बिमा कम्पनीको चुक्ता पुँजी वृद्धि
![बिमा कम्पनीको चुक्ता पुँजी वृद्धि](https://annapurnapost.prixacdn.net/media/albums/bima-insurence-company_20190217024416_wNPcohPV1p.jpg)
काठमाडौं : बिमा समितिले बिमा कम्पनीको चुक्ता पुँजी बढाएको छ। सञ्चालक समितिको बिहीबार बसेको बैठकले चुक्ता पुुँजी बढाएको हो। समितिले जीवन बिमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब र निर्जीवन बिमा कम्पनीको चुक्ता पुँजी साढे २ अर्ब बनाएको हो।
अहिले जीवन बिमा कम्पनीको पुँजी २ अर्ब र निर्जीवनको १ अर्ब छ। बिमा कम्पनीको चुक्ता पुँजी वृद्धि गरी समग्रमा नेटवर्थ बढाई सोअनुरूप कम्पनीहरूको जोखिम वहन क्षमता बढाउने उद्देश्यले चुक्ता पुँजी वृद्धि गरिएको समितिका प्रवक्ता राजुरमण पौडेलले जानकारी दिए।
‘यसले कम्पनीहरूलाई एकअर्कामा गाभ्ने गाभिने अनुकूल वातावरण सिर्जना भर्ई उपयुक्त संख्यामा राख्न तथा पुँजीगत आधार बलियो बनाउन, ठूलो पुँजी भएमा सेवाको लागत कम भई बिमाको पहुँच विस्तार गर्न, ठूलो पुँजी कायम गरी कम्पनीहरूबीच स्वस्थ्य प्रतिस्पर्धाको वातावरण तयार गर्न र जोखिममा आधारित पुँजीसँग सामञ्जस्यता हुनेछ,’ समितिद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
सो चुक्ता पुँजी २०७९ साल चैत्र मसान्तसम्ममा कायम गरिसक्नुपर्ने र नसक्ने कम्पनीले ‘बिमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्नेसम्बन्धी निर्देशिका, २०७६’ बमोजिम पुँजी कायम गर्नुपर्ने समितिले जनाएको छ। यसैगरी, विदेशी बिमकका रूपमा दर्र्ता भई सञ्चालनमा रहेका बिमकले बिमक दर्ता तथा बिमा व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका, २०७३ को दफा ४ बमोजिम तोकिएको न्यूनतम चुक्ता पुँजीबराबरको निर्धारित पुँजी कायम गर्ने र संयुक्त लगानीमा सञ्चालित कम्पनीले तोकिएको समयावधिभित्र उल्लिखित निर्देशिकाको दफा ४ बमोजिमको तोकिएको न्यूनतम चुक्ता पुँजी कायम गर्ने व्यवस्था गरिएको छ।
साथै, कम्पनीहरूले एक महिनाभित्र आफ्नो पुँजी योजना सम्बन्धित बोर्डबाट निर्णय गरार्ई समिति समक्ष पेस गर्नुपर्ने व्यवस्था छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)