प्यारे रही जइयो मिथिला नगरिया मे

प्यारे रही जइयो मिथिला नगरिया मे

महिलाहरू दिनहुँ प्रातःकालमा नियमितरूपमा गाउने लोकगीतको नाम हो, पराती। जसमा महिला आफ्नो विरह वेदना पोख्ने गर्दथे। तर, यसको पूर्ण लोप हुन गएको छ।


मिथिलाञ्चल लोकगीतको खानी हो। प्रत्येक मांगलिक अवसरमा र प्रत्येक लोकोत्सवमा यी गीतहरू सुमधुर स्वर लहरीबाट सम्पूर्ण मिथिलाञ्चल झंकृत एवं गुञ्जित भइरहन्छन्। प्रत्येक गाउँका गल्ली र गोरेटो यी कर्णप्रिय र लोकप्रिय गीतहरूबाट गुञ्जित भइरहन्छन्। तर, अचेल विद्युतीय सञ्चार माध्यमको जगजगीबाट प्रभावित हुँदै यी केही लोकगीतहरू लोपोन्मुख स्थितिमा पुग्दै गएका छन्। अतः विश्व संस्था युनेस्को यी लोपोन्मुख गीतहरूको संरक्षण र संवद्र्धनका लागि चिन्तित भएको छ।

युनेस्कोले यसको अभिलेखीकरण र भिडियोग्राफी गर्न विभिन्न परियोजनाहरू प्रयोगमा ल्याउन विश्व समुदायलाई प्रेरित गरिराखेको छ। मैथिली संस्कृतिका विभिन्न लोकगीतको लयात्मक लय एवं संगीतलाई संरक्षित गर्नका लागि न कुनै स्थानीय सरकार, न प्रादेशिक सरकार र न संघीय सरकारबाट योजनाबद्ध ढंगबाट प्रयास भएको पाइँदैन। यो धेरै चिन्ता र चासोको विषय हुन गएको छ। संस्कृतिविद्हरू आआफ्नो व्यक्तिगत स्तरमा यसको संकलन र संरक्षणका लागि प्रयासरत छन्। जुन सन्तोषजनक भन्न सकिन्छ। यहाँ यस आलेखमा केही लोपोन्मुख लोकगीतहरूको संक्षेपमा उल्लेख गरिएको छ।

पमरिया लोकगीत ः पमरिया लोकगीत अहिले सबैभन्दा संकटापन्न परिस्थितिबाट गुज्रिराखेको पाइन्छ। पमरिया जातिद्वारा नवजात शिशुको जन्मोत्सवको मांगलिक अवसरमा यो प्रयोग गरिन्छ। यस लोकगीतको लामो ऐतिहासिक परम्परा छ। तर पनि अहिले लोपोन्मुख अवस्थामा पुगिसकेको छ। हुन त पमरिया जातिको अस्तित्व एवं अस्मिता नै लोपोन्मुख अवस्थामा छ। तसर्थ यी जातिद्वारा छोरा जन्मेको परिवारमा ‘सोहर’ लोकगीत गाउने परम्परा जीवित थियो। तर, अचेल न यो जाति र न यसको लोकगीत नै संरक्षित पाइन्छ।

सोहर लोकगीत ः सोहर लोकगीतको शाब्दिक अर्थ हुन्छ, शोक हर। यस शोक हर शब्द नै सोहरको अर्थ अभिव्यक्ति गर्ने शब्द हो। सोहर लोकगीतमा आनन्दानुभूतिको अभिव्यक्ति पाइन्छ। बालकको जन्मोत्सवमा पमरिया जाति नाच गर्दै र लोकगीत गाउँदै बालक जन्मिएको परिवारलाई मनोरञ्जन प्रदान गर्ने  गर्दथे र पुरस्कार पाउने गर्दथे। यो जाति यसै पुरस्कारको भरमा आफ्नो जीविका चलाउने गर्दथे। सोहर गीतलाई जन्मोत्सव गीत भनिदिँदा कुनै फरक पर्दैन। जगदेव सिंह नामक परमार (पमार) राजपुत जातिले आफ्नो वंशको विरुदावली गाउने अभिभारा जाति विशेषलाई सुम्पेको थियो। यस जातिहरूका पमार नामक वीर रस प्रचलन लोकगीत गाउने गर्दथे। त्यसैबाट यस जातिको प्राचीनता प्रष्ट हुन्छ।

गोदना मैथिली संस्कृतिको अभिन्न अंग हो। यो मौलिक मैथिली संस्कृतिको आद्यरूप हो। जुन अहिले टाटुमा परिणत भएको पाइन्छ। अहिले यो देशविदेशमा फैसनको रूपमा फैलिएको छ तर यो मैथिली संस्कृतिको नै मौलिक रूप हो।

