लेटाङ झडप प्रकरण : कसरी भयो घटना ?
लेटाङ : स्थानीय प्रशासनले मोरङको लेटाङमा सोमबार बिहानदेखि अनिश्चितकालीन कर्फ्यू लगाएको छ। छात्रालाई यौन दुर्व्यवहार गर्ने शिक्षकलाई कारबाही गर्नुपर्ने मागसहित स्थानीयवासी प्रदर्शनमा उत्रिँदा आइतबार स्थिति तनावग्रस्त बनेको थियो। त्यही भीडमा छुरा प्रहारबाट प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गएको थियो। दोषीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउने बताउँदा–बताउँदै भीड एक्कासि प्रहरीमाथि जाइलागेको बताउँछन् मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल।
उक्त घटनामा प्रहरी जवान श्रेष्ठको हत्यासँगै २५ भन्दा बढी प्रहरी र ७ सर्वसाधारण घाइते भएका छन्। सबैको उपचार भइरहेको छ। प्रदेश १ का प्रहरी प्रमुख डीआईजी अरुणकुमार बीसी, प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, मोरङ प्रहरीका उच्च पदस्थ अधिकारी र सशस्त्र प्रहरीका अधिकारीको टोलीले सोमबार लेटाङमा पुगेर घटनाको स्थलगत जानकारी लिएका छन्।
यसरी भयो घटना
मोरङको लेटाङ नगरपालिका–५ मा पर्छ शिक्षा विकास माध्यमिक विद्यालय। उक्त विद्यालयका शिक्षक हुन् ५६ वर्षीय मनोज पौडेल। होलीका दिन कक्षा ६ मा अध्ययनरत १२ वर्षीया छात्रामाथि यौन दुव्र्यवहार गरेको आरोप उनलाई लागेको छ। शिक्षक पौडेलले यसपटक मात्रै नभई पटक–पटक छात्रामाथि यौन दुर्व्यवहार गरेको स्थानीयवासी बताउँछन्।
यस्तो घटना विद्यालय र गाउँमै मिलाउनुपर्ने पक्षमा प्रधानाध्यापक, केही शिक्षक र स्थानीय जनप्रतिनिधि रहेपछि आइतबार घटनाले उग्ररूप लिएको स्थानीय मनिष सूर्य मगर बताउँछन्। ‘समयमा शिक्षकलाई कारबाहीका लागि प्रहरीलाई बुझाएको भए यो घटना हुने थिएन’, उनले भने, ‘विद्यालयमा नै मिलाउन खोज्दा स्थानीय नागरिक र विद्यार्थी आक्रोशित बनेका हुन्।’
फागुपूर्णिमाका दिन छात्राको घरमा पुगेका शिक्षक पौडेलले यौन दुव्र्यवहार गरेको पीडितको भनाइ छ। पीडितले उक्त कुरा अभिभावकलाई सुनाएकी थिइन्। उनले आइतबार बिहान विद्यालयका साथीहरूलाई घटनाको विवरण सुनाइन्। विगतमा पनि शिक्षक पौडेलले छात्राहरूलाई यौन दुर्व्यवहार गरेका कारण साथीहरूले उजुरी दिन सल्लाह दिए। पीडितले आइतबार साढे १० बजे प्रधानाध्यापक लक्ष्मीप्रसाद मिश्रलाई पौडेलविरुद्ध कारबाहीको माग गर्दै निवेदन दिइन्।
छात्राको निवेदनपश्चात् अन्य शिक्षकले पौडेलसँग सोधपुछ गरे। आरोपित पौडेलले प्रमाण के छ ? भन्दै ‘थर्काउन थाले’पछि शिक्षकहरू कक्षामा पढाउन गएनन्। त्यसपश्चात् यौन दुव्र्यवहारको घटना विद्यालयका सबै विद्यार्थी, अभिभावक, स्थानीय आमा समूह हुँदै गाउँभरि फैलियो। बिहान सुरु भएको विषयले दिउँसोसम्म उग्र रूप लिएको थियो। प्रधानाध्यापक मिश्रले दिउँसो लेटाङ नगरपालिकाकी उपमेयर कृष्णकुमारी निरौला र विद्यालय व्यवस्थापन समिति अध्यक्षसमेत रहेका लेटाङ–५ का वडाध्यक्ष भूमसूर्य मगर, विद्यालयका अन्य शिक्षक र आरोपितलाई राखेर छलफल सुरु गरे। छलफलमा उपस्थितहरू दुई पक्षमा विभाजन भए।
