क्या बसन्त ! क्या होली !

क्या बसन्त ! क्या होली !

प्रकृति, पर्यावरण अनि मौसमी चाडपर्वको मधुकर उत्सवको नाम– संज्ञा होली रहेको छ। प्रकृति शाश्वत रूपमा नियमित तवरमा चल्छ। निर्बाध प्रकृतिको गतिमान चक्रले घुमाइफिराइ ल्याएको ऋतुजन्य पर्व होली रहेको छ। प्रकृति, पर्यावरण र मौसमसित रुपिँदै हाम्रा घर आँगन, यत्रतत्र लहसिँदै आएको ऋतुराज पर्व हो लालीमय सिन्दूर चाड– होली। मूलतः होली रङका पनि मूल रङ रातो र रङका अबिर प्रधान रङ। रातो रङ सूर्यको रङ। सूर्य सम्पूर्ण ऊर्जाकै रङ। सूर्यबाटै हामी सौर्य आर्जन गर्छौं। सौर्य जीवनकै जीवन्त रङ। जीवन्त रङ रगतको रङ। रगत जीवनकै रङ। रक्त सञ्चार नभए प्राणीको प्राणै धानिन्न। शल्यक्रिया, प्रजनन अवस्थामा रगतकै निरन्तरता रहन्छ। केही समय हेनरी ड्युना प्रतिपादित रेडक्रस सोसाइटीको स्थानीय अभियन्ता हुँदा रक्त महिमाको मर्म गहिरो बुझेँ। होली अब जीवनको डोली झैं लाग्छ। चुक्क चुम्बन जय होली !

अनेकन श्रुतिमय छ होली। हिरण्य कश्यपुका बहिनी होलिका दहन प्रसंग जोडिएको छ होलीसित। जनश्रुतिमय छ होली। जनश्रुति लोकवार्ता हो। लोकले कथेको, गुँथेको लोकोक्ति– लोक बखान ! लोक बखान– लोक धारण। लोकधारण लोक पत्यार। लोक पत्यार लोक विश्वास। लोकधारणा समाजको स्वरूप। समाजको स्वरूप लोक धारणमा निर्भर गर्छ। लोक धारणाका प्रसंगलाई लोकको प्रचलन अनुरूपको प्रचलन अनुरूपको शैलीमा प्रस्तुत गरुँ... !

सूर्यको वरिपरि घुम्दो यो पृथ्वी हाम्रा साझा घर। यजुर्वेदले पृथ्वीलाई प्राणीमात्रको महको चाका भन्यो। प्राणीमात्र पृथ्वीका मह भन्यो। मनलाई म्वाइँ दिने यो उक्तिले मन छोएको छोयै छ। आफ्नै वृत्तमा घुमेर यसले दिन रात दिन्छ। सूर्यको वृत्तमा घुमेर हामीलाई मौसम र ऋतुहरू दिन्छ। युरोप अमेरिकातिर चार ऋतु, एसियाका केही ठाउँ र देशहरूमा छ ऋतु दिन्छ। दक्षिण र उत्तरी गोलाद्र्धका मौसम आफ्नै परिवेश अनुरूप छ। अफ्रिका, अस्ट्रेलिया र दक्षिण अमेरिकाका मौसम अर्कै प्रकारका छन्। युरोपीय महाद्वीपभित्रका पाश्चात्य मुलुकको चार ऋतु कण्ठ पारी हामीले मौसमी उपनिवेशवादी धारण घोकिरहेका छौं यद्यपि।

अबिर सप्तरङ्गी नै बन्छ। रङ त सौर्य ऊर्जाको पुर्जा हो। रातो, सुन्तली, प्याजी, सुनौलो, निली, हरियाली, सेती रङ्गेली रूप हुन्। यी सप्तरङ्गी चुनरी। उमंगका परेली उल्लासमय तरेली बन्छ।

