तेक्वान्दोमा सञ्जीवको समर्पण
![तेक्वान्दोमा सञ्जीवको समर्पण](https://annapurnapost.prixacdn.net/media/albums/sanjeev-Nepali_20220322041218_elqCxFSw24.jpg)
काठमाडौं : बारा निजगढका सञ्जीव नेपालीले तेक्वान्दोका माध्यमबाट विश्वका विभिन्न देशमा पुगेर राष्ट्रको झण्डा फहराउने काम गरेका छन्। लामो समय तेक्वान्दोमै बिताएका सञ्जीव आफूले सकुँञ्जेल तेक्वान्दोकै विकास र विस्तारमा समर्पित हुने योजना बनाएका छन्। स्कुले जीवनमा सञ्जीव अग्लो तर, दुब्ला थिए। त्यही कारण काका गोकुल नेपालीले उनलाई तेक्वान्दो खेल्न प्रेरित गरे। गोकुल पनि तेक्वान्दो खेलाडी नै थिए। उनी भतिजले पनि तेक्वान्दो नै खेलोस् भन्ने चाहन्थे। सञ्जीव पनि काकाको खेल र खेलाडीहरूले गरेको डेमोस्ट्रेसनबाट प्रभावित भएका थिए। उनलाई पनि तेक्वान्दो खेलौं खेलौं लागिसकेको थियो। त्यसमाथि काकाले कर गरेपछि सञ्जीव फुरुङ भए। उत्साहको भकारी नै बोकेर ‘किक’ हान्न सुरु गरे।
सञ्जीव २०५५ बाट औपचारिक रुपमा खेलाडी बनेका हुन्। उनलाई बुवा भवनाथ र आमा मञ्जुदेवीले पनि खेल्न प्रेरित गरे। पढाइसँगै खेलकुदलाई पनि सँगसँगै अगाडि बढाउन त्यही प्रेरणाले काम गर्यो। सञ्जीवले ६ कक्षाको हुँदा पहिलो पटक ‘दोबक’ लगाए। आफू पनि खेलाडी भएँ भन्ने उत्साह बोकेर निजगढ डोजाङमा पुगे। जहाँ कृष्णमुरारी खड्का र चित्रबहादुर लामाले खेलाडीहरूलाई प्रशिक्षण दिन्थे। सञ्जीवले पनि उनीहरूसँगै तेक्वान्दोको ‘कखरा’ सिक्न थाले। डोजाङ उनको घरबाट नजिकै थियो। त्यसैले उनको धेरैजसो समय डोजाङमै बित्न थाल्यो। डोजाङमा कहिले धेरै खेलाडी हुन्थे। हलमा अटाइनअटाइ हुन्थ्यो। कहिले खेलाडी नै हुँदैन थिए। तर, सञ्जीवले कहिले पनि खेल्न छाडेनन्।
गौरीशंकर उच्च माविबाट प्लसटु उतीर्ण गरेपछि भने सञ्जीव उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आए। काठमाडौं आएपछि पनि उनले तेक्वान्दो खेल्न भने छाडेनन्। जावलाखेल तेक्वान्दो डोजाङमा प्रशिक्षण लिन थाले। आफूले सिकेका ज्ञानलाई विभिन्न विद्यालयका विद्यार्थीहरूलाई पनि साट्थे। अर्थात खेल्नुका साथै विभिन्न विद्यालयका विद्यार्थीलाई प्रशिक्षण पनि दिन्थे।
यस क्रममा उनले थुप्रै प्रतियोगिताहरूमा सहभागिता पनि जनाए। अन्तर डोजाङ, अन्तर जिल्ला, उपत्यकाब्यापी, अञ्चलस्तरीय र राष्ट्रिय स्तरका प्रतियोगिताहरूका साथै राष्ट्रिय प्रतियोगिताहरूको छनोट प्रतियोगितामा पनि सहभागी भए। केहीमा पदक पनि जिते भने केही प्रतियोगितामा हार पनि भोगे। जित र हार जीवनका अभिन्न अंग हुन भन्ने कुरालाई मनन गर्दै उनी आगामी प्रतियोगिताका लागि तयारी गर्थे।
सन् २०१२ मा खेलकुदलाई पनि अगाडि बढाउने र आफ्नो करियर पनि बनाउने उद्देश्य बोकेर उनी मकाउ पुगे। खेलकुदकै कारण उनी लामो समय त्यहाँ बसे। त्यहाँ रहँदा आफैले सेल्फ ट्रेनिङसँगै मकाउ तेक्वान्दो संघसँग मिलेर त्यहाँका खेलाडीलाई प्रशिक्षण दिए। साथै आफूले पनि प्रशिक्षण लिन्थे भने विभिन्न तालिम र सेमिनारहरूमा पनि सहभागी हुन्थे। यसबाट उनले आफ्नो खेल कौसललाई निखार्ने अवसर पाए।
