विद्यालयको आयश्रोत जुटाउन सामूहिक व्रतवन्ध
देवीघाट : नुवाकोटको देवीघाटमा रहेको शहिद जगत प्रकाशजंग शाह संस्कृत माविको आयश्रोत जुटाउने उद्देश्यले आइतबार सयौं वटुकहरुको सामूहिक व्रतवन्ध गरिएको छ। विद्यालयको आयोजनामा विदुर नगरपालिका वडा नं ५ देवीघाटस्थित शिवधाममा आदीवासी जनजातीलगायत सबै समुदायका वटुकहरुको सामुहिक व्रतवन्ध गरिएको हो।
नेपाली संस्कार अनुसार वटुकहरुको व्रतवन्ध बालक अवस्थामै गर्नु पर्ने भन्ने जनविस्वास छ। देवीघाटमा विद्यालयको आयस्तर वृद्धि गरि विद्यार्थीहरुलाई गुणात्मक शिक्षा प्रदान गर्ने उद्देश्यले सो विद्यालयले विगत २२ वर्षदेखि वटुकहरुको सामुहिक व्रतवन्ध गराउँदै आएको छ।
शिवधाम परिसरमा मुख्य पुरोहित हरिप्रसाद सापकोटाले एकै दिन एकसय १४ जना वटुकहरुलाई सामुहिक रुपमा मन्त्रदान गराएका हुन्। विद्यालयले व्रतवन्ध गरेवापत आयश्रोतका लागि एक जना वटुकको विद्यालयले पांच हजार रुपैयाँ शुल्क लिएको छ।
सो खर्चले विद्यालयमा आयश्रोत संकलन गरी विद्यालयको शिक्षा तथा व्यवस्थापनका लागि खर्च गरिने विद्यालयका प्रधानाध्यापक मन्जु चित्रकारले जानकारी दिइन्। उनका अनुसार सामूहिक व्रतवन्धमा नुवाकोट, रसुवा, धादिङका साथै दशेका अन्य स्थानका व्राम्हण, क्षेत्री, नेवार समुदायका वटुकहरुको व्रतवन्ध गरिएको हो।
यस वर्ष सामूहिक व्रतवन्धमा ६ देखि २३ वर्ष उमेर समूहका वटुकहरुको सामूहिक व्रतवन्ध गरिएको छ। सो विद्यालयले गत २०५५ सालदेखि प्रत्येक वर्षको श्रीञ्चमीका दिन देवीघाटमा वटुकहरुको सामूहिक रुपमा वटुकहरुको व्रतवन्ध गराउँदै आएको छ। वर्षेनी वटुकहरुको सामूहिक व्रतवन्ध गर्ने आकर्षण बढ्दै गएको छ। २० वर्षको अवधिमा हालसम्म दुई हजार ६ सय वटुकहरुको सामूहिक व्रतवन्ध गरिसकिएको विद्यालयले जनाएको छ।
नुवाकोटकै एक मात्र संस्कृत विद्यालयको रुपमा रहेको सो विद्यालयले आफ्नो आर्थिक श्रोत वृद्धि, शिक्षक तथा कर्मचारीको तलव तथा सस्कृतिको रक्षाको लागि हरेक वर्ष श्रीपञ्चमीको अबसरमा सामूहिक ब्रतबन्ध सञ्चालन गर्दै आएको विद्यालयका अध्यक्ष मानवहादुर डंगोलले बताए । सो विद्यालयमा हाल चारसय ५४ जना विद्यार्थी अध्ययनरत छन्। सो विद्यालयले टाढाका विद्यार्थीहरुलाई होस्टेलसमेत सन्चालन गरेको छ।