प्रधानमन्त्री बालेन शाहको राजीनामा माग्दै नेकपाको प्रदर्शन
काठमाडौं : प्रधानमन्त्री बालेन (बालेन्द्र) शाहको राजीनामा माग गर्दै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले काठमाडौंमा प्रदर्शन गरेको छ । सीमाका बिषयमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएको भन्दै नेकपा आवद्ध जनवर्गीय संगठन समन्वय मोर्चाले बिहीबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको हो ।
उनीहरुले प्रधानमन्त्रीले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिनुपर्ने र राष्ट्रघाती अभिव्यक्ति दिने प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने भन्दै नारावाजी गरेका छन्। साथै प्रदर्शनकारीहरुले जनता बालेनको खोजीमा, बालेन मोदीको गोजीमा, झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन, आत्मसमर्पणवादको विरोध गर्रौ, जिम्मेवार बोल, सत्य बोल, राष्ट्रको सम्मान जोगाऊ लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
सो क्रममा नेकपाका नेता राजेन्द्र पाण्डेले सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति अत्यन्त घृणित, गैरजिम्मेवारपूर्ण र राष्ट्रिय अखण्डताकोविरुद्ध भएकाले विरोध गरिएको जानकारी दिए । उनले देशको प्रधानमन्त्रीले यस्तो कुरा बोलिसकेपछि अन्य विकसित मुलकहरूमा संसदबाट बाहिर निस्कने बित्तिकै राजीनामा दिनुपर्ने परिस्थिति हुने भए पनि नेपालमा यसलाई सामान्यकरण गर्न खोजिएको भन्दै आपत्ति जनाए । नेता पाण्डेले यस बिषयमा प्रधानमन्त्रीले बोल्न नहुने कुरा बोलें भनेर माफी माग्नुपर्ने र त्यसो नगरे राजीनामा दिनुपर्ने स्पष्ट पारे ।
प्रतिक्रिया दिनुहोस !