विदेशबाट सोझै चोभार

विदेशबाट सोझै चोभार

काठमाडौं : विदेशबाट आयातीत सामानको भन्सार जाँचपास यसअघि सीमा नाकामै गर्नुपथ्र्यो। त्यसपछि मात्रै काठमाडौंसम्म ल्याइन्थ्यो। अब भने व्यवसायीलाई राहत मिल्ने भएको छ। उनीहरूले मालवाहक सवारीलाई सिधै काठमाडौं ल्याएर चोभार सुक्खा बन्दरगाहबाट भन्सार जाँचपास गर्न पाउने भएका छन्। भन्सार विभागले एक साताभित्र उक्त बन्दरगाह उद्घाटनको तयारी गरेको छ। 

नेपाल राष्ट्र बैंकले मंगलबार एकीकृत परिपत्र २०७८ संशोधन गरी चोभारसम्मका लागि एलसी खोल्न बाटो खुलाइदिएको छ। व्यवसायीले वाणिज्य बैंक र राष्ट्रिय स्तरका विकास बैंकमार्फत अन्तर्राष्ट्रिय व्यापारका लागि चोभारको सुक्खा बन्दरगाह नाका हुने गरी प्रतीतपत्र जारी गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ। 

‘अन्तर्राष्ट्रिय व्यापारका लागि जारी हुने प्रतीतपत्रमा प्रचलित व्यवस्थाबमोजिम चोभारको सुक्खा बन्दरगाह भन्सार कार्यालय नाका हुने गरी समेत जारी गर्न सकिनेछ’, संशोधित परिपत्रमा लेखिएको छ, ‘साथै मेची, विराटनगर, वीरगन्ज, सुक्खा बन्दर सिर्सिया र भैरहवा भन्सा कार्यालयबाट पैठारी गर्ने गरी प्रतीत जारी भइसकेका मालवस्तुको समेत पैठारीकर्ताको माग भएमा प्रचलित व्यवस्थाबमोजिम चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयको नाममा भन्सार बिन्दु परिवर्तन गर्न सकिनेछ।’ भारतलगायत देशबाट आउने सामानको अब सिधै चोभार सुक्खा बन्दरगाहमा भन्सार तिर्न पाइने बताउँछन् राष्ट्र बैंकका विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक रामु पौडेल। ‘राष्ट्र बैंकले यहाँसम्मको एलसीका लागि बाटो खुलाएपछि विराटनगर, वीरगन्ज नाकाको जस्तै कारोबार गर्न पाउने भएका हुन्’, पौडेल भन्छन्, ‘जुन नाकाबाट मालवाहक ट्रक प्रवेश गर्छ, सोही नाकाले सिल लगाइदिनुपर्छ।’

चोभारमा भन्सार क्षेत्र घोषणा गरेका बारेमा एक महिनाअघि राजपत्रमा सूचना निकालिएको भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्का बताउँछन्। उनका अनुसार विभागले आन्तरिक ढुवानीका साधन चोभारसम्म ल्याएर जाँचपास गर्न सूचना पनि जारी गरिसकेको छ। 

‘मेची, विराटनगर, वीरगन्ज, सुक्खा बन्दरगाह सिर्सिया र भैरहवा भन्सार कार्यालयबाट छिर्ने मालवस्तु चोभारमा ल्याएर जाँचपास गर्दा ती भन्सार पोइन्टबाट आन्तरिक परिवहनको सूचनालाई मध्यनजर राखेर त्यसमा रहेको सूचनाको आधारले ढुवानी गर्न सक्छन्’, उनी अन्नपूर्ण पोस्ट्सित भन्छन्। उनका अनुसार चैत २२ गते प्रधानमन्त्री शेरबहादुर देउवाले बन्दरगाह भन्सारको उद्घाटन गर्ने तयारी छ। 

कसरी हुन्छ चोभारमा जाँचपास 

चार लेयरमा कन्टेनर राख्न सक्ने गरी आधुनिक प्रविधिसहितको बन्दरगाह निर्माण भएको छ। भन्सार जाँचपासको काम हालसम्म सीमा नाकामा रहेका भन्सार कार्यालय र बन्दरगाहले मात्रै गर्दै आएका छन्। नेपालबाट निर्यात हुने सामानको जाँचपास पनि यही बन्दरगाहबाट गर्न सकिने व्यवस्था गरिने भएको छ। 

अब चोभार बन्दरगाहमै अध्यागमन, भन्सार, बैंक तथा वित्तीय संस्था, क्वारेन्टाइनलