शैशवकालका पीडा

शैशवकालका पीडा

आमाले मेरो ठूलो छोरा सानो हुँदा सधैं भन्नुहुन्थ्यो, ‘आमाले छोराछोरीलाई सकेसम्म सबै थोक गर्छन्। खुवाउँछन्। सफा राख्छन्। चिसो–तातोको ख्याल गर्छन् तर पानी खुवाउन भुल्छन्। त्यसैले आफूलाई जति पटक तिर्खा लाग्छ। जति पटक पानी पिउँछौं त्यति नै पटक उनीहरूलाई पानी पिलाउनुपर्छ।’ आमाले त्यसो भनेपछि झसंग भएँ। किनभने छोरालाई त्यसरी सम्झेर पानी खुवाउन्नथिएँ। नखुवाएको पनि कारण थियो। सुनेकी थिएँ, दूध खाने शिशुले आमाको दूधले नै तिर्खा मेटाउँछन्। दूधमा पानीको मात्रा टन्न हुन्छ। धेरै पानी खुवाउँदा चिसो लाग्छ। यही कुराले कहिल्यै बाबुलाई पानी खुवाउन जरुरी ठानिनँ सायद। यही कुरा आमालाई सुनाउँदा भन्नुभयो, ‘हामीलाई तिर्खा लागेको छ भने दूध खाएर तिर्खा मेटिन्छ र ? उहाँको यो कुरा एकदमै सही लाग्यो।’

पहिलो पटक आमा भएकी म के नै पो जान्दथें र ? बाबु रुँदा पनि झर्को लाग्थ्यो। तिर्खाले रोएको पनि थाहा पाउँदिनँ रहेछु। पेटभरि खुवाएकै छु, सफा राखेकै छु किन रुनु ? यस्तै लाग्थ्यो। उनीहरूका भित्री पीडा बुझ्न सकिन्न रहेछ। आमाको भनाइअनुसार पानी खुवाउन थालेपछि झगडा कम हुन थाल्यो। शिशुले झगडा गर्नु यत्तिकै गर्दैनन् भन्ने बुझें। त्यसपछि अनगिन्ती पीडा अनुभव गरें। कसले भन्छ, मान्छे बुझ्न थालेपछि मात्र दुःखी हुन्छ ? पीडामा पर्छ भनेर ? मनुष्यले जन्मसँगै पीडा बोकेर आउँछ, उमेरअनुसारका पीडा। शैशवकालका दुःख र पीडाहरू झनै व्यक्त गर्न नसकिने हुँदा रहेछन्। आफूले पाएका पीडाहरू अरूलाई बताउन नसक्दा झन् कस्तो हुँदो हो ? बुझ्न भने सक्दैनौं। आफ्ना कुरा अरूले नबुझ्दा र आफूले बुझाउन नसक्दाको पीडा कल्पना गरौं त !

सहरमा हुर्किने शिशुहरू कोठाभित्र कुण्ठित हुन पुग्छन्। उनीहरूका लागि पर्याप्त ठाउँ हुँदैन घिस्रनका लागिसमेत। उता गाउँघरको अवस्था झनै दयनीय छ। दिनभरि कोक्रोमा कोचिन बाध्य हुन्छन्। या त खुट्टामा बाँधिएर शिशुहरूलाई राखिएको हुन्छ। यो आमाबाबुको बाध्यता हो। काम नगरौं भएन। शिशुलाई यसै छोडिदिउँ भने लडेर चोटपटक लाग्ने डर। अथवा दुर्घटना नै होला भन्ने डर। सहरको कोठामा थुनिएको बच्चा पूरै स्फूर्तिका साथ कुदेर पल्लो छेउ पुग्न खोज्दा बाटैमा टेबल–कुर्सीसँग ड्वाङ्ङ ठोकिन पुग्छन्। गाउँमा शिशु उडेको पुतली समाउन खोज्छ। खुट्टामा बाँधेको डोरीले घाइते बनाउँछ। यहीँबाट सुरु हुन्छ, शिशुहरूको स्वतन्त्र क्रियाकलापमा वयस्कहरूको हस्तक्षेप।

वयस्कबाट परिचालित हुनुपर्दाको शिशुहरूको मनोदशा कसले बुझ्ने ? आफूमाथि भएको अन्याय बोलेर व्यक्त गर्न नसक्दाको पीडाको बयान कसले गर्दिने ? दुई वर्ष पुग्न नपाउँदै उनीहरूलाई मन्टेश्वरी पुर्‍याइन्छ। धेरै ठाउँमा सुनेकी छु, ‘दुई वर्ष पुगिसक्यो ? अब मन्टेश्वरी हाल्दिने बेला भएछ। अँ, अब स्कुल हाल्दिए ढुक्क हुन्छ। घरमा त चकचक गरेर हैरान।’ घरका मानिस राम्रोसँग चिनिसक्न नपाउँदै शिशुको स्कुले यात्रा तय गरिसक्छन् वयस्कले। यो पीडा उसले कसरी व्यक्त गर्ला ? के विरोध गर्न सक्ने उसको हिम्मत र सुझबुझ हुन्छ ?

