आन्तरिक रेमिट्यान्सको सीमा घट्यो
![आन्तरिक रेमिट्यान्सको सीमा घट्यो](https://annapurnapost.prixacdn.net/media/albums/nepal-rastra-bank_20201222012453_clXk8mrFXT.jpg)
काठमाडौं : नेपाल राष्ट्र बैंकले देशभित्रकै एक व्यक्तिबाट अर्को व्यक्तिमा पठाउने रकमको सीमा घटाएको छ। विप्रेषण कम्पनीमार्फत विदेशबाट रेमिट्यान्स भित्र्याउने प्रमुख काम भएको भन्दै आन्तरिक रेमिट्यान्समा कडाइ गरेको हो।
अब देशभित्र एक ठाउँबाट अर्को ठाउँमा रकम पठाउँदा दिनमा अधिकतम २५ हजार रुपैयाँसम्म मात्र कारोबार गर्न पाइनेछ। यसअघि एक लाख रुपैयाँसम्म कारोबार गर्न पाइने व्यवस्था थियो। केन्द्रीय बैंकले विदेशबाट आफन्त (बेनिफिसियरी)लाई पठाएको रेमिट्यान्स नगदमै भुक्तानी गर्न सकिने सीमा भने यथावत् छ।
मुलुकभित्रै बैंकको शाखा विस्तार, क्यूआर कोड, वालेट, खल्तीलगायतका डिजिटल कारोबारबाट रकम स्थानान्तरण गर्न पाउने भएकाले रेमिट्यान्स कम्पनीमार्फत गर्ने कारोबार सीमा घटाएको हो। राष्ट्र बैंक भुक्तानी प्रणाली व्यवस्थापन विभागले बुधबार भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशक २०७८ मा संशोधन गर्दै विप्रेषण कम्पनीहरूको आन्तरिक भुक्तानीको सीमा घटाउन निर्देशन दिएको हो। विप्रेषण कम्पनीको मुख्य काम विदेशी मुद्रा भित्र्याउने र उनीहरूको आफन्तलाई बाँड्ने मात्रै भएकाले देशभित्रको कारोबारमा सीमा घटाएको राष्ट्र बैंक भुक्तानी प्रणाली व्यवस्थापन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल बताउँछन्। ‘हिजो कारोबारका विकल्प थिएनन्।
त्यसैले विप्रेषण कम्पनीमार्फत मुलुकभित्र रकम आदानप्रदान गर्नुपर्ने बाध्यता थियो,’ उनले भने, ‘तर अहिले आम सर्वसाधारणको पहुँचमा बैंक पुगेको छ। क्यूआर कोड, वालेट, कनेक्ट आईपीएस लगायतका डिजिटल भुक्तानीका माध्यमले सहज बनाएको छ।’ भुक्तानीका विविध विकल्प आएकाले देशभित्र पैसा पठाउन विप्रेषण कम्पनीबाट भन्दा अन्यबाट गर्न राष्ट्र बैंकले प्राथमिकता दिएको छ। नेपालमा ५४ वटा विप्रेषण कम्पनी सञ्चालनमा छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)