पमरिया गीत :

मिथिलाञ्चलमा यो पमार जातिले गन्धबारीमा बसोबास गरेको हुनाले यो गनबरिया कहलाउँछ। तर, यो पनि अहिले अनुसन्धानको विषय हुन गएको छ। प्रस्तुत पमरिया लोकगीतका केही अंश (गेंडा)हरू :
‘एक धनी अंगहरू पातरी दोसर गरभ से रे, ललना रे तेसर पियाक दुलारी दरद कोना सहत रे।’

उपर्युक्त पमरिया गीतमा गर्भिणी आइमाईको गर्भावस्थाको शारीरिक अवस्था, खानपिन र उसको मनोभाव एवं मनोविज्ञानको वर्णन स्पष्ट रूपमा गरिएको छ। प्रसूतिपछि भाट र पमरियाको अतिरिक्त बखो–बखेनी पनि परिवारको मनोरञ्जनका लागि सोहर गीत गाएकाले दान–पुरस्कार पाई आनन्दित हुन्छ। मिथिलाञ्चलमा जनजीवनमा जीवित एउटा जाति विशेष (जो बाख्राबाख्रीको मासु बेचेर र सोहर गीत गाएर नै जीविकोपार्जन गर्दछ) लाई बाखो भनिन्छ। 

यिनीहरूले गाउने लोकगीत पनि लोपोन्मुख अवस्थामा पुगिसकेको छ। जस्तो :

नन्दधरे नौवती बाजाए सुख उपजायव रे
ललना रे जनमल श्रीरघुनाथ कि नयन जुडाएव रे।


प्राचीन लोकगीत  

मिथिलाञ्चलमा पचनिया जाति विशेषरूपमा प्रसिद्ध नभए तापनि सद्योजात बच्चाहरूलाई खोप लाउने काम गर्दछ। मैथिल समाजमा यो जनविश्वास जीवित छ। दादुरा शीतलदेवीको प्रकोपले गर्दा हुन्छ। यस प्रकोपबाट बच्न शीतलादेवीको पूजाआजा गरिन्छ। वचपनावस्थाको ताप निकाल्ने प्रचलन प्राचीनकालमा थियो , तर, अचेल यो प्रचलन हराइसकेको छ किनभने अब सरकारको स्वास्थ्य विभागबाट यो काम हुने गर्दछ। तसर्थ, पचनियाको पेसा संकटमा परेको छ। 

पचनिया लोकगीत : पचनिया लोकगीत पनि लोपोन्मुख भइसकेको छ अन्यथा यस लोकगीतको प्रचलन पनि मैथिल समाजमा प्रचलित थियो। यस लोपोन्मुख लोकगीतका केही गेंडाहरू यसरी प्रचलनमा थियो– ‘कोने वन मे आगे कोइली जे कुहु के कोने वन बजाय मयुर भइया शीतला। कोने वनमे बजाय मजूर।’ 

यस लोकगीतमा गाइनेहरूको संख्या चार, पाँचजनाको एउटा टोली हुन्छ। एउटाले मजिरा बाजा बजाउँछ भने अर्कोले मृदंगा। एउटा केटा धाधरा लगाएको हुन्छ। बाजा र गीतको स्वर तालमा नाच्ने गर्दछ। यी गायकहरू ऐतिहासिक गीत गाउँछन्। यसबाट के थाहा हुन्छ भने यसको धेरै लामो प्राचीन परम्परा छ। यसलाई राज्य परिवारबाट पनि प्राथमिकता र प्रोत्साहन प्राप्त हुन्थ्यो। यिनीहरू इनाम–बक्सिस पाउने गर्दथे। मिथिलाञ्चलको राज्य परिवारबाट यिनीहरूको जीविका चल्ने गर्दथ्यो। तर, अहिले न राज्य परिवार छ। न यी लोकगीतको प्रचलन पनि। यो लोकगीत नाच्दै गाउने परम्परा भएकाले श्रुतिमधुर पनि हुन्थ्यो। यो लोकगीत गाउने क्रममा ‘भले जी भले’ को बोल दोहोराउने एक जमात पनि हुन्थ्यो।

गोदना गीत
गोदनालाई अंग लेखन पनि भनिन्छ। अंग लेखनको अर्थ आफ्ना अंगहरूमाथि आफ्नो नाम, पतिको नाम, कुनै जनावरको चित्र, कुनै देवी देवताको चित्र र कुनै मन परेको मान्छेको आकृति अथवा आफ्ना प्रियतमको नाम र आकृतिको अंकन हो। यो शरीरका हात, खुट्टा, छाती आदि विभिन्न अंगमाथि अंकित गरिन्छ।

