मन्थलीमा तीन लालको बेहाल

मन्थलीमा तीन लालको बेहाल

सम्मानयोग्य व्यक्तिका सालिकमा यस्तो अपमानजनक व्यवहार गर्ने छुट कसैलाई पनि छैन । स्मृति पार्क कहिल्यै विस्मृति पार्क नबनोस्।


मन्थलीको नामकरण सम्बन्धमा माझी भाषाको मनथल (मन–राजा, थल–बस्ने ठाउँ) अर्थात् राजा बस्ने ठाउँ रहेको पाइन्छ। पछि गएर मनथल नै मन्थली भएको भन्ने एउटा मत रहेछ। माझी भाषाकै मुन्थली (मुन्–जाँड र थली–खाने थलो) शब्दको अर्थ जाँड खाने थलो रहेको र पछि गएर मुन्थली नै मन्थली भएको भन्ने अर्को मत रहेछ। मन्थलीमा माझी बस्ती रहेकाले माझी भाषामै नाम रहेको हुन सक्ने देखिन्छ। यीमध्ये कुन चाहिँ सन्दर्भबाट मन्थलीको नामकरण गरिएको भन्ने यकिन भएन। मन्थली बजार परिक्रमापछि पहिले नै सुनिसकेकाले मन्थलीमा निर्मित तीन लाल पार्क हेर्ने खुल्दुली पैदा भयो। तीन लाल पार्क माझी बस्तीका छेउमा रहेछ। तामाकोसीको तीरमा रहेको त्यही तीन लाल पार्क पुग्यौं।

रामेछापमा जन्मिएर विभिन्न क्षेत्रमा प्रसिद्धि प्राप्त गरेका र नेपालमा परिचयको खासै आवश्यकता नभएका सहिद गंगालाल श्रेष्ठ (१९७५–१९९७), वामनेता पुष्पलाल श्रेष्ठ (१९८१–२०३५) र पहिलो साहित्यिक सहिद कृष्णलाल अधिकारी (१९४४–१९८०) का सालिक राखिएको ठाउँलाई तीन लाल स्मृति पार्क नामकरण गरिएको रहेछ। वरिपरि घेरिएको ठूलै क्षेत्रको एकापट्टि सानो ठाउ“ घेरेर देब्रेबाट क्रमशः गंगालाल श्रेष्ठ, पुष्पलाल श्रेष्ठ र कृष्णलाल अधिकारी गरी तीनजनाको सालिक राखिएको रहेछ। तीनैजनाका सालिकको अग्रभागमा तलपट्टि नाम, जन्म र मृत्यु मिति लेखिएको रहेछ। बाँकी क्षेत्रमा सभाहल, प्रशासनिक भवनजस्ता अनेक प्रकारका भवन निर्माण गरिँदै रहेछ। पार्कमा त उद्यान निर्माण गरिनुपर्नेमा भवन निर्माण गर्ने प्रयोजन चाहिँ कमाउधन्दा भए बेग्लै कुरा, अन्य कारण बुझिएन। त्यहाँ त फलैंचामा बसेर बोटबिरुवाको हरियाली र फूलबारीको सौन्दर्यका साथमा तामाकोसीको जलप्रवाह र वरपरको दृश्यावलोकन गर्ने पर्यटकीय स्थल पो बनाउनुपर्ने भन्ने मनमा लागिरह्यो।

संसारका अनेकौं मुलुकमा अनेकौं पार्क देखेको छु र घुमेको छु। त्यहाँ त कुनै भवन बनाएको त देखिएन। बरु विभिन्न उमेरसमूहकालाई मनोरञ्जन गर्ने ठाउँ पो देखियो त। यस्तो त के कुरा तीन लालका सालिक राखिएको यति सानो ठाउँ पनि फोहोर र झाडीले भरिएको रहेछ। त्यहाँका जम्मा दुईवटा सिँढी पनि भत्कन लागेका छन्। त्यहाँ जाने बेलामा जुन उत्सुकता थियो, पुग्नेबित्तिकै त्यहाँको दुरवस्था, अव्यवस्था, अस्तव्यस्ततासँगै फोहोरसमेत देख्दा पहिलेको उत्सुकता खिन्नतामा परिणत भयो। त्यहाँ तीन लालको बेहाल देख्दा मन कटक्कै भयो। त्यहाँ त्यस्तो बेहाल अवस्थामा राखिएका तीन लालका सालिकको निर्माण कसले गरेको र ती सालिक त्यहाँ कहिले राखिएको भन्ने कुरा बुझ्न मन लाग्यो। तर, त्यहाँको शिलामा कतै पनि निर्माणकर्ताको नाम र सालिक राखिएको मितिसमेत देखिएन। मूर्तिकारको नाम र सालिक राखिएको मिति खोज्न थालें।

