रूस र युक्रेनबाट अर्बौंको आयात
![रूस र युक्रेनबाट अर्बौंको आयात](https://annapurnapost.prixacdn.net/media/albums/rus-urkine-aayat_20220314012902_OhTD5T9VNN.jpg)
काठमाडौं : नेपाली भान्साको पहिचान नै हो– तोरीको तेल र धनियाँ। हामी यी सामान आफ्नै बारीको उत्पादन हो भनेर गर्व गर्छौं। तर, वास्तविकता फरक छ। नेपालमा जति खपत हुन्छ त्यसको धेरै हिस्सा रूस र युक्रेनबाट भित्रिने गरेको छ। तर, रूसले युक्रेनमा आक्रमण गरेपछिको तनावका कारण आयात–निर्यात प्रभावित भएको छ। व्यापारको विश्वव्यापी आपूर्ति सञ्जाल नै खलबलिन पुगेको जानकार बताउँछन्।
‘बजारमा सबै चिज महँगो भइरहेको छ। खाद्यान्नको भाउ १० देखि २५ प्रतिशत थप महँगो भइसकेको छ। पेट्रोलियम पदार्थ महँगो हुँदा भाडादर वृद्धि भएको छ’, नेपाल उद्योग वाणिज्य महासंघको ट्रेड समितिका अध्यक्ष विजय सिंह वैद्य भन्छन्, ‘अन्तर्राष्ट्रिय बजारमा सप्लाई चेन बिग्रिरहेकाले यस्तो भएको हो। युक्रेन र रूसबाट ल्याइरहेको सामान अब अरू देशबाट ल्याउँदा धेरै महँगो पर्छ।’
नेपालमा पुराना सामानले बजार धानिरहेको वैद्यको भनाइ छ। ‘तर, यो सकिहाल्छ। हामीकहाँ सामान प्रायः एक–साढे एक महिनालाई स्टक भइरहेको हुन्छ। तापनि महँगीको असर बजारमा देखिसकेको छ’, वैद्य भन्छन्।
युक्रेनबाट प्रत्यक्ष रूपमा १४ अर्ब ४२ करोड ३३ लाख ६१ हजार रुपैयाँबराबरको ४५ प्रकारका सामान भित्रिएको भन्सार विभागको तथ्यांक छ। नेपालले यही अवधिमा रूसबाट ४ अर्ब ३१ करोड २८ लाख ५२ हजार रुपैयाँको ९१ प्रकारका वस्तु ल्याएको छ। यो तथ्यांक चालू आर्थिक वर्षको सात महिना अर्थात् माघसम्मको हो।
युक्रेनबाट यही अवधिमा १ करोड १२ लाख ३३ हजार रुपैयाँको १ लाख ६८ हजार किलो केराउ भित्रिएको छ। १ लाख १० हजार २ सय ६० किलो धनियाँको बीउ ल्याउँदा १ करोड १९ लाख ८१ हजार रुपैयाँ बाहिरिएको छ। ३ अर्ब ९५ करोड ३७ लाख २४ हजारको ४ करोड ४५ हजार ५७ किलो तोरीको दाना खरिद गरिएको छ। ४८ लाख ४३ हजार ९ सय ८८ लिटर कच्चा सोयाबिन तेल ७९ करोड ४७ लाख ९० हजारमा आयात गरिएको छ। ५ करोड ७३ लाख ६४ हजार ४५८ लिटर सूर्यमुखी तेल ९ अर्ब ५१ करोड ६३ लाख ६० हजार रुपैयाँमा आयात भएको छ। यसबाहेक १ लाख ८९ लिटर सूर्यमुखीको बीउ र कुसुमको तेल ३ करोड ७५ लाख ८४ हजार रुपैयाँको आयात भएको छ। कुकुर र बिरालोको खाना ८ लाख ३ हजार रुपैयाँ बराबरको १ हजार ९ सय ९१ किलो आयात गरिएको छ।