कुनै प्रियतमले आफ्नो प्रेमिकाको स्मरण गर्नका लागि उसको आकृति अथवा उसको नाम आफ्नो हातमा अंकित गराएको हुन्छ। कुनै मानिसले कुनै देवी–देवताप्रति आदरपूर्वक सम्मान प्रकट गर्नका लागि अथवा पूजाआजाका लागि उसको मूर्ति आफ्नो हातमा अंकित गराउने लामो परम्परा रहेछ। यसो गर्नाको मुख्य कारण के हो भने एकातिर शारीरिक सौन्दर्यमा वृद्धि हुन्छ। 
अर्कोतिर आफ्नो मानसपटलमा उसको प्रतिमा चीरकालसम्म अंकित भएको हुन्छ।

अंग लेखन अर्थात् सात सियोले टाटू
अंग लेखन पनि अभिव्यक्तिको एउटा सशक्त माध्यम हो मिथिला कलाको। गाउँघरका महिलाहरूमा यसको धेरै प्रचलन थियो। तर, कतिपय पुरुषहरूले पनि यसलाई मन पराउँछन् अहिले पनि। विशेषतः मैथिल महिलाहरूमा यो धेरै लोकप्रिय थियो। आधुनिक महिलाहरूमा यसप्रति अभिरुचि क्रमशः घट्दै गएको पाइन्छ। अहिले भने यस कलाको पुनर्जीवन टाटुको रूपमा हुन गएको छ। यो विश्वव्यापी संस्कृतिको अभिन्न अंग हुन गएको छ। जसलाई अंग्रेजी भाषामा टाटू भन्ने गरिन्छ।

गोदना मैथिली संस्कृतिको अभिन्न अंग हो। यो मौलिक मैथिली संस्कृतिको आद्यरूप हो। जुन अहिले टाटुमा परिणत भएको पाइन्छ। अहिले यो देशविदेशमा फैसनको रूपमा फैलिएको छ तर यो मैथिली संस्कृतिको नै मौलिक रूप हो। अंग लेखन या गोदना धेरै कष्टप्रद कला थियो। किनभने सातवटा सियोले घोचेर अंग प्रत्यंगमा विभिन्न चित्रहरू अथवा नाउँहरू अंकित गरिन्थ्यो।

कहिलेकाहीँ यसो गर्दा शरीरबाट धेरै रगत बग्न जान्थ्यो। शारीरिक दृष्टिकोणले धेरै हानिकारक हुन जान्थ्यो। यो यस्तो कष्टकाध्य कला भए पनि महिलाहरूको आकर्षणको मुख्य साधनको रूपमा यद्यपि लोकप्रचलित हुँदाहुँदा आधुनिक मेसिनबाट यो अंकन हुने भएकाले सजिलो हुन गएको छ।

घुमक्कड जातिले खोप्थे टाटू
मिथिलाञ्चलमा बरु सम्पूर्ण संस्कारमा प्रचलितका रूपमा लिइन्छ। यो अनुसन्धानको विषय बनेको छ। यो वास्तवमा भन्दा मिथिलाञ्चलबाट नै अन्यत्र प्रचलित छ। एउटा लोपोन्मुख लोकगीतबाट यसलाई प्रमाणित र पुष्टि गर्न सकिन्छ जस्तो :
‘गोरी कहमा गोदाओल गोदना 
बाँकी रहल दुनु जोवना 
पिया के पलंग पर रोदना।’

अर्थात्, प्रेमी प्रेमिकासँग के सोध्छ भने तिमीले कहाँ गोदना खोपाएकी ? हात र छातीमा गोदना खोपाएकी ? अब दुवै दूधमा मात्र बाँकी छ। प्रियतमको पलंगमाथि प्रियतमा रोइरहेकी छिन्। किनभने गोदना खोपाउँदा उसले धेरै दुःख खेप्नु परेको छ। तर पनि संस्कृतिको सुन्दर उपहार स्वयंले स्वीकार गरेकी छन्।

गोदना खास गरेर मैथिल ग्रामीण समाजमा धेरै प्रचलित भएकाले ग्रामीण महिलाहरू यसलाई मन पराउँछन्। नटिन जातिका महिलाहरू खोप्ने काम गर्ने गर्थे। नटिन (घुमक्कड जाति) हरू गाउँको घरघरमा गएर महिलाहरूको हात, छाती, खुट्टामा खोपेबापत पारिश्रमिकको रूपमा नगद मेहनत मजदुरी लिने गर्दथे। यिनीहरू यस कलामा खुवै खप्पिस मानिन्छन्। यसलाई पनि एउटा लोकगीतमा यसरी भनिएको छ :
‘उतरही राजसे अएलै एक नटिनिया, रे जान 
बसिए गेले चानन विरिछिए, रे जान...।’

