प्रादेशिक अस्पतालमा आईएसओ प्रमाणित प्रयोगशाला
झापा : झापाको भद्रपुर–८ स्थित प्रादेशिक अस्पतालले आफ्नो सेवा विस्तार गरेको छ। अस्पताल प्रशासनले बिरामीको सेवा सुविधालाई मध्यनजर गरी आईएसओ प्रमाणित प्रयोगशाला र चस्मा पसल सञ्चालनमा ल्याएको छ।
अन्तर्राष्ट्रिय गुणस्तर मापदण्डअनुसार सेवा प्रदान गर्ने कोशी प्रदेशकै पहिलो आईएसओ प्रमाणित प्रयोगशाला र चस्मा पसलको एक कार्यक्रमका बीच कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री मानबहादुर लिम्बूले उद्घाटन गरेका हुन्।
उद्घाटनपश्चात् स्वास्थ्यमन्त्री लिम्बूले अस्पतालबाट प्रदान गरिने सेवाहरूको निरीक्षणसमेत गरेका थिए। निरीक्षणपश्चात् स्वास्थ्यमन्त्री लिम्बूले अस्पतालमा राजनीति गर्नु भन्दा पनि एउटा नेपाली नागरिकको नाताले एकजुट भएर अघि बढेमा मात्र बिरामीले गुणस्तरीय सेवा पाउने बताएका छन्।
अस्पतालमा देखिएका समस्याहरू हाम्रा सामूहिक समस्याहरू भएको बताउँदै उनले भने, ‘यस क्षेत्रका मानिसको स्वास्थ्यसेवा प्रदान गर्ने यो संस्थाप्रति हामी सबै जिम्मेवार हुनुपर्छ।’
त्यस्तै, अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सञ्जय गुप्ताले नयाँ भवनबाट अस्पताल सञ्चालनमा ल्याए पनि त्यहाँ देखिएका समस्यालगायत जनशक्ति र स्वास्थ्य उपकरण अभावको बारेमा जानकारी गराउँदै स्वास्थ्यमन्त्री लिम्बूलाई माग पत्र बुझाएका छन्। त्यसैगरी, भद्रपुर नगरपालिकाका नगरप्रमुख तथा अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिका सदस्य गणेश पोखरेलले मेडिकल कलेज स्थापनाका लागि स्वास्थ्यमन्त्री लिम्बूलाई ध्यानाकर्षण पत्र बुझाएका छन्। नगरपालिकाले कोशी प्रदेश सरकारका स्वास्थ्य मन्त्रालयलाई सम्बोधन गर्दै पठाएको पत्रमा संघीयता कार्यान्वयनपछि प्रदेश सरकारको मातहतमा रहेको अस्पताललाई मेडिकल कलेज स्थापनाका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन आग्रह गरिएको छ।
पत्रमा भद्रपुरस्थित प्रादेशिक अस्पताल कोशी प्रदेशको एक मात्र ठूलो सरकारी अस्पताल भएकाले यसलाई मेडिकल कलेजमा स्तरोन्नति गर्नु प्रदेशको स्वास्थ्य क्षेत्रको विकासका लागि महत्वपूर्ण हुने उल्लेख गरिएको छ।
प्रतिक्रिया दिनुहोस !