विभिन्न प्रतियोगितामा सहभागिता
मकाउ बसाइका क्रममा सञ्जीव विभिन्न देशमा पनि पुगे। त्यहाँका एरिनामा नेपालको झण्डा पनि फहराए। चौथो डान ब्ल्याक बेल्ट सञ्जीवले मकाउमा आयोजना भएका विभिन्न प्रतियोगितामा प्रतिस्पर्धा गर्नुका साथै प्रशिक्षक र रेफ्रीको भूमिका पनि निर्वाह गरे। उनले हङकङ, थाइल्यान्ड, इङ्ल्यान्ड, स्पेन, जापान, क्यानडा, अमेरिकालगायतका मुलुकमा पुगेर विभिन्न प्रतियोगितामा सहभागिता जनाए। सन् २०१९ नोभेम्बरमा इङ्ल्यान्डको म्यानचेस्टरमा भएको ब्रिटिस औटुमन ओपन च्याम्पियनसिपमा स्वर्ण पदक जितेका थिए। यसैगरी सन् २०१८ मा १६औं हङकङ नेप्लिज तेक्वान्दो संघको आयोजनामा भएको च्याम्पियनसिपमा रजत र सन् २०१९ मा स्पेनको बार्सिलोनामा भएको २०औं इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा कांस्य पदक जिते। यसैगरी २२औं एसियन सिटिज तेक्वान्दो च्याम्पियनसिप हङकङमा स्वर्ण जिते।
तेक्वान्दोका चौथो डान सञ्जीवले अनलाइन र भर्चुअल प्रतियोगिताहरूमा विभिन्न पदक पनि जितेका छन्। विशेषगरी कोरोना भाइरसले विश्वभर आतंक मच्चाएपछि भएका भर्चुअल प्रतियोगिताहरूमा उनले लगातार सहभागिता जनाए। अमेरिका, फिलिपिन्स, इन्डोनेसिया, थाइल्यान्डलगायतका मुलुकले आयोजना गरेका अनलाइन च्याम्पियनसिपमा सञ्जीवले मुलुकलाई पदक दिलाउन सफल भए। यसैगरी सन् २०१८ जुलाई २२ मा दक्षिण कोरियाको मुजुमा आयोजना भएको मास्टर्स कोर्स पनि उनले उतीर्ण गरेका छन्। सन् २०१९ मा अमेरिकाको लसभेगसमा भएको यूएस ओपन, सन् २०१८ सेप्टेम्बरमा भएको क्यानडा ओपन, सन् २०१८ सेप्टेम्बरमा भएको जी र्याङ्क इन्टरनेसनल कोच सेमिनारमा सहभागी भएर आफ्नो कौशल देखाएका थिए।
सम्मानले उत्साह
तेक्वान्दोको विकास र विस्तारका साथै कुसल एवं प्रतिभावान खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका सञ्जीवलाई विभिन्न संस्थाले सम्मान पनि गरेको छ। उनलाई गैर आवासीय नेपाली संघ मकाउले उनले पुर्याएको योगदानको उच्च कदर गर्दै सम्मान गरेको हो।
यसैगरी प्रदेश २, न्यु जावलाखेल तेक्वान्दो डोजाङ र निजगढ नगरपालिकाले पनि उनलाई सम्मान गरेको छ। यस बाहेक पनि उनले विभिन्न संघसंस्था र निकायबाट प्रसंशापत्र पाएका छन्। सञ्जीवलाई राष्ट्रिय खेलकुद परिषद्ले पनि सम्मान गरेको थियो। यसैगरी तारकेश्वर नगरपालिकाले पनि सम्मान गरेको थियो। सम्मानले नयाँ नयाँ काम गर्न जिम्मेवारी बढ्नुका साथै थप उर्जा पनि मिल्ने सञ्जीवको अनुभव छ।
अबको लक्ष्य
सरल, सहयोगी र मृदुभाषी सञ्जीव राम्रा खेलाडी उत्पादन गर्ने अभियानमा छन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सक्ने खेलाडी उत्पादन गर्ने योजना उनको छ। त्यही कारण उनी खेलाडीहरूलाई प्रशिक्षण गराइरहेका छन्। ‘मेरो लक्ष्य र उद्देश्य भनेको राम्रा खेलाडी उत्पादन गर्ने हो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सक्ने खेलाडी उत्पादन गरेर तेक्वान्दोको विकास र विस्तारमा सहयोग पुर्याउने लक्ष्य राखेको छु’, सञ्जीव भन्छन् ।’
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)