अस्पतालमा नआउन अनुरोध गरिएको छ। वुधबारसम्म ८७ महिलासहित एकसय ७७ जना सक्रिय संक्रमित रहेका छन्।
जिल्लाको प्रमुख कार्यालय विदुरस्थित जिल्ला प्रशासन कार्यालयका कर्मचारी पनि सङ्क्रमित भएका छन्। जिल्ला प्रशासन कार्यालय नुवाकोटका केही कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको तथा केहीलाई रोगसँग मिल्दोजुल्दो लक्षणसहितको स्वास्थ्यमा समस्या देखिएको छ।
जिल्लामा सेवा प्रवाहका लागि महत्वपूर्ण निकायका रूपमा रहेको प्रशासनका कर्मचारीमा कोरोना देखिएकाले अत्यावश्यक परेकाका लागि मात्रै सेवा लिन आउन अनुरोध गरिएको छ। प्रशासन कार्यालयले सूचना जारी गर्दै कार्यालयको अग्रस्थानमा रहेर सेवा पुर्याउँदै आएका केही कर्मचारीमा लक्षणसहितको स्वास्थ्यमा समस्या देखिएकाले सोमबार गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो।
सङ्क्रमणका कारण कर्मचारी आइसोलेसनमा बसेसँगै जनशक्ति नहुँदा सेवा थप प्रभावित हुनसक्ने भएकाले अत्यावश्यक सेवाका लागि मात्रै आउन सेवाग्राहीलाई आग्रह गरिएको छ। अत्यावश्यक सेवा लिनका लागि मात्र आउन प्रशासनले अनुरोध गरे पनि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता, राष्ट्रिय परिचयपत्र, लामो समय रोकेर एक साताअघिदेखि सुरु गरिएको विद्युतीय राहदानी बनाउनेको सङ्ख्या भने दैनिक १ सय जना भन्दा बढी पुग्ने गरेका छन्।
नुवाकोटमा कोरोनाका कुल सङ्क्रमित वुधबारसम्म तीनहजार चारसय ७१ जना महिलासहित आठहजार ५ सय ७६ जना पुगेको छ। जसमध्ये आठहजार तीनसय ४७ जना निको भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ।