भीडमा कसरी अपनाउने सावधानी ?
काठमाडौं : अमेरिकी सहयोग (मिलेनियम च्यालेन्ज कर्पोरेसन)को सम्झौताविरुद्ध आन्दोलनरत समूहको मनोविज्ञानले जानकी श्रेष्ठको चैन खोसेको छ। न रातमा निद्रा छ, न दिनको भोक। निरीह अवस्थाका ६ जना प्रहरी दौडदै बुद्धनगरस्थित उनको बुटिकभित्र पसे। पच्छ्याइरहेका आन्दोलनकारी समूहले बाहिरबाटै इँटा ढुंगा प्रहार गरे। बुटिक तोडफोेडको घटनापछि उनको रोजीरोटी खोसिएको छ। गृहमन्त्री बालकृष्ण खाँणले फोनमा सम्झाए पनि उनी त्रसित छिन्। भन्छिन्, ‘मनमा कुरा खेलिरहन्छ। निदाउन पनि धौ–धौ हुन्छ। टर्चर भइरहेको छ।’
एमसीसी सम्झौताबारे कुनै जानकारी नै नभएकालाई अनपेक्षित क्षति भोग्नुपर्दा सकस र मानसिक असर पुग्ने बताउँछिन्, मनोविद् करुणा कुँवर। ‘आफूसँग असम्बन्धित विषयमा क्षति भोग्नुपर्ने वा चोट सहनुपर्दा पीडा महसुस हुन्छ। सडक वरपरका पसल सञ्चालक एवं बासिन्दामा आर्थिक क्षति सहनुपर्दा मानसिक असर पर्छ,’ उनले भनिन्।
आइतबार प्रहरीबाट कटबाँसको कुटाइ खाएका आन्दोलनकारी पनि थला परेका छन्। कतिपय स्थानमा एकै व्यक्तिमाथि आधा दर्जनभन्दा बढी प्रहरीले कटबाँसको लठ्ठीले हानेको देखिन्थ्यो। भीडको मनोविज्ञान आक्रामक हुने भएकाले सबै सतर्क हुनुपर्ने सुरक्षा विज्ञको सुझाव छ।
वरिष्ठ मनोचिकित्सक डा. कपिलदेव उपाध्यायका अनुसार कुनै विषयवस्तुविरुद्ध आन्दोलनमा उत्रेको भीडको मनोविज्ञान खतरनाक हुन्छ। ‘व्यक्ति–व्यक्तिबीचको आफ्नो नैसर्गिक मनोविज्ञान समूहमा सहभागी भएपछि फरक हुन्छ,’ डा. उपाध्याय भन्छन्, ‘सामान्य मनोविज्ञान (साइकोलोजी) भन्दा भिन्न देखिन्छ। उक्साउने व्यक्तिको निर्देशनअनुरूप गाली गर्ने, कुटपिट गर्ने वा ढुंगा प्रहार गर्नेतिर उद्धत हुन्छन्।’ एमसीसीविरुद्ध उत्रेको भीडले आइतबार युवाहरूलाई उत्प्रेरित गर्दै सुरक्षाकर्मीमाथि ढुंगा प्रहार गरेका थिए।
आन्दोलनकारीले प्रहरीमाथि गरेको प्रहारले बदलावको भावना सिर्जना हुने मनोचिकित्सकहरू बताउँछन्। ‘कुन व्यक्तिले प्रहार गरेको थाहा हुँदैन। बदलाको भावना राखेर प्रहरीले पनि नजिकमा जो भेटायो त्यसैलाई प्रहार गर्छन्,’ डा. उपाध्यायले भने। 
मनोविद् कुँवरको तर्क पनि उस्तै छ। ‘भीडमा जाने व्यक्तिले कहाँ जाँदैछु। किन जाँदैछु भन्ने कुराको बुझाइ राख्नुपर्छ। भीडमा जाँदा हुने मुठभेडमा पर्न सकिन्छ भन्ने बुझाइ हुनुपर्छ,’ भन्छिन्, ‘भीडले बटुवा मात्र होइन प्रदर्शनस्थल वरपरका घरमाथि पनि क्षति पुग्न सक्छ। ‘सर्वसाधारण व्यक्ति भीडको वरपर दौडनु हुँदैन। घरलाई क्षति पुग्ने भएकाले त्यसमा घरधनीले सावधानी अपनाउनुपर्छ।’
भीडको व्यवहार र विचार प्रक्रियाहरूसँग सम्बन्धित रहेर प्रहरी परिचालन हुनुपर्ने सुरक्षा विज्ञको भनाइ छ। नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्लका अनुसार सरकारको मुडमा भरपर्ने बताउँछन्। ‘भीड नियन्त्रणमा खटाइएको कमान्डरको मुडमा पनि धेरै प्रभाव पर्छ। सकेसम्म कम क्षति होस् भन्नेतर्फ ध्यान दिनुपर्छ। धेरै क्षति नहुने साधनको प्रयोग गरेर भीड नियन्त्रण गर्नुपर्छ,’ उनले भने।
प्रहरीले एमसीसीविरुद्ध आन्दोलनरत पक्षलाई पानीको फोेहोरा वा अश्रुग्यास प्रहार गर्दै आएका छन्। पूर्वडीआईजी मल्लका अनुसार खटिएका प्रहरीलाई दिइने लठ्ठीमा पनि ध्यान दिनुपर्ने बताउँछन्। ‘आफूसँग भएको साधनस्रोतको कमी भएको अवस्थामा प्रहरीले क्षति पुर्याउन सक्ने हतियारको प्रयोग गर्ने सम्भावना हुन्छ,’ उनले भने।
सत्तारुढ दलका भ्रातृ संगठनले आन्दोलन गरिरहेका बेला प्रहरीले भीड नियन्त्रणका क्रममा जीउ–ज्यानसहित करिअर दाउमा रहेको महसुस गरिरहेको हुन्छ। ‘प्रहरीलाई पनि कारबाही, कालोसूचीमा पर्ने डर हुन्छ। सरकारले भीडको मनोविज्ञानलाई फेभर गर्ने गरी निर्णय गर्न सक्ने पनि हुन्छ,’ पूर्वडीआईजी मल्ल भन्छन्, ‘तालिमप्राप्त प्रहरीलाई भीड नियन्त्रणमा खटाउनुपर्छ। टियर ग्यासको प्रयोग जथाभावी गर्नुहुँदैन।’
प्रतिक्रिया दिनुहोस !