पौडेललाई बचाउने र कानुनी कारबाही गर्ने पक्षबीच विवाद हुँदा लेटाङ घटनाले उग्र रूप लिन पुग्यो। यो घटनामा उपमेयर निरौला, वडाध्यक्ष मगर र प्रधानाध्यापक मिश्र विद्यालयमै छलफल गरी घटना मिलापत्र गराउने पक्षमा हुँदा बाहिर भेला भएकाहरू आक्रोशित बनेको स्थानीय मनिष सूर्य मगर बताउँछन्।
जनप्रतिनिधिसहित विद्यालयमा छलफलमा बसेपछि शिक्षकलाई जोगाउन खोजेको हल्ला गाउँभरि फैलिएको थियो। यसअघि पनि पौडेलले दुईपटक छात्रालाई यौन दुव्र्यवहार गरी घटना मिलाइएका कारण स्थानीयवासी र विद्यार्थी बढी आक्रोशित भएको उनको बुझाइ छ।
उपमेयरसहितको टोली विद्यालयमा रहेका कारण प्रहरीले शिक्षकलाई तत्काल पक्राउ गर्न नसकेको स्थानीयवासीको आरोप छ। घटनास्थल पुगेका प्रदेश १ का यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरे घटनास्थलमा प्रहरीको संख्या न्यून रहेका कारण घटनाले उग्र रूप लिएको बताउँछन्। ‘प्रहरी पुग्नेबित्तिकै आरोपित शिक्षकलाई पक्राउ गर्न सकेको भए घटना हुने थिएन’, मन्त्री घिमिरेले भने।
प्रधानाध्यापक मिश्रले उपमेयर निरौलालाई न्यायिक समिति अध्यक्ष र विद्यालय व्यवस्थापन समिति अध्यक्ष मगरसहित अन्य शिक्षकलाई राखेर दुव्र्यवहारको विषयमा छलफल गरेको स्वीकार गरे। आरोपित शिक्षक यसअघि पनि दुव्र्यवहारको घटनामा माफी पाएर उम्किएकाले उनलाई बचाउन भने कसैले पनि नखोजिएको मिश्रले बताए। विद्यालयका सबै शिक्षक र कर्मचारी नेपाल राष्ट्रिय शिक्षक संगठनमा आबद्ध भएका कारण घटनालाई अर्को पक्षले राजनीतीकरण गर्न खोजेको उनको आरोप छ।
प्रधानाध्यापक मिश्रले आरोपित शिक्षकलाई पक्राउ गर्न प्रहरीलाई पहिले नै खबर गरिसकिएको अवस्थामा यसलाई राजनीतिक मुद्दा बनाउन नहुने बताए। ‘सुरुदेखि नै कानुनी उपचारको पक्षमा हामी थियौं,’ उनले भने, ‘प्रहरी आउन्जेल सामान्य छलफल भएको हो। गम्भीर प्रकृतिको घटनामा प्रहरीले अनुसन्धान गर्नुपर्छ।’ राति स्थिति साम्य भएपछि शिक्षकलाई लिएर प्रहरीको गाडी फर्किएको थियो।
इलाका प्रहरी लेटाङको टोली पैदल आउँदै गरेको प्रहरी टोलीमाथि बाटो ढुकेर बसेको समूहले आक्रमण गरेको थियो। पैदल हिँड्ने टोलीको पछाडि रहेकी प्रहरी जवान श्रेष्ठको सडकमै घाँटी घरेलु हतियार प्रहार भएको थियो। ‘उनले एैय्या भनेको आवाज मात्रै सुनियो’, घटनास्थलमा रहेका एक प्रहरीले भने, ‘फर्केर हेर्दा उनी भुइँमा छटपटाइरहेकी थिइन्।’ प्रहरीले आइतबारै आरोपितलाई नियन्त्रणमा लिएको थियो।
प्रतिक्रिया दिनुहोस !