उक्त देशबाट विभिन्न धातुजन्य वस्तु पनि ल्याउने गरिएको छ। जसमध्ये ५० ग्रामको प्लेटिनमसहित सुन ८१ लाख ४६ हजारमा खरिद गरिएको छ। ६ हजार २५ किलोको धातुका क्राउन ४५ लाख ८४ हजारमा आयात भएको छ। यसबाहेकक धातुका विभिन्न ढक्कनलगायतको सामान ४ करोड ६८ लाख ७५ हजार रुपैयाँमा ४६ हजार ८ सय ७५ किलोग्राम आयात भएको छ।
युक्रेनबाट विभिन्न मेसिनरी सामान पनि आयात गरिएको छ। समीक्षा अवधिमा ७४ वटा फ्रिज ३ लाख ७० हजार रुपैयाँमा ल्याइएको छ। प्लेटका माध्यमबाट छाप्न प्रिन्टिङ मेसिनरीका पार्टपुर्जा र सहायक उपकरण ६ लाख १ हजारमा २८ पिस ल्याइएको छ। १ सय ११ वटा टोनर २५ लाख २२ हजार रुपैयाँमा ल्याइएको तथ्यांक छ। ५ लाख २८ हजार रुपैयाँमा हवाईजहाज वा हेलिकप्टरका भाग १ सय ५० पिस आयात गरिएको छ। स्मार्ट कार्डहरू, टिभीलगायत मेसिनरी सामान प्नि आयात गर्ने गरिएको छ।
युक्रेनबाट सामान आयात गर्दा २ अर्ब ८३ करोड ८३ लाख ९४ हजार रुपैयाँ राजस्व संकलन भएको छ। रूसबाट गरेकोे आयातमा ८५ करोड २० लाख ४३ हजार रुपैयाँ राजस्व उठेको तथ्यांक छ।
नेपालले रूसबाट सिधै खरिद गरी ४२ करोड ३७ लाख १८ हजार रुपैयाँको ७६ लाख ६४ हजार ३ सय ४० किलो केराउ ल्याएको छ। १७ करोड ७३ लाख ६७ हजार रुपैयाँको १७ लाख ८५ हजार किलो धनियाँको बीउ आयात भएको छ। तोरीको बीउ ५ लाख ९८ हजार ८ सय ५० किलो आयात भएको छ। यसबाहेक ५ लाख ९८ हजारको तोरीको बीउ तथा दाना ५ करोड ६१ लख ७५ हजार रुपैयाँ बराबरमा आयात भएको छ। १ करोड ५२ लाख २८ हजार लिटर सूर्यमुखी तेल २ अर्ब ५८ करोड ७५ लाख रुपैयाँबराबरको ल्याइएको छ। चकलेटसहित गुलिया पदार्थ १ लाख ४४ हजार ८३० किलो भित्र्याइएको छ। त्यसबापत ७ करोड ४७ लाख रुपैयाँ बाहिरिएको छ। यसबाहेक रूसबाट पशु चिकित्साका खोप ९ सय २२ किलो आयात भएको थियो। सो खोप ७३ लाख ७० हजार रुपैयाँमा आयात भएको थियो।
यसबाहेक स्याम्पो, साबुन, बडी लोसन र अन्य सौन्दर्यका सामान, विभिन्न कपडा आयात हुने गरेको छ। रेडियो, टिभी, हवाईजहाज, स्मार्ट कार्डका उपकरण पनि रूसबाट आयात हुने गरेको छ। कुनै वस्तु धेरै परिमाणमा छन् भने कुनै कममा आयात भएको तथ्यांकमा देखिन्छ।
नेपालबाट युक्रेन र रूसमा निर्यात
नेपालले युक्रेन र रूसमा निर्यातसमेत गर्दै आएको छ। विशेष गरेर उक्त देशमा नेपालबाट चियापत्ती, गलैंचालगायत वस्तु निर्यात गरिन्छ। तथ्यांकअनुसार नेपालले युक्रेनमा १५ प्रकारका वस्तु पठाएको छ।
युक्रेनबाट सामान बोकेर विभिन्न देशका लागि हिँड्न तयार भएको पानीजहाज । तस्बिर : एजेन्सी
जसको मूल्य करिब १५ लाख ७८ हजार रुपैयाँबराबर पर्छ। नेपालबाट रूसमा करिब २१ प्रकारका वस्तु गएको छ। रूसमा १५ करोड ११ लाख ७ हजार रुपैयाँ बराबरको निर्यात भएको तथ्यांक छ। यो कुल निर्यातको ०.११ प्रतिशत हो।
विकल्प के ?
