पुतलीबजारमा ८५ प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण
स्याङ्जा : पुतलीबजार नगरपालिका र यूएनडीपीको आर्थिक, प्राविधिक सहयोग तथा सूर्यौदय क्लबको ब्यवस्थापनमा संञ्चालित कोभिड १९ आर्थिक सामाजिक प्रतिकार्य पहल सम्बन्धी कार्यक्रममा शुक्रबार हाते ट्याक्टर बितरण गरिएको छ।
पुतलीबजार-१० का ११ जना किसानलाई जनही ८५ प्रतिशत अनुदानमा हाते ट्याक्टर उपलब्ध गराइएको हो। ट्याक्टरको बजार मुल्य ४५ हजार छ।
कार्यवाहक नगरप्रमुख ओमबहादुर खड्का र प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम शर्माले हाते ट्याक्टर प्रदान गर्दै टयाक्टरको सही सदुपयोग गर्दे मौसमी तथा बेमौसमी कृषि उत्पादनमा जोड दिन किसानलाई सुझाव दिए।
यसवर्ष पुतलीबजारमा ९३ वटा हाते ट्याक्टर बितरण गर्ने योजना रहेको क्लबका अध्यक्ष अनन्तकुमार श्रेष्ठले जनाए। उनले भने, ‘पुतलीबजारका १४ वटा वडाका हरेक टोलमा एउटा हाते ट्याक्टर पुरयाउने र त्यहाँका किसानले कम मुल्यमा सो ट्याक्टरको उपयोग गर्न पाउन भन्ने उदेश्य हो।’
हिजोआज हलगोरुका विकल्पकारुपमा हाते ट्याक्टरको प्रयोग बढ्दो छ। स-साना गह्रादेखि ठूल्ठूला फाँटसम्म कम मूल्यमा सहजरुपमा जोत्न सकिने किसानको भनाई छ।