आधा वर्षमा चार अर्ब राजश्व संकलन : कोरोनाले रसुवागढी नाका प्रभावित
नुवाकोट : नेपाल–चीन प्रवेशका लागि छोटो दुरीको रसुवागढी नाका दुई वर्षदेखि कोरोनाका कारण ठप्प रहेको छ। रसुवागढी नाका ठप्प रहे पनि भन्सारको राजश्व संकलन भइरहेको छ।
काठमाडौंदेखि एकसय ५२ मिलोटिर उत्तरमा रहेको भोटेकोशी नदी किनारामा रसुवागढी नाका रहेको छ। कोरोनाका कारण दुई वर्षदेखि सो नाका प्रभावित भइरहेको छ।
नाकाबन्द रहे पनि रसुवा भन्सार कार्यालय टिमुरेले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा चार अर्व राजश्व संकलन गरेको छ। गत साउनदेखि पुस मसान्तसम्म कुल चार अर्ब ३४ करोड १३ हजार राजस्व संकलन गरेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ।
रसुवागढीवाट नेपालतर्फ तयारी पोशाक, साना–ठूला सबै प्रकारका सवारीसाधन, निर्माणाधीन हाइड्रोपावरका उपकरणहरु, स्याउ, ओखर, जुत्ता, चप्पल, खेलौनाहरु, रोल कपडा, विद्युतीय सामग्रीलगायतका विविध सामग्री आयात भइरहेको रसुवा भन्सार कार्यालयले जनाएको छ । नेपालबाट चीनतर्फ निर्यात भने ठप्प रहेको छ।
विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरसको संक्रमणका कारण रसुवागढीवाट चीनसँगको अन्तर्राष्ट्रिय व्यापार प्रभावित भएको दुई वर्ष भएको छ । यसको असर स्वरूप रसुवा भन्सार कार्यालयले गत वर्ष वार्षिक लक्ष्यको आधा पनि राजस्व संकलन गर्न सकेको थिएन ।
रसुवा भन्सारले यस वर्ष वार्षिक लक्ष्यको ६३ प्रतिशतभन्दा बढी राजस्व संकलन गरेको हो । कार्यालयले चालू आर्थिक वर्ष २०७८/०७९ मा राखेको लक्ष्यको ६३ दशमलव ७१ प्रतिशत बढी राजस्व संकलन गरेको छ।
कार्यालयले चालू आर्थिक वर्षमा कुल ६ अर्ब ८१ करोड २१ लाख ९८ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । वर्षको ६ महिना पूरा हुँदा वार्षिक लक्ष्यको चार अर्ब ३४ करोड १३ हजार राजस्व संकलन गरेको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख रामप्रसाद मैनालीको भनाइ छ।
उनका अनुसार गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालु आर्थिक वर्षमा दुई गुणाभन्दा बढी राजस्व संकलन भएको छ । साउनदेखि पुस मसान्तसम्म रसुवागढी नाकाबाट आयात भएका चिनियाँ सामग्रीको भन्सार मूल्याङ्कनबाट प्राप्त असुल गरिएको हो ।
रसुवागढीको दुई आर्थिक वर्षको राजस्व असुली तुलनात्मक रूपमा हेर्दा चालु वर्ष झन्डै साढे दुई गुणाले बढेको जनाइएको छ । गत वर्ष यसै अवधिमा एक अर्ब ७२ करोड २४ लाख दुई हजार रुपैयाँ मात्र राजश्व असुली भएको थियो ।
रसुवा भन्सार कार्यालयले निकासी, पैठारी, महसुल, सेवा शुल्क, कृषि सुधार, अन्तःशुल्क भ्याटलगायतका शुल्कबापत भन्सार असुली गर्ने गर्दछ । कोरोना संक्रमण सुरु भएयता चीनले कोटा प्रणालीमा सामान ल्याइरहेको छ ।
गत २०७६ माघ १५ देखि २०७७ जेठ २२ गतेसम्म नाका बन्द भएको थियो। त्यसपछि चीनले रसुवागढी नाका एकतर्फी सञ्चालन गरेको हो ।
चीनले रसुवागढी नाकालाई गत सन् २०१७ को सेप्टेम्वर १ तापिरखदेखि अन्तरराष्ट्रिय नाकाको मान्यता दिंदै आएको छ। हाल चीनले आफ्नै गाडीमा नेपालतर्फको भूभागमा सामान ल्याइदिने गरेको छ । हाल रसुवागढी नाकाबाट चिनियाँ पक्षबाट नौवटा कन्टेनरमा सामान आयात भइरहेको छ । नेपालका व्यापारीहरुले पालो कुरेर ती सामान आयात गर्ने गरेका छन्।