बारा सभापतिलाई कांग्रेसले गर्यो निलम्बन, तीन सांसदलाई पदीय जिम्मेवारी पालना गर्न निर्देशन
काठमाडौं : नेपाली कांग्रेसले पार्टीका बारा जिल्ला सभापति राजेश राय यादवलाई निलम्बन गर्ने निर्णय गरेको छ।
पार्टी कार्यालय सानेपामा बिहीबार बसेको कांग्रेस अनुशासन समितिको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई निर्वाचनमा हराउन लागेको भन्ने उजुरीका आधारमा स्पष्टीकरण माग गर्दा कुनै जवाफ नदिएको भन्दै अनुशासन उल्लघंन गरेको कसुरमा अन्तिम निर्णय नहुन्जेल सम्मका लागि कामकाज गर्न नपाउने गरी निलम्बन गर्ने निर्णय गरेको हो।
बैठकले प्रतिनिधि सभा सदस्यको निर्वाचनमा पार्टीको उम्मेदवारलाई असहयोग गरेको उजुरी सम्बन्धमा छानबिनपश्चात सर्लाहीका प्रदेशसभा सदस्यहरू सकुन्तीदेवी महरा, कौशल किशोर राय र जंगीलाल रायलाई आगामी दिनमा गुनासो नआउने गरी सजगताका साथ पार्टीको विधान, नियमावलीप्रति पूर्ण प्रतिबद्ध रही दत्तचित्तका साथ पदीय जिम्मेवारी अनुरुप कार्य गर्न निर्देशन दिएको छ।
त्यस्तै बैठकले बारा जिल्ला कार्यसमितिका उपसभापति अमिरीलाल राउत (पाल) का उपर परेको उजुरीको सम्बन्धमा स्पष्टिकर सोध्दा सन्तोषजनक जवाफ आएकाले थप कारबाही गर्नुपर्ने अवस्था नदेखिएकाले निजमाथि लगाइएको आरोपबाट सफाइ पाउने ठहर गरेको अनुशासन समितिका संयोजक तारामान गुरुङले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !