सुक्खा क्षेत्रमा लिफ्टिङबाट खानेपानी

सुक्खा क्षेत्रमा लिफ्टिङबाट खानेपानी

सिन्धुली : सुनकोसी गाउँपालिकाको सुक्खा क्षेत्रमा पम्पिङमार्फत खानेपानी पुर्याइने भएको छ। ४८ करोड रुपैयाँ लागतमा बृहत् खानेपानी आयोजना सुरु भएको हो। खानेपानी तथा ढल व्यवस्थापन विभाग र उपभोक्ताले लागत साझोदारी गरेका छन्। खानेपानी तथा ढल व्यवस्थापन विभाग, सुनकोसी गाउँपालिका र उपभोक्ता समितिबीच शुक्रबार त्रिपक्षीय सम्झौता भएसँगै आयोजनाको काम सुरु भएको गाउँपालिका अध्यक्ष दीपा बोहोरा दाहालले बताइन्। 

यसलाई गाउँपालिकाले जिल्लाकै ठूलो गौरबको आयोजनाका रूपमा लिएको छ। सुनकोसी गाउँपालिकाको ५ र ६ नं वडाका २ हजार ७ सय ५४ घरधुरी यो आयोजनाबाट लाभान्वित हुनेछन्। ‘मूलकोटस्थित सुनकोसी नदीबाट लिफ्ट गरी ८ वटा रिजर्भ ट्यांकीबाट पानी गाउँमा चढाइनेछ,’ अध्यक्ष बोहोराले भनिन्, ‘आयोजनाबाट ५ नं वडास्थित नांगेडाँडा, परेवाडाँडा, रामटार, काँसीखर्क, खहरेगाउँ, मूलकोट र ६ नं वडाको गौंखर्क, अमारे, भन्ञ्याङडाँडा, रिठ्ठे, तिनखोप्रे, माथिल्लो चैनपुर, खाल्टेलगायत गाउँका स्थानीय लाभान्वित हुनेछन्।’ बस्तीलाई यसअघि नै अति सुक्खा क्षेत्र घोषणा भइसकेका छन्। 

आयोजनाको कुल लागत ४७ करोड ७९ लाख ६३ हजार ५ सय ७० रुपैयाँ छ। त्यसमध्ये ४३ करोड १ लाख ६७ हजार विभागले र ४ करोड ७७ लाख ९६ हजार रुपैयाँ उपभोक्ताले ब्यहोर्ने छन्। दुई वर्षमा आयोजना सम्पन्न हुने संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख सुधीरकुमार शाहले बताए। 

अघिल्ला दुई वर्षमा १३ करोड रुपैयाँ बराबरको काम उपभोक्ता समितिमार्फत गरिएको थियो। खानेपानी समस्याले गाउँ रित्तिन थालेपछि स्थानीय ५ करोड बराबरको नगद र श्रमदान गर्न तयार भएका छन्। ‘भएका पानीका मुहान पनि सबै सुके। सबै सुक्खा भयो। बालीनालीसमेत उब्जन छाडेपछि गाउँ छाडेर जानेको लर्को लाग्न थाल्यो,’ उपभोक्ता समितिका अध्यक्ष सुदीप हायुले भने, ‘अनि हामी आफैं अग्रसर भएर पैसा र श्रमदान जुटाउन लागिपरेका हौं। खानेपानी समस्या समाधान गर्न सांसद हरिबोल गजुरेलले विशेष पहल गरिदिएको उनले बताए।

आयोजनाको पानी वितरणका लागि दुई वडाका २ हजार ७ सय ५४ घरधुरीमा एक÷एकवटा धारा जडान गरिने छ। यसले करेसाबारीमा सिँचाइ सुविधासमेत पुग्ने छ। २०७२ को भूकम्पपछि खानेपानीका मुहान सुक्न थालेका हुन्। 

सुक्खा क्षेत्रका धेरै नागरिक सुनकोसी किनारमा बसाइँ सरेका छन्। ‘आयोजना सम्पन्न भएपछि खानेपानीकै समस्याका कारण हुने बसाइसराई रोकिने र गाउँमा कृषि उत्पादन गरेर आयआर्जन गर्नसमेत सहयोग पुग्ने अपेक्षा छ’, उपभोक्ता प्रमोद दाहालले भने। २५ वर्षसम्मको जनसंख्या र सहरीकरणलाई लक्षित गरेर आयोजना सञ्चालन गरिएको हो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.