वैद्यका अनुसार युद्ध अनिश्चित बन्दै गएकाले अबको विकल्प अरू देशबाट सामान आयात गर्ने हो। यसो हुँदा अब झन् महँगो पर्छ। ‘कति समयसम्म हाम्रो सप्लाई चेन चल्छ त्यसमा भर पर्छ। पहिला प्रत्यक्ष सो देशबाट सामान ल्याउँदा २ देखि साढे २ महिनाजति लाग्थ्यो। अरू देशबाट ल्याउँदा ४–५ महिना पनि लाग्न सक्छ’, वैद्य भन्छन्, ‘यद्यपि अहिले अन्तबाट सप्लाई चेन हँुदै केही महँगोमा सामानहरू आइरहेकै छ। विश्व बजारमा नै सामान अभाव भएपछि महँगो हुनु स्वाभाविक हो।’
तेलको मूल्य बढ्नु भनेको सबै वस्तुको ढुवानीमा खर्च बढ्नु हो। जसले सबै वस्तु महँगो हुनु स्वाभाविक भएको उनको तर्क छ।
उनका अनुसार युक्रेन र रूसबाट ल्याइरहेको सामान अरू देशबाट ल्याउँदा धेरै महँगो पर्नेछ। सो देशमा सूर्यमुखी, भटमास, केराउ बढी उत्पादन हुने भएकाले त्यहींबाट ल्याउँदा सस्तो पर्छ। सो मुलुकबाट विश्व बजारमा अधिक गहुँ विक्री हुने गरेको छ। ‘भारतमा त्यहीँको गहुँ आउँछ र नेपालले भारतबाट खरिद गर्छ। यससँगै पेट्रोलियम पदार्थ पनि यसैगरी आउँछ। उक्त देशको वस्तु सप्लाई चेनबाट आएका थुप्रै वस्तु नेपालले भारतबाट किन्ने गरेको छ। अहिले सप्लाई चेन खल्बलिएको छ’, वैद्य भन्छन्।
नेपालले कूल आयातको करिब ६० प्रतिशत वस्तु भारतबाट ल्याउँछ। ती सामान ‘ग्लोबल चेन’ मार्फत अन्य मुलुकबाट आएका हुन्। यसबाहेक ४० प्रतिशत बस्तु भने नेपालले अन्य मुलुकबाट प्रत्यक्ष आयात गर्दै आएको छ। नेपालले अन्य मुलुकभन्दा युक्रेन र रूसबाट सिधै सस्तोमा भट्मास र सूर्यमुखीको तेल बढी आयात गर्दै आएको छ।
आर्थिक वर्ष २०७८/७९ को सात महिनामा कुल वस्तु आयात ४२.८ प्रतिशतले वृद्धि भई ११ खर्ब ४७ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ। भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ३०.९, ४२.३ र ८३.८ प्रतिशतले वृद्धि भएको छ। वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधि, कच्चा पाम तेल, कच्चा सोयाविन तेल, यातायातका साधन तथा पार्टपुर्जालगायत वस्तुको आयात बढेको छ।
तथ्यांकअनुसार प्रत्यक्ष रूपमा युक्रेनबाट ४५ र रूसबाट ९१ प्रकारका वस्तु भित्र्याइएको छ। अप्रत्यक्ष रूपमा अर्थात ग्लोबल चेन हुँदै रूसबाट पेट्रोलियम पदार्थ आउने गरेको छ। तर, दुई देशबीच युद्धका कारण विश्वव्यापी रूपमा महँगी बढेको छ। युद्धअघि पेट्रोलियमको भाउ प्रतिब्यारेल ९० डलरभन्दा कम थियो। अहिले बढेर १४२ डलरसम्म पुगेको छ। यद्यपि ओइल–प्राइस डट नेटको तथ्यांकअनुसार फागुन २७ गतेको मूल्य १२१ डलर छ।
