अन्नबालीको विकल्पमा फलफूल खेती
![अन्नबालीको विकल्पमा फलफूल खेती](https://annapurnapost.prixacdn.net/media/albums/jadibuti-kheti2_20220127041659_YaMJdyUktq.jpg)
भोजपुर : बाँदर आतंकले आजित भएपछि भोजपुरका किसान फलफूल र जडीबुटी खेतीमा लागेका छन्। खेतीयोग्य जमिनमा बाँदरले नखाने खालका बाली लगाउने क्रम बढेको हो।
पौवादुङमा–१ श्यामशिलाका कमल भुजेलले ३० रोपनी खेतीयोग्य जग्गामा एभोकार्डो, टिमुर, मेकाडियानटजस्ता बाली रोपेका छन्। बाँदरका कारण अन्नबाली भित्र्याउनै नपाएपछि विकल्प रोजेका हुन्। ‘बाँदरले सबै अन्न सखाप पारिदिन्छ। रुँघेर पनि सकिन्नँ। मान्छेलाई नै आक्रमण गर्छ,’ भुजेलले भने, ‘आजित भएपछि धान फल्ने खेत मासेको हुँ।’ अहिले रोपेको बालीमा बाँदरले अन्नमा जति दुःख नदिने उनले विश्वास छ।
यहाँ पछिल्लो समय किसानले बाँदरसहित सिँचाइ अभावको समेत सामना गरिरहेका छन्। अन्नबाली फलाउन नपाउँदा भोजपुरका धेरै गाउँबस्ती बसाइँसराइले रित्तो बनेका छन्।
बाँझिएका जमिनमा टिमुर र मेकाडियानटको व्यावसायिक खेती रोजेको छोकिमालाका रामकुमार राई बताउँछन्। मुख्य अन्नबाली जोगाउन नसकेपछि जडीबुटीको नर्सरी लगाउन थालेको अर्का किसान खगेन्द्र खातीले बताए। बाँदर प्रभावित क्षेत्रमा वर्षौंदेखि खेतीयोग्य जमिन बाँझो छन्।
त्यसलाई पनि हराभरा बनाउने योजना उनले सुनाए। बाँदरकै कारण विस्थापित भएकाहरू पनि गाउँ फर्किएर बाँदरले नखाने फलफूल र जडीबुटी लगाउन थालेका छन्। रामप्रसाद राई, टेम्केमैयुङ र पौवादुङमा गाउँपालिका तथा भोजपुर र षडानन्द नगरपालिकाका अधिकांश ग्रामीण भेगमा बर्सेनि खाद्य सकंट हुने गर्छ। प्रभावित क्षेत्रका स्थानीय तहले पनि बाँदर समस्या न्यूनीकरणका लागि बजेट पनि छुट्ट्याउन थालेका छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)