म्याग्दीमा किशोरी सम्मेलन : बालविवाह न्युनीकरणका लागि ११ बुँदे घोषणपत्र

म्याग्दीमा किशोरी सम्मेलन : बालविवाह न्युनीकरणका लागि ११ बुँदे घोषणपत्र

बेनी : म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा भएको पालिका स्तरीय दोस्रो किशोरी सम्मेलनबाट बालविवाह न्युनीकरणका लागि ११ बुँदे घोषणापत्र जारी भएको छ। 

११२ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मंगलबार भएको बालविवाह नियन्त्रण, बालअधिकार संरक्षण र लैङ्गिक समानता कायम गर्न घोषणापत्र जारी गरेको हो। 

'गर्ल्स फस्ट' फण्डको सहयोग, धवलागिरी गाउँपालिकाको समन्वय र संगम म्याग्दीको आयोजनामा किशोरी सम्मेलन आयोजना गरिएको थियो। 

सम्मेलनले बालविवाह, यौनजन्य हिंसा न्युनीकरण र महिनावारी स्वच्छता कायम गर्ने लगायत किशोरीहरुको शिक्षा, स्वास्थ्य र सुरक्षाका विषयमा घोषणापत्र जारी गरेको संगमका शिक्षा विकास अधिकृत चन्द्रप्रकाश बुढाले बताए। 

धवलागिरी गाउँपालिकाको ताकम, मुना, मुदी र लुलाङको ४ वटा वडाका ११ वटा बिद्यालयमा गठन भएका किशोरी सञ्जालका २८ जना प्रतिनिधीहरुको सहभागिता थियो। 

किशोरीहरुले शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षासँग समस्याको पहिचान गरी समाधानका लागि सरोकारवालाको ध्यानाकर्षण गराउने बिषयमा सम्मेलनमा छलफल गरेका थिए। 

किशोर अवस्थामा विवाह गर्दा हुने असर तथा हानीका बारेमा समुदाय स्तरमा सचेतना फैलाउने,  बिस बर्ष पुगेपछि मात्र विवाह गर्ने, बिस वर्ष भन्दा कम उमेरमा विवाह हुन लागेको सूचना प्रहरी, जनप्रतिनिधिलाई जानकारी गराउने र कानुनी कारबाहीको दायरामा ल्याउन सघाउने घोषणापत्रमा उल्लेख छ। 

सबै विद्यालयमा महिनावारी हुदा प्रयोग गर्ने प्याड बिसर्जनका लागि इन्सिलेटरको ब्यवस्थापन गर्न माग गरेको सम्मेलनमा सहभागिहरुले महिनावारी हुँदा सफला र धोएको प्याड घाममा सुकाएर मात्र प्रयोग गर्ने प्रतिवद्धता जनाएका छन्। 

बीस वर्ष नपुगी विवाह गर्ने जोडीहरुको गाउँ ठाउँमा मिलाउने गलत प्रवृतिको विरोध गर्ने र त्यस्तो हुन लागेको जानकारी पाएमा प्रहरीलाई सूचना दिने घोषणापत्रमा उल्लेख छ। किशोरीमाथि हुने यौनशोषण, हिंसा, बलात्कार अन्त्य, सुरक्षाको ग्यारेन्टी र त्यस्ता घटनामा संलग्नलाई कानुनी कारबाहीको माग गरेका छन्। 

महिनावारीलाई प्राकृतिक प्रक्रियाको रुपमा लिन आग्रह गर्दै त्यो अवस्थामा अँध्यारो कोठामा थुन्ने, घरबाट बाहिर निस्कन नदिने, मिठो मसिनो खान नदिने अन्धविश्वास र रुढिबाढीको भर्त्सना गर्दै महिनावारीको अवस्थामा किशोरीमैत्री वातावरण बनाउन आग्रह गरेका छन्। 

बाच्न, संरक्षण, विकास र सहभागीताको नैसर्गिक अधिकारको सहज रुपमा उपभोग गर्ने वातावरण बनाउन माग गरेका छन्। सम्मेलनमा सहभागीहरुले बालविवाह नियन्त्रणमा समुदायबाट सहयोग नपाएको, सामाजिक हिसाबले दवाव आउने गरेका, महिनावारीको समयमा बिद्यालयमा उचित वातावरण नुहँदा घरमै बस्न बाध्य भएको, यौन दुरब्यवहार भएको, महिला र पुरुषको समान ज्याला कायम नभएको बताएका थिए। 

किशोरी सञ्जाल मार्फत विद्यालय र समुदाय स्तरमा सचेतनामुलक कार्यक्रमका साथै बालविवाह हुन लागेको सूचना जनप्रतिनिधि र प्रहरीलाई गराएको बताएका थिए। सम्मेलनको अवसरमा बालविवाह न्युनीकरणमा योगदान गर्ने एक वटा विद्यालय, एक वटा किशोरी समूह र दुई जना किशोरीलाई पुरस्कृत गरिएको थियो। 

उत्कृष्ट बनेको लमसुङ माविलाई दश हजार मूल्य बराबरको स्पिकर र हेम माविको सक्रीय किशोरी समूहलाई दश हजार नगद प्रदान गरिएको थियो। किसानी मावि धारापानीको सञ्जालकी सचिब देविका बिक र वुद्धिविकास माविको किशोरी सञ्जालकी अध्यक्ष अमृता रसाइलीलाई उत्कृष्ट किशोरीको रुपमा पाँच-पाँच हजार नगद प्रदान गरिएको थियो। 

कार्यक्रममा धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले संबैधानिक अधिकारको प्रयोग गर्न महिलाहरु सक्षम भएर अग्रसर बन्नुपर्ने बताइन्। गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बालविवाह न्युनीकरणका लागि संगमसँग सहकार्य गरेर उमेर सान्दर्भिक विवाहसँग उपाध्यक्ष कार्यक्रम सञ्चालन गरिएको बताए।  

सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले कानुनले अपराध मानेको बालविवाहको एक कारण गलत सांस्कृति भएको बताए। बालविवाहले महिलाहरुको शिक्षा, स्वास्थ्य, सामाजिक लगायत धेरै क्षेत्रमा असर गरेको बताए। 

ताकम प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक यामबहादुर थापाले गरिबी, पारिवारिक समस्या, सामाजिक सञ्जाल र मोवाइलको दुरुपयोग बालविवाहको कारण भएको बताए।   


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.