चिसोले पाल्पामा एक बटुवाको मृत्यु
तानसेन: अत्यधिक चिसोको कारण सदरमुकाम तानसेनमा एक बटुवाको मृत्यु भएको छ। सदरमुकाम तानसेनमा मागेर जीवनयापन गर्दै आएका छत्रदेव गाउँपालिका-४, अर्घाखाचीका ५२ वर्षीय गणेश परियारको मृत्यु भएको हो।
सदरमुकाम तानसेनको बसपार्कमा बेहोस अवस्थामा भेटिएका परियारको प्रहरीले उद्धार गरी पाल्पा अस्पतालमा पुर्याएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। परियारलाई शनिबार बिहान स्थानीयबासीले भित्तामा आड लगाइ घोप्टो परेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। मृतक परियारको चिसोका कारण मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैयाले बताए। अर्घाखाचीमा रहेका मृतक परियारका आफन्तलाई खबर गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
पाल्पा आसपासका स्थानमा शुक्रबार साझ हिउँ परेको कारण सदरमुकाम तानसेन अत्यधिक चिसो बढेकाले सोही कारण मृत्यु भएको स्थानीयबासीले बताएका छन्। मृतक परियार लामो समयदेखि तानसेनमा मागेर सडक पेटीमा बस्दै आएका थिए।
प्रतिक्रिया दिनुहोस !