युक्रेनबाट मात्रै नेपालले कुल आयातको १.२६ प्रतिशत उपभोग्य वस्तुदेखि विभिन्न उपकरणलगायत सामान भित्र्याएको छ। तथ्यांकअनुसार समीक्षा अवधिमा ११ खर्ब ४७ अर्ब ४६ करोड रुपैयाँबराबरको आयात भएको छ। युक्रेनबाट १४ अर्ब ४२ करोड ३३ लाख ६१ हजार रुपैयाँ बराबरको वस्तु आयात गरेको छ। रूसबाट ४ अर्ब ३१ करोड २८ लाख ५२ हजार रुपैयाँबराबरको सामान आयात गरिएको छ। योे कुल आयातको ०.३८ प्रतिशत हो।
युक्रेनबाट सामान आयात गर्दा २ अर्ब ८३ करोड ८३ लाख ९४ हजार रुपैयाँ राजस्व संकलन भएको छ। रूसबाट गरेकोे आयातमा ८५ करोड २० लाख ४३ हजार रुपैयाँ राजस्व उठेको तथ्यांक छ।
युक्रेन र रूस वैदेशिक व्यापार हुने पुरानो देश रहेको बताउँछन् विभागका सूचना अधिकारी पुन्यविक्रम खड्का। उनका अनुसार तेलजन्य वस्तु तुलनात्मक रूपमा सस्तोमा निर्यात गर्ने अधिक क्षमता भएको सो मुलुक युद्धमा होमिएकाले यसको असर समग्र विश्वलाई परेको उनी बताउँछन्। ‘युद्ध चर्कंदै छ। अब व्यवसायीले सो मुलुकको विकल्प खोज्नुपर्छ। व्यवसायीले सम्भाव्यता अध्ययन गरेका होलान। तर, सोही देशमा मात्रै पाउने वस्तु छ भने अब आपूर्ति कम हुने देखिन्छ,’ सूचना अधिकारी खड्का भन्छन्।
व्यापार निकासी तथा प्रवद्र्धन केन्द्रका वरिष्ठ अधिकृत कृष्णराज बजगाईं युक्रेन र रूसबाट मुख्य गरी तेलहन वस्तु आयात र चिया, गलैंचाजस्ता वस्तु निर्यात भएको बताउँछन्। सो मुलुकमा अन्यको तुलनामा तेल सस्तो भएकाले नेपालले प्रत्यक्ष खरिद गर्ने गरेको थियो। अब अरू मुलुकबाट महँगो तिर्नुपर्दा अन्ततः नेपालीले महँगीको भार खेप्नुपर्ने उनको भनाइ छ।
युद्धले हालको आपूर्तिमा प्रभाव परेको बताउँछन्, अर्थविद् डा. पोषराज पाण्डे। विश्वव्यापी तेल बजारमा रूस तेस्रो ठूलो उत्पादक मुलुक हो। विश्वभर निर्यात गर्नेमा दोस्रो ठूलो मुलुक। अर्थविद् डा. पाण्डेका अनुसार रूसले आर्थिक नाकाबन्दीका कारण तेल बेच्न पाएन। यसले अन्तर्राष्ट्रिय बजारमा आपूर्ति घटेको छ। ‘रूसले प्रतिदिन ५५ लाख ब्यारेल (५.५ मिलियन) पेट्रोलियम पदार्थ बिक्री गर्दै आएको थियो। अब अहिले सो बराबरको आपूर्ति भएको छैन’, डा. पाण्डे भन्छन्, ‘यसले गर्दा अहिले अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढ्ने नै भयो। अहिले देखिएकै छ।’
तेलको मूल्य बढ्नु भनेको सबै वस्तुको ढुवानीमा खर्च बढ्नु हो। जसले सबै वस्तु महँगो हुनु स्वाभाविक भएको उनको तर्क छ। ‘सोहीकारण अझै तेलसँगै सबै प्रडक्टको मूल्यवृद्धि (मुद्रास्फीति) बढ्छ। किनभने हाम्रो अर्थतन्त्र आयातमा आधारित छ। कुल उपभोग्य वस्तुको ४० प्रतिशतभन्दा बढी आयात गर्नुपरेको अवस्था छ,’ उनी भन्छन्, ‘दुई देशको कारण ग्लोबल सप्लाई चेन नै डिस्ट्रब हुन्छ। यसबाट नेपाललाई अप्रत्यक्ष प्रभाव पर्छ। प्रत्यक्ष प्रभाव पछि पर्छ।’
