पशुधन बिमा प्रभावकारी
नुवाकोट : पशुपालनप्रति नुवाकोटमा किसानहरुको सक्रियता बढ्दै गएको छ। स्थानीय सरकारले समेत पशुपालनमा सहुलियत प्रदान गरेपछि १२ स्थानीय तह रहेको पहाडी नुवाकोटका किसानहरू बिमा कार्यक्रममा सहभागी हुन थालेका हुन्।
नुवाकोटका स्थानीय तहहरूले किसानको न्यूनतम लागतमा सञ्चालन गर्दै आएको पशुधन बिमा कार्यक्रम प्रभावकारी भएको हो। व्यवसायिक रुपमा पशु फार्म सञ्चालन गरेका किसानहरूले पशुको मुल्याङ्कन गरि बिमा गर्दै आएका छन्।
नुवाकोटका स्थानीय तहमध्ये नुवाकोटमा सबैभन्दा पहिले विदुर नगरपालिकाले पशु बिमा कार्यक्रमको लागि ५० प्रतिशत बिमाङ्क रकम तिर्दै आएको छ। नेपाल सरकारले जम्मा बिमाङ्कको ५० प्रतिशत र बाँकि रकमको पनि बिदुर नगरपालिकाले ५० प्रतिशत बिमाङ्क रकम तिरिदिएपछि पशु बिमा कार्यक्रममा किसानहरू आकर्षित भएका छन्।
पशुपालन गर्दा कतिपय अवस्थामा बस्तुले हानेर फार्म सञ्चालकको मृत्यु हुने गरेकोले किसानको समेत बिमा गरिएको छ। पहिले बिमा कार्यक्रम लागू भएपनि जानकारी कम हुँदा किसानहरू सहभागी नभएपछि ५० प्रतिशत बिमाङ्क रकम नगरपालिकाले तिरेपछि किसानहरूको आकर्षण बढेको हो।
नुवाकोटमा विदुर नगरपालिका, तादी गाँउपालिका, पञ्चकन्या गाँउपालिका, शिबपुरी गाँउपालिका लगायतले पशुधन बिमा कार्यक्रम नीतिगत ब्यबस्था गरेर कार्यान्वयन गर्दै आएको छ। बिबिध कारणले पशु र पशुको माध्यमबाट हुने क्षतीको निबारण तथा भरणपोषणको लागि पशु बिमा कार्यक्रम सञ्चालन गरेको हो।
विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले पशु बिमा कार्यक्रम लागू भएपछि किसानहरू पशु पालनमा समेत आकर्षित हुने क्रम बढेको बताए। कृषि र पशु ब्यबसायमा संलग्नलाई राहतको प्याकेज स्वरुप बिमा कार्यक्रम सञ्चालन गरेको मेयर पण्डितले बताए।
उनका अनुसार केन्द्र सरकारले नै पशु बिमा कार्यक्रमले ५० प्रतिशत बिमाङ्क रकम उपलब्ध गराउँदै आएको छ। यसरी पशुधन बिमा गराउँदा कुनै कारणले पशुको मृत्यु भएमा ९० प्रतिशतसम्म किसानले क्षतिपूर्ति पाउने भएकोले ठूलो क्षति हुनबाट जोगाउन सकिने हुँदा पशुधन बिमालाई प्राथामिकतामा राखिएको विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले बताएका छन्।
नुवाकोट मासु, अण्डा र दूधमा जिल्लालाई आत्मनिर्भर भई बाह्य जिल्लामा निर्यात समेत गर्न थालिसकेको छ। दूध उत्पादनमा वृद्धि गर्ने उद्देश्यले उत्पादनमा आधारित अनुदान कार्यक्रम अन्तर्गत किसानलाई प्रतिलिटर दूधमा बिक्रिमा अनुदानको समेत ब्यबस्था मिलाएको छ।
दूध बिक्रीमा अनुदानको ब्यबस्था भएसँगै पशु पालन र दुध उत्पादनमा समेत बृद्धि हुँदै गएको छ। नुवाकोटमा दुग्ध उत्पादक किसानहरु वढिरहेका छन्।