सप्तरीमा पहिलो मिस्टर एण्ड मिस कलेज आइकन
राजविराज : सप्तरीमा पहिलो पल्ट उच्च माविमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरेर मिस्टर एण्ड मिस सप्तरी कलेज आइकन हुने भएको छ । लायन्स क्लब अफ राजविराज सिटीको आयोजना र रक्षा मिडिया हाउस प्रालि काठमाडौंको व्यवस्थापनमा आगामी शनिबार हुने कलेज आइकनको अन्तिम तयारीअन्तर्गत प्रि-जजिङ सम्पन्न भएको छ ।
सहभागीहरूको वाककला र व्यक्तित्व आदिका आधारमा राजविराजमा भएको अन्तर्वार्ता र प्रश्नोत्तरको माध्यमबाट निर्णायकहरूले फाइनल चरणको लागि १७ जनालाई छनोट गरेको आयोजकले जनाएको छ । किशोर किशोरीहरूको क्षमता विकास र अभिवृद्धिका लागि हुन गइरहेको कलेज आइकनको प्रि-जजिङ्गका क्रममा राजविराज लिटिल आइकन २०२१ का बिजेता आयुषी मिश्र र उपविजेता मानसी पोखरेलको समेत उपस्थिती रहेको थियो ।
पूर्वाञ्चल तथा काठमाडौंबाट आउने प्रतिष्ठित व्यक्तित्वहरूले ग्राण्ड फिनालेबाट मिस्टर एण्ड मिस सप्तरी कलेज आइकन २०२२ छनोट गर्ने आयोजकले जनाएको छ । फाइनलका लागि राजविराजस्थित शिवशंकर सिनेमा हलमा भव्य तयारी भइरहेको लायन्स कल्ब अफ राजविराज सिटीले जनाएको छ ।
व्यवस्थापक रक्षा मिडिया हाउस प्रालिका प्रबन्ध निर्देशक भुवन राउतले सप्तरीको विभिन्न पालिकाका सहभागीहरूलाई एक महिनासम्म कोरियोग्राफर, फोटोग्राफर र विभिन्न क्षेत्रका विज्ञ प्रशिक्षकहरूबाट तालिम दिइएको जानकारी दिए । सामाजिक रहनसहन, नैतिक जिम्मेवारी, वाककला, सामाजिक उत्तरदायित्व, जीवनशैली, कलासंस्कृति, बोलीचाली, मानव अधिकार, ट्राफिक नियम, मनोवृति, क्याटवाक, व्यक्तित्व विकासका विषयमा विशेषज्ञबाट सहभागीहरूलाई प्रशिक्षित गराइएको राउतले बताए ।
कलेज आइकनका विजेताहरूलाई भव्य समारोहबीच ताजसहित क्राउन, प्रमाणपत्र र उपहारसहित मिस्टर एण्ड मिस सप्तरी कलेज आइकन घोषणा गरिनेछ । विजेताहरूलाई अभिभावकको मञ्जुरी भएमा म्युजिक भिडिओका लागि समेत मौका दिने राउतले जनाए ।
देशका विभिन्न शहरमा प्रतिभामूलक आइकन प्रतियोगिताको व्यवस्थापन र निर्देशन गरिसकेका राउतले यसअघि राजविराज जेसीजको आयोजनामा पहिलो पटक राजविराज लिटिल आइकन २०२१ सफलतापूर्वक गरेका थिए ।