जे होस्, वसन्त ऋतुको बहार सूचक होली पर्व एक मौसमी चाड पक्कै हो। वसन्तले होली उपहार गरेको छ हामी र हाम्रो जस्तै मौसम पाएका मुलुकका जनतालाई। प्रकृतिले उपहार दिएको यो ऋतुजन्य पर्व हाम्रा गौरव बन्छ। प्रकृति प्रदत्त यो बहार प्रकृतिलाई अबिरले अभिषेक गर्ने संस्कृति हो। अबिर रातो मात्र नभई सप्तरङ्गी चुनरी बन्छ। सूर्य किरण रातै रङका समिश्रणबाट उद्भव भएको उज्यालो हो। उज्यालो सेतो रहन्छ निख्रा। सप्त रङ बेजोड फन्फनिँदा सेतो उज्यालो बन्छ। सूर्यको सामु परेको पृथ्वीको भागको दिनमान पृथ्वीको आफ्नै धुरीमा घुम्ने चाल÷गतिले दिएको प्रमाण बनेको छ। वसन्तको उज्यालो र नव पल्लवको स्वागतमा हामी उमंगित हुन्छौं। मनभरि, मुटुभरि उल्लासित रहन्छौंं हामी। तिनै मनमा उल्लासहरू अबिर बनेर छर्किन्छन् आपसमा। मौसमी होली, उमंगको झोली, स्नेहको लचकिँदो डोली चढ्न मन फुर्छ। युवकलाई डोली बोक्ने तराना उठ्छ।

क्या बसन्त ! क्या होली ! क्या बहार ! यी सब जीवन उपहार ! यौवन होली उत्सवलाई उपहार। यो उपहार उमंगोत्सवकै बहार। उमंग उत्सव अँगालेर आएको पुरुष–नारी मनको मोह। बाँच्दाका मधुमय आलिंगन, चुम्बन ! अबिरले गालाभरि चुम्बन लाउँछ। मन फुरुङ फुरुंगिन्छ। मेरो मात्र होइन, मायालु मन। दुई दुई मनहरूको लसक्क लस्काउने होलीको लस्सादार लस्काई त अबिर बन्छ। त्यसैले हामीलाई मन पर्छ होली। अबिरको देखिने यो झोली। भित्री तहमा लुकामारी गर्ने मायाको लोलागोला नसा नसामा बग्ने खोला। मन बहकाउँदो होइन, बहलाउँदो छ अबिरको होली। अझै ताजा छ सम्झना यो हातले अबिर पोतेको सुकुमारी गालामा। यिनै अबिरको पोताइले पारेथ्यो मनलाई मायाको भँगालोमा। अबिरको होली, मायाको झोली, स्नेहको होली भन्न रुचाएको यसैले अबिर पोतेको गाला त अहिलेसम्मै सासूकी छोरीको गाला पो बनेको छ।

अबिर सप्तरङ्गी नै बन्छ। रङ त सौर्य ऊर्जाको पुर्जा हो। रातो, सुन्तली, प्याजी, सुनौलो, निली, हरियाली, सेती रङ्गेली रूप हुन्। यी सप्तरङ्गी चुनरी। उमंगका परेली उल्लासमय तरेली बन्छ। होली चाडभित्रको अन्तर मर्म समझदारीको मर्म। आपसी सद्भावनामा आलिंगन गर्नु होलीको कर्म। अबिर त सद्भाव छर्नुको माध्यम वस्तु। होली त्यसैले सद्भाव, समझदारी अनि आलिंगनकारी चाड पर्व। अर्ब र खर्बमा पनि नपाइने रसरङको होली। आनन्द लहरका उल्लासमय डोली बोकुँबोकुँ लागिरहन्छ उमंगको जुनेली। हिरण्य कश्यपुकी बहिनी होलिका दहनको उपलक्ष्यमा होली।

होलीका त प्रह्लादलाई दाह गर्ने कुत्सितताका प्रतीक भन्छु। आफ्नै भदालाई काखी च्यापी जलाउने होलिकाको राक्षसी प्रवृत्ति नभए अरू के भनुँ ... ? त्यसैले होली पर्वको अन्तिम पहर चीरदाहसित समाप्त हुन्छ। चीरदाह होलिकाभित्रको कुत्सित तरङलाई खरानी पार्ने अवसरको प्रतीक जलन ठान्छु। होलीभित्रको यो महामन्त्रलाई यन्त्र, जन्त्र, तन्त्र जे भनौँ, सारगर्भित सांस्कृतिक संस्कार नठानौं किन ....? होली हाम्रो सांस्कृतिक संस्कारको डोली, रङ रसको होली।

प्रकृति, पर्यावरण र मौसमी चाड होली पर्व मात्र हिन्दु, बौद्ध र जैन धर्मीमा मात्र सीमित छैन। यो त भूगोलभित्रका यावत् जनजीवन मात्रकै उमंग उत्सव !
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.