हिंसात्मक अभिव्यक्ति दिने मन्त्री यादवलाई बर्खास्त गर्न कांग्रेस नेताको माग
राजविराज : हिंसात्मक अभिव्यक्ति दिने भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवलाई पदबाट बर्खास्त गर्न गृहजिल्लाका सत्तासिन पार्टीका नेताहरूले माग गरेका छन् । गौर नरसंहार पुनः दोहरिन सक्ने र जनमत पार्टीका अध्यक्ष डा. सिके राउत मारिन सक्ने धम्की दिएकी मन्त्री यादवलाई बर्खास्त गर्न बिहीबार कांग्रेसका नेता एवम् पूर्व सांसद् रंजित कर्णले माग गरेका हुन् ।
कांग्रेसका नेता कार्यकर्ताहरूको टोलीको नेतृत्व गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरी पुगेका कर्णले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष मन्त्री यादवलाई बर्खास्त गर्न ज्ञापनपत्र बुझाएका छन् ।
ज्ञापनपत्रमा गौरको विभत्स हत्या नियोजित नभई भवितव्य हो भन्दै आएका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई गलत साबित गर्दै गर्वका साथ त्यस्तो घटना घटाउने भनी दिएको अभिव्यक्ति अपराध भएकाले तत्काल मन्त्री पदबाट बर्खास्त गर्न माग गरिएको छ । मन्त्रीबाट बर्खास्त गर्दै कानुन बमोजिम कारवाही प्रक्रियासमेत अगाडि बढाउन कर्णले प्रधानमन्त्रीसँग आग्रह गरेका छन् ।
तत्कालिन मधेशी जनअधिकार फोरम र माओवादीका कार्यकर्ताबीच ०६३ चैत ७ गते गौरको राईस मिलमा भएको भिडन्तमा २७ जन माओवादी कार्यकर्ताको हत्या भएको थियो ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमसँग कर्णले कानुनको खिल्ली उडाउँदै मन्त्री यादवले खुलेयाम नरसंहार मचाउने खाले अभिव्यक्ती दिनु क्षमायोग्य नभएकोले तत्कालै बर्खास्त गर्नुबाहेक विकल्प नभएको बताए । केन्द्र सरकारको मन्त्री जस्तो संवैधानिक पदमा बसी सार्वजनिक मञ्चबाटै हत्या हिंसाको धम्की दिनु कानुनी राज्यको बर्खिलाफ भएको कांग्रेसका युवा नेता अर्जुन साहले बताए ।
पूर्व संविधान सभा सदस्य कर्णले २७ जनाको हत्या गर्ने गरी भएको गौर नरसंहारको स्विकारोक्ति र साम्प्रदायिक द्वन्द्व फैलाउने अभिव्यक्ति विरुद्ध प्रहरी कार्यालयमा उजुरी समेत दिने बताए । सप्तरी प्रहरीमार्फत जिल्ला प्रहरी कार्यालय रौतहटमा उजुरी गर्न लागेको जानकारी दिँदै कर्णले आवश्यक्ता परेमा रौतहट प्रहरी कार्यालय पुगेर नै उजुरी दिने बताए ।
पदीय मर्यादाविपरित अभिव्यक्ति दिने मन्त्रीले राजीनामा नदिएकाले प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने भन्दै जनमत पार्टीलगायत अन्य पार्टीका युवा नेता, कार्यकर्ताहरूले दिनहुँ आन्दोलन गरिरहेका छन् । अर्कोतिर मन्त्री यादवको बचाउ गर्दै जनता समाजवादी पार्टीका कार्यकर्ताहरूले मन्त्री यादवको समर्थनमा जुलुस निकाल्दै सिके राउतमाथि कारवाही गर्न सरकारसँग माग राखेर प्रदर्शन गरिरहेका छन् ।