मन्त्री यादवले भनिन्, ‘मेरो अभिव्यक्ति पूर्वाग्रहपूर्ण ढंगले अपव्याख्या भयो’
काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले आफ्नो अभिव्यक्ति कसैप्रति कसैप्रति हिंसा र उत्तेजित पार्न नभएको बताएकी छन्। जनमत समाजवादी पार्टीका अध्यक्ष सीके राउतको हत्या गर्ने अभिव्यक्ति दिएपछि विवादमा तानिएकी यादवले सोमबार एक विज्ञप्ति जारी गर्दै व्यक्तिगत रुपमा कसैप्रति लक्षित नभएको भन्दै भ्रममा नपर्न आग्रह गरेकी हुन्।
उनले यसलाई सामान्य रुपमा लिन अनुरोध गरेकी छन्। विज्ञप्तिमा भनिएको छ, ‘मेरो मन्तव्यलाई लिएर केही भम फैलिएको बुझिन आएकोले सोप्रति गहिरो दुख व्यक्त गर्दै आफ्नो भनाई कसैप्रति हिंसाको प्रयोग नगर्ने र कसैलाई उत्तेजित पार्न नभएको व्यहोरा समेत जानकारीका लागि अनुरोध गर्दछु। मेरो वक्तव्य व्यक्तिगत रुपमा कसैप्रति लक्षित नभएपनि त्यस्तो भ्रम पर्न गएकोमा सो प्रति दुख व्यक्त गर्दछु ।’
उनले रौतहटस्थित गौरमा श्रद्धाजली सभाको सभामा दिएको अभिव्यक्ति पूर्वाग्रहपूर्ण ढंगले अपव्याख्या भएको दाबी गरेकी छन्। उनले विज्ञप्तिमार्फत भनेकी छन्,‘सभामा मैले दिएको अभिव्यक्ति कसैप्रति लक्षित, कतै पूर्वाग्रह वा दासवपूर्ण मानसिकताबाट नभई आपसी मुठभेड नगर्न वा हुन नदिन, कुनै हिंसात्मक गतिविधि हुनबाट जोगाउन र शान्तिपूर्ण विधि र प्रक्रियाबाटै राजनीतिक गतिविधि गर्ने अभिव्यक्तिलाई पछिल्लो समय विभिन्न माध्यमहरुद्वारा कसैकसैले पूर्वाग्रहपूर्ण ढंगले आ-आफ्नो तरिकाले अपव्याख्या गरेकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।’
रौतहट जिल्ला सदरमुकाममा बुधबार मन्त्री यादवले सार्वजनिक कार्यक्रममै जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको ज्यान लिने धम्की दिएपछि उनको चर्को आलोचनासँगै राजीनामा माग गरिएको छ। डा. सीके राउतलाई घेराबन्दी गरी हत्या गर्न कार्यकर्तालाई उक्साएकी थिइन्। निकै आक्रोशित शैलीमा प्रस्तुत उनले गौर हत्या फोरमकै नेतृत्वमा भएको स्वीकार गरेकी थिइन्।
जनता समाजवादी पार्टी (जसपा)ले पनि विवादमा तानिएकी भौतिक पूर्वाधार तथा यातायातमन्त्री यादवको बचाउ गरेको छ। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भौतिक पूर्वाधार तथा यातायातमन्त्री यादवलाई पदमुक्त गर्नुपर्ने बताएका छन्। हिंसा भड्काउने अभिव्यक्ति दिएकाले पदिय मर्यादा विपरीत अभिव्यक्ति ठहर गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई पदमुक्त गर्नुपर्ने वा यादवले राजीनामा दिनुपर्ने सुझाव दिएका थिए।
यसले कानुनी राज्यको उपहास गरेको, हत्या–हिंसालाई प्रश्रय दिएको, शान्ति प्रक्रियामा गइसकेको शक्तिलाई बिथोलेर समाजमा अशान्ति ल्याउने वातावरण निम्त्याएको भन्दै विभिन्न राजनीतिक दलका नेताहरूले पनि मन्त्री यादवको भनाइमा घोर आपत्ति जनाएका छन्।
२०६३ साल चैत्र ७ गते रौतहटको गौरस्थित राइस मिलमा मधेसी जनअधिकार फोरम र तत्कालीन नेकपा माओवादी एउटै स्थानमा छुट्टाछुट्टै मार्च बनाएर सभा गर्न लाग्दा दुई पक्षमा झडप भएको थियो। उक्त झडपमा २७ माओवादी कार्यकर्ताको घटनास्थलमै र एकजनाको उपचारका क्रममा मृत्यु भएको थियो।
प्रतिक्रिया दिनुहोस !