सालिक निर्माण कसले गरेको र त्यहाँ कहिले राखिएको भन्ने  बुझ्न मन लाग्यो। तर, कतै पनि निर्माणकर्ताको नाम र मिति देखिएन।

गहिरिएर हेर्दै जाँदा पुष्पलालका सालिकको दायाँपट्टि छेउमा लगभग मेटिइसकेका साना अस्पष्ट अक्षरमा रामकृष्ण भण्डारी २०५२/३/२७ (?) लेखिएको देखें। अन्य दुई मूर्तिमा अगिल्लाको भन्दा पनि लगभग नबुझिने अवस्थाका अझ साना अक्षरमा मूर्तिकार रामकृष्ण भण्डारी कीर्तिपुर लेखिएको अनुमान गरें। कीर्तिपुर निवासी उनी त मैले पहिलेदेखि नै राम्ररी चिनेका मान्छे जस्तो लाग्यो। त्यसपछि यी सबै कुरा उनीबाटै पत्ता लगाउने सोचेर मूर्तिका तस्बिर लिएँ। गंगालाल श्रेष्ठ नेपालका सक्कली चार सहिद धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र दशरथ चन्दमध्येका एक हुन्। कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठ र नेपालका सक्कली सहिद गंगालाल श्रेष्ठ दाजुभाइ हुन्। ‘मकैको खेती’ (१९७७ साल) नामक कृति लेखेबापत तत्कालीन राणा शासकबाट काराबास सजाय दिइएका र काराबासमै मृत्यु भएका कृष्णलाल अधिकारी पहिलो साहित्यिक सहिद मानिन्छन्। यस घटनालाई नेपाली साहित्यमा ‘मकै पर्व’ का रूपमा लिइन्छ।

मन्थलीमा सालिक निर्माण गरिएका यी तीनैजना व्यक्ति स्थानविशेषमा मात्र नभएर नेपालमै सम्मानयोग्य व्यक्ति हुन्। विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका व्यक्तिका सालिक बनाएर तिनका योगदानप्रति सम्मान दर्साउने काम राम्रो हो। तर, त्यस नाममा त्यस्तो अस्तव्यस्त राख्नुचाहिँ अपमान हो। कसैको सम्मानका नाममा अपमान गरिनु पटक्कै राम्रो होइन। कतैबाट यिनले यहाँको दुरवस्था देख्छन् भने तिनको आत्मा धुरुधुरु रोइरहेकोे होला। तीन लालमध्ये कृष्णलाल अधिकारीको त नाकको टुप्पो नै काटिएछ। झट्ट हेर्दा नै देखिने गरी काटिएको नाकको टुप्पो जातीय आधारमा काटिएको जस्तो बुझियो। यदि त्यसो हो भने त्योभन्दा दुर्भाग्य अरू केही हुन सक्दैन...। यी तीनैजना जात विशेषका होइनन् र यी सबैको जात नेपाली हो। त्यति मात्र होइन, कृष्णलालका गलामा गलपासो झुन्ड्याइएको रहेछ। सुरुमा झट्ट हेर्दा त अचेलको फेसन खादा जस्तो लाग्यो तर त्यसमा यति गाँठा पारिएका रहेछन् कि गाँठा फुकाउन खोज्दा पो छक्क परें।

त्यसलाई काटेरै निकाल्नुपर्ने रहेछ तर हामीसँग काट्ने हतियार थिएन। होस् पनि कसरी ? हामी हतियारधारी ...कारी त होइनौं। हामीसँग कलम मात्र थियो तर त्यसले त्यहाँ तत्काल काम गरेन। सालिक निर्माण सम्मानयोग्य व्यक्तिको गरिन्छ। सम्मानयोग्य व्यक्तिका सालिकमा यस्तो अपमानजनक व्यवहार गर्ने छुट कसैलाई पनि छैन। स्मृति पार्क कहिल्यै विस्मृति पार्क नबनोस्...। ‘रामेछापमा जन्मिएका महान् सपूत तीन लाल हाम्रा गौरव हुन्...’ आदि भन्दै जनता झुक्याउने खालका फोस्रा भाषण छाँट्ने अनि तिनका सालिकको चाहिँ यस्तो बेहाल बनाउने ? यति सानो ठाउँको सरसफाइ र अन्य व्यवस्थापन गर्न पनि नसक्ने अवस्थामा पुगिसके त त्यहाँका स्थानीय निकाय र संघसंस्थाहरू ? त्यसो हो भने चन्दा उठाउन्, सबभन्दा पहिले म दिन्छु...।

