घरेलु तथा साना उद्योगको दीगो विकासले मात्रै आर्थिक समृद्धि : प्रधानमन्त्री देउवा
वीरगन्ज : प्रधानमन्त्री शेर बहादुर देउवाले घरेलु तथा साना उद्योगहरु मुलुकको मेरुदण्ड भएको बताएका छन्। वीरगन्जमा बिहीबारदेखि सुरु भएको नेपाल घरेलु तथा साना उद्योग महासंघको २५ औ राष्ट्रिय महाधिवेशन तथा २२ औ राष्ट्रिय महिला उद्यमी सम्मेलनको उद्घाटन गर्दै देउवाले घरेलु तथा साना उद्योगहरु मुलुकको मेरुदण्ड भएकाले यो क्षेत्रको दीगो विकासले मात्रै मुलुकको आर्थिक समृद्धि हुन सक्ने बताए।
घरेलु तथा साना उद्योग क्षेत्रको विकास बिना देशमा आर्थिक र समाजिक रुपान्तरण हुन नसक्ने पनि उनले बताए। घरेलु तथा साना उद्योगहरुको विकासका लागि तीन वटै तहका सरकारले समन्वय गरेर काम गर्नुपर्ने आवश्यकता रहेको भन्दै उनले भने,‘यो क्षेत्रको विकास र सहजीकरणका लागि संघ सरकार प्रतिबद्ध छ।
साथै घरेलु तथा साना उद्योग क्षेत्रमा देखिएका समस्या र चुनौती सम्बोधन गर्न सरकार तयार रहेको प्रधानमन्त्री देउवाले बताए। घरेलु तथा साना उद्योगहरुलाइ प्रोत्साहित गर्न सकिए स्वदेशी वस्तुको निर्यात गरेर बढ्दो व्यपारघाटालाइ न्युनिकरण गर्न सकिने पनि उनले बताए।
घरेलु तथा साना उद्योगहरुलाइ प्रोत्साहित गर्न सरकारले विभिन्न सहुलियत र छुटको व्यवस्था पनि गरेको उनले दाबी गरे। प्रधानमन्त्री देउवाले भने,‘अब केही समस्या छन् भने सरकारलाइ सुझाव दिनुस्, आगामी बजेटमा सरकारले त्यसलाई समेटेर सम्बोधन गर्नेछ।
महिला उद्यमशीलताको विकासका लागि सरकार सचेत रहेको बताउँदै देउवाले भने,‘महिलाहरु स्वरोजगार बने भने घरपरिवार मात्रै होइन त्यसले मुलुकको अर्थतन्त्रमा पनि टेवा पुग्छ, सरकार महिला उद्यमशीलता बढाउन हरसम्भव प्रयास गर्न तयार छ। कोभिड महामारीका कारण शिथील भएको अर्थतन्त्रलाई पुन चलायमान बनाउन सरकारले विभिन्न कार्यक्रमण ल्याइरहेको उनले बताए। उनले भने,‘यसका लागि घरेलु तथा साना उद्योग मात्र नभइ समग्र निजी क्षेत्रका लागि सरकारले सहलियत र सुविधा ल्याएको छ, थप अझ सहुलियत र छुट दिने तयारी पनि भइरहेको छ।
उद्घाटन समारोहममा नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय अध्यक्ष श्यामप्रसाद गिरीले स्वदेशी वस्तस उत्पादन गर्ने घरेलु तथा साना उद्योगहरुलाइ सरकारले प्रोत्साहित गर्नु पर्ने भन्दै प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराए। प्रधानमन्त्री देउवालाई आग्रह गर्दै गिरीले भने,‘कमसे कम सरकारले सरकारी निकाय र कार्यालयहरुमा स्वदेशी उत्पादनका वस्तुको खपत गरिनु पर्ने नीति नियम बनाइ दिनुपर्छ, यसले मुलुकको अर्थतन्त्रलाइ मजबुत बनाउछ अनि बढ्दो व्यवपारघाटा पनि कम हुन्छ।
लघु, घरेलु तथा साना उद्योगीहरु नै मुलुकको आर्थिक समृद्धिका लागि परिवर्तनका सम्वाहक रहेको उनले बताए। औंद्योगिकिकरण मार्फत मुलुकलाइ आर्थिक रुपमा समृद्ध र आत्मनिर्भर बनाउन साना उद्यमीहरु कृयाशील रहेको पनि उनले बताए। अध्यक्ष गिरीका अनुसार नेपालमा सन्चालित निजी क्षेत्रको ९८ प्रतिशत हिस्सा लघु, घरेलु तथा साना उद्योग क्षेत्रले अगोटेको छ।
देशभरमा हाल सरकारबाट इजाजत लिएर सन्चालनमा रहेका ४ लाख ८७ हजार ६ सय ४३ वटा लघु , घरेलु तथा साना उद्योगमा ८० हजार १८९ करोड रुपैयाको लगानी छ। यो क्षेत्रमा ३२ लाख ८९ हजार ५ सय १६ जनाले रोजगारी पनि पाएको अध्यक्ष गिरीले बताए। यति धेरै लगानी भएको र रोजगारी दिइरहेको भएपनि लघु, घरेलु तथा साना उद्योग क्षेत्रलाइ प्रोत्साहित गर्ने नीति सरकारले नअपनाएको गुनासो अध्यक्ष गिरीले गरे।
कार्यक्रममा केन्द्रीय महिला उद्यमी समितिकी निवर्तमान अध्यक्ष शीवा उपाध्यायले महिला उद्यमीहरुलाइ प्रोत्साहित गर्न सरकारले ठोस योजना ल्याउन प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराइन्। उनले अझै पनि महिला उद्यमीहरुले बैंक तथा वित्तिय संस्थाबाट सहज र सुलभ व्याजदर ऋण पाउन नसकेको गुनासो गरिन्।
सरकारले पनि महिलाहरुलाइ प्रोत्साहित गर्न नसकेको भन्दै उनले भनिन्,‘यो सम्मेलनले महिला उद्यमीहरुको समस्या र चुनौती बारे छलफल गरेर सरकारलाइ आफनो प्रतिवेदन बुझाउने छ, विश्वास छ सरकारले हाम्रा समस्याहरु सम्बोधन गर्नेछ। देशभरका करिब १२ हजार महिला उद्यमीहरु, केन्द्रीय महिला उद्यमी समितमा आबद्ध रहेको जानकारी पनि उनले दिइन्।
उद्योग गरौं, उद्यमी बनौं, देश विकासमा पाइला पाइला गर्दै अघि सरौं भन्ने नाराका साथ बिहीबार देखि सुरु भएको नेपाल घरेलु तथा साना उद्योग महासंघको २५ औ राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै शुक्रबार सकिने महासंघका महासचिव डम्बर अधिकारीले जानकारी दिए।
महाधिवेशनमा देशभरबाट लघु, घरेलु तथा साना उद्योगी र महिला उद्यमीका करिब ६ सय प्रतिनिधी सहभागी रहेको अधिकारीले बताए। उद्घाटन समारोहमा संघीय सरकारका खानेपानी तथा सरसफाइमन्त्री उमाकान्त चौधरी, प्रदेश सरकारका सिँचाई, खानेपानी तथा उर्जा विकासमन्त्री ओम प्रकाश शर्मा, वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय सरावगी लगायतकाले मन्तव्य राखेका थिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)