पराती लोकगीत : 
मिथिलाञ्चलाका महिलाहरूको मगगाउँदो मुखबाट गाइने लोकगीत हो। अचेल सर्वथा लोप भएको एउटा लोकगीत हो, पराती। पराती महिलाहरू दिनहुँ प्रातःकालमा नियमितरूपमा गाउने लोकगीतको नाम हो। जसमा महिलाहरू आफ्नो विरह वेदना पोख्ने गर्दथे। तर, यसको पूर्ण लोप हुन गएको छ। अहिले ग्रामीण भेगमा यस्तो सुमधुर लोकगीत लोप हुन धेरै दुःखद् स्मृति छ। प्रस्तुत छ यसको एउटा गेंडा :
‘परम प्रिय गेलाह परदेश हे ! भामिनी’

यस्तै सम्पूर्ण मिथिलाञ्चलबाट क्रमशः लोप हुँदै गएका लोकप्रिय लोकगीतहरू हुन्–बारह मासा, छमासा, चौमासा, तीन मासा र पचमासा आदि। चौमासा गीतको एउटा गेंडा यहाँ प्रस्तुत गरिन्छ। जसमा सुमुधुर र संगीतमय चौमासा लोकगीत जसको पदपदमा विरहिणीको हृदयको चुमन र दंशन मुखरित भएको पाइन्छ :
‘माघ मनोहर नेह लागल पिया चलल परदेश यो। 
देश विदेश बालम हमरो बारि वयस यो।’ 

त्यस्तै, बारहमासा लोकगीतको एउटा गेंडा प्रस्तुत गर्ने गरिन्छ–
‘माघ मास ऋतु फूलत बसन्त बसन्त करोडी।’

बीपी, नरेन्द्रदाइ र बारहमासा
नेपाली साहित्यका सुप्रसिद्ध साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाले आफ्नो उपन्यास नरेद्रदाइमा बारहमासा लोकगीत समाहित गरेका छन्। जसको बोल यस्तो छ :
‘चैत हे सखी बेली फुले भमरा लेल निजवास यो 
तेजी मोहन गेल मधुरपुर, हमर कओन अपराध यो।’ 

बारहमासा लोकगीत गाउँदा प्रत्येक पंक्तिको अन्तिम भागतिर जोड दिन ‘यो’ थेगो जोडिन्छ जस्तो : 
‘माघ मनोहर रामा नेह लागल पिया चलल परदेश यो’ 

माघको मध्य जाडोमा विरहिणी नायिकाको मार्मिक र मर्मस्पर्शी वेदनाको अभिव्यक्ति यहाँ प्रस्तुत गरिएको छ–
यस्तै अर्को गेंडा 
‘आएल माघही मास लिए प्रेमके रजाई 
जाड लागत न दुनु के साथ मे 
प्यारे रही जइयो मिथिला नगरिया मे’

कृषि लोकोत्सवको लयात्मक सन्देश
सखीहरू विवाहोपरान्त रामलाई मिथिला नगरमा रहनका लागि अनुरोध गर्छिन्। किनभने माघ मैन्हा (महिना) मा धेरै जाडो हुन्छ। कतिपय मैथिली लोकगीतहरू दिनानुदिन लोप हुँदै गएका छन्। जसको लेखाजोखा गरेर साध्य छैन। जस्तो– चाँचर, चैतावर, कजरी, (कजली), लोप हुँदै गएको घान रोपनी, झुमर, धान कटनी, आदि।

मिथिलाञ्चलमा धानको रोपाइँ ठुलो कृषि महोत्सवको रूपमा गाउने लामो परम्परा अद्यापि जीवित छ। तर, यस अवसरमा गाइने लोकगीत सर्वथा लोप हुन गएको छ। यसको एउटा उदाहरण :
‘हो बाबा हम रोपै छपछप धान, 
पशुपति तो छह पशु के रे मालिक 
हम छी गरिब किसान हो बाबा।’ 

यस्तै, धानकटनी पनि कृषि लोकोत्सवको लयात्मक सन्देश दिन्छ। घान काट्ने बेलामा गाइने लोकगीतको गेंडा पहिला पहिला खेत खलिहानमा सुनाई दिइन्थ्यो। तर, अचेल बिल्कुल लोप हुन गएको छ। लोकगीत लोककण्ठमा जीवित छ। तर, यसको संकलन संरक्षण असम्भव भइराखेको छ।

यस्तै लोकगीत यहाँ तल प्रस्तुत गरिन्छ :
‘साझे खन गिरहस कही गेलन भेलै बेर बिहान 
कि चल चल झटपट काटब धान।
काट छोपी खरिहान मे लायल 
गिरहस के हम वन फरिआएव 
रंग विरंग के चुरा कुटब 
परसुन होतै नवान्न 
कि चल चल झटपट काटब धान।’

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.