यस ठाउँमा अर्को पटक आइयो भने तीन लालको यस्तो कन्तबिजोक देख्न नपरोस्। यही कामना गर्दै तीन लालप्रति श्रद्धाञ्जलि अर्पण गरियो। त्यसपछि त पार्कमा घुम्न र बस्न पनि मन लागेन। तीन लालको बेहाल देखेपछि मन खिन्न भइरह्यो। मन्थलीमा देखिएको तीन लालको बेहाल अवस्थाले सताइरहेकै थियो। कीर्तिपुर आएपछि तीन लालका मूर्तिकार भण्डारीलाई फोन गरेर बोलाएँ। अक्षरमा मूर्तिकला (२०७४) नामक उनको कृति पनि उपहार पाएँ। पुस्तकमा उनको मूर्तिकला र चित्रकलाबारे सचित्र चर्चा गरिएको पाएँ। उनीसँग मूर्तिकला र त्यसमा पनि सर्वप्रथम मन्थलीका तीन लालका मूर्ति निर्माणबारे छलफल भयो।

मन्थलीमा राखिएका तीन लालका सालिक एकै पटक बनाइएका होइन रहेछन्। भण्डारीलाई पुष्पलाल श्रेष्ठको सालिक बनाउन २०५० सालमा पुष्पलाल प्रतिष्ठानले १० हजार रुपैयाँमा लगाएको रहेछ। उनले तीन महिना लगाएर मूर्ति बनाई पुष्पलाल प्रतिष्ठानलाई बुझाएका रहेछन्। गंगालाल श्रेष्ठ र कृष्णलाल अधिकारीका सालिक बनाउन २०५६ सालमा नवराज अधिकारीले २५ हजारमा लगाएका रहेछन्। विशेष आस्थाका कारण यिनले दुवै पटक बढी पैसाको माग पनि गरेनछन्। उनले ६ महिना लगाएर दुवै मूर्ति बनाई बुझाइदिएछन्। २०५७ सालमा यी दुई र पहिले पुष्पलाल प्रतिष्ठानका लागि बनाएको गरी तीनैवटा मूर्ति मन्थली लगिएछ।

तीनैवटा मूर्ति त्यहाँ राखिएको भन्ने कुरा भण्डारीले सुनेछन् तर कहिले, कहाँनिर भन्ने कुरा अझै पनि पत्तो रहेनछ। यी मूर्ति त्यहाँ कुन मितिमा राखियो भन्ने कुरा कतै लेखिएको पनि देखिएन। यस्ता कार्यमा कहिल्यै कसैले खेलाँची गर्नु हुन्न। यति सस्तोमा यस्ता राम्रा मूर्ति बनाउने कलाकारलाई मूर्ति स्थापनाकै दिन लगेर सम्मानपूर्वक उनीबाटै अनावरण गराएको भए के बिग्रिन्थ्यो ? लौ अनावरण पनि स्थानीय कुनै नेताले स्वार्थसिद्धिका लागि कुनै दलका तथाकथित ठूला भनिएका नेताबाट गराए। भाषण छाँट्न लगाए। जे भए पनि सो समारोहमा मूर्तिकारलाई बोलाएर एउटा माला लगाइदिएको भए कसको के नै जान्थ्यो ? उनी कति खुसी हुन्थे होला ?

कुराका सिलसिलामा भण्डारीले बाघभैरव, शंखधर साख्वा, अरनिको, कीर्तिपुरका चार सहिद, पारिजात, मदन–आश्रित, मधुवर राई, प्रेमसिंह धामीलगायतका मूर्ति बनाएका रहेछन्। सामान्यदेखि विशिष्टसम्मका थुप्रै व्यक्तिका मूर्ति बनाएको, विश्वका विभिन्न मुलुकबाट आएका पर्यटकले उनले बनाएका मूर्ति किनेर लगेको, धेरैलाई चित्र र मूर्ति बनाउन सिकाएको तर पैसा भने खासै नकमाएको उनले बताए। मूर्ति बनाउने नाममा प्राप्त रकम ज्याला त के कुरा ढुंगा खोज्न र किन्न पनि धौ धौ पर्ने रहेछ। तैपनि विशिष्ट व्यक्तिका मूर्ति बनाउन पाएकामा उनी खुसी नै लागेको बताउँछन्।

आफूले बनाएका मूर्ति लगिएपछि कहिले र कसरी स्थापना गरियो भन्नेसमेत जानकारी नदिइँदा र कार्यक्रममा समेत नबोलाइँदा भने उनमा खिन्नता प्रकट हुन्छ। भण्डारी मूर्तिकला मात्र नभई चित्रकलामा पनि त्यत्तिकै सिपालु रहेछन्। उनले पटकपटक चित्रकलाको प्रदर्शनीसमेत गरेका छन्। अत्यन्त सरल र भद्र स्वभावका भण्डारीको सीप धेरैबाट शोषित भएको पनि देखिन्छ। देशमा श्रमिक सम्मानित भएको हेर्न कति समय पर्खनुपर्ने हो ? खोलो तर्‍यो लौरो बिस्र्यो नगरौं। कला र कलाकारको सम्मान गर्न सिकौं।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.