मन्टेश्वरीको यात्रा त शिशुले थाहा नपाउँदै सकिन्छ। अब स्कुल पनि वयस्कले छान्न थाल्छन्। सबैभन्दा नाम चलेको र महँगो स्कुल कुन ? घर छेउमा भएको स्कुलमा शिशुलाई सहज हुन्छ भन्ने वयस्कले सोच्दैनन्। वयस्कको धाक र रवाफका अगाडि घुँडा टेक्छन् शिशु। स्कुल सुरु हुनुभन्दा दुई घण्टा अगाडि नै तयार हुनुपर्छ शिशुले। धेरैको घरमा देखेकी छु राम्रोसँग निद्रा पुग्न नपाउँदै तानेर बाथरुम पुर्‍याएको। आँखा झुपुझुपु गर्दै खाना खुवाइएको र हाइहाइ गर्दै बसमा चढाइएका बालबालिका देखेकी छु।

यो सन्दर्भ लेखिरहँदा अर्को कुरा झट्ट आयो। एकजना साथीले छोरालाई घरनजिकैको स्कुलमा राखे। उनका छोरा पढ्नमा एकदमै तगडा थिए। स्कुलमा जहिलै पहिलो हुन्थे। स्कुल घर छेउमै भएकाले १० बजे पुग्दा पनि हुने। निद्रा मज्जाले पुर्‍याएर उठेर, खेलेर र पढेर आरामले खाएर एक्लै स्कुल जान सक्थे ऊ। अचानक त्यो मेरो साथीलाई ठूलो र महँगो स्कुलको भूत चढ्यो। मलाई भने, ‘हेर न, मेरो छोराको यस्तो राम्रो पढाइ छ। ठूलो स्कुलमा हाल्दिन पर्‍यो।’ मैले पर्दैन भनें। छोरो पनि भन्दै थिए, ‘मेरा कति धेरै साथी छन्। म त्यति टाढा जाँदिनँ, घर नजिकैको यही स्कुल पढ्छु।’ तर त्यो मेरो साथीले कसैका कुरा सुनेनन्। उनले अर्कै विद्यालयमा भर्ना गरिदिए। एउटा बालकले बोलेर स्पष्ट कुरो राख्दा र असहमति जनाउँदा जनाउँदै पनि एउटा वयस्कको धाक र रवाफको सिकार हुनै पर्‍यो। परिणाम अहिले उनको बच्चाको पढाइ निक्कै खस्किएको छ। बाटोमा नै चार घण्टा समय यसै बितिसकेको हुन्छ। बा(लबालिका केमा खुसी छन् ? त्यो बुझ्नुपर्छ।

परिवारले र परिवारलाई दिने समयले पनि निकै ठूलो भूमिका खेलिरहेको हुन्छ। परिवारको वातावरण यी सबै कुरामा निकै महत्वपूर्ण छ। बिहानको ८ बजे स्कुलको यात्रा सुरु भइसक्छ। घर आइपुग्दा साँझ परिसकेको हुन्छ। लखतरान भएर आइपुगेको बालबालिकाले घरपरिवारसँग बिताउने समय बाटोमै काटिसकेको हुन्छ। गृहकार्य गर्ने समय खै ? अभिभावकसँग खेल्ने समय खै ? प्रशस्त उदाहरणहरू समाजमा देखिन्छन्। वयस्कसँग बालबालिकाले नचाहँदा नचाहँदै घुँडा टेकिरहनु परेको हुन्छ। सबैभन्दा कठिन मानिने शैशवकाल अव्यक्त समय पनि हो। मस्तिष्कको विकास हुने समय। कल्पनाशीलताले भरिएको जिज्ञासु समय हो यो। जुन समयमा बालबालिकालाई सके जति समय दिऊँ। आफूबाट टाढा राख्ने कोसिस नगरौं। उनीहरूका पीडा र समस्याहरूलाई बुझ्ने कोसिस गरौं। उनीहरूका कुरा सुनौं।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.