तापनि युक्रेनबाट १५ अर्ब र ३ अर्ब रुपैयाँ हाराहारीमा रूसबाट आयात हुने उनी बताउँछन्। ‘कुल आयात ११ खर्ब हुँदा १८ अर्ब हाराहारीको आयातमा खासै प्रभाव परेन। तर, विशेष प्रडक्टमा जाने हो भने, सो देशबाट मुख्य त केराउ, सनफ्लावर तेल, भटमासको तेल राम्रै आयात हुने गरेको छ’, उनी भन्छन्।
युद्धले सप्लाई चेनमा अवरोध भएकाले सो मुलुकको सस्तो सामान भने ल्याउन अनिश्चित भएको छ। यसैले अब नेपालले पनि सामान आपूर्तिमा विविधीकरण गर्नुपर्ने अर्थविद् डा.पाण्डेको तर्क छ। यसको मतलब अरू मुलुकबाट ल्याउनुपर्ने हुन्छ। उनका अनुसार सामान नपाउने होइन त्यस्ता सामान इन्डोनेसिया, मलेसियाबाट ल्याउँदा अलिकती महँगो पर्छ। यसो हुँदा मूल्य बढी पर्न सक्ने उनी बताउँछन्।
युक्रेन–रूस युद्धले हालको आपूर्तिमा प्रभाव पर्छ। विश्व बजारमा परेको सो प्रभाव नेपालमा पनि देखिएको छ। पेट्रोलियम पदार्थको मूल्य बढ्नु भनेको सबै बस्तुको ढुवानीमा खर्च बढ्नु हो। जसले सबै वस्तु महँगो हुनु स्वाभाविक भयो। अहिले रूसलाई इकोनोमिक ब्लक लगाएको छ। यसकारण उसले बेच्न पाएन।
डा. पोषराज पाण्डे, अर्थविद्
ooo
बजारमा सबै चिज महँगो भइरहेको छ। खाद्यान्नको भाउ १० देखि २५ प्रतिशत थप महँगो भइसकेको छ। पेट्रोलियम पदार्थ महँगो हँुदा भाडादर वृद्धि भएको छ।
अन्तर्राष्ट्रिय बजारमा सप्लाई चेन बिग्रिरहेकाले यस्तो भएको हो।
विजय सिंह वैद्य, अध्यक्ष, ट्रेड समिति, नेपाल उद्योग वाणिज्य महासंघ
ooo
नेपालका लागि युक्रेन र रूस वैदेशिक व्यापार हुने पुरानो देशमध्ये पर्छन्। तेलजन्य वस्तु तुलनात्मक रूपमा सस्तोमा निर्यात गर्ने अधिक क्षमता छ। तर, सो मुलुक युद्धमा होम्मिएकाले यसको असर समग्र विश्वलाई परेको छ। नेपाललाई पनि पर्नु स्वाभाविक हो।
पुण्यविक्रम खड्का - सूचना अधिकारी, भन्सार विभाग
ooo
युक्रेन–रूसको युद्धले नेपाल पनि प्रभावित हुन्छ। यसैले यसबाट पर्ने असरलाई दृष्टिगत गरी चारै क्षेत्रमा अन्य आवश्यक तत्कालीन र अल्पकालीन कार्यक्रमहरू लागू गर्नुपर्छ। त्यसो गर्न सके हालको संकटपूर्ण अवस्थाको सम्बोधन हुनेछ। साथै यसबाट अर्थतन्त्रको पुनरुत्थान हुनेछ। देश विकासको ठीक बाटोमा अगाडि बढ्न सक्नेछ।
रेवतबहादुर कार्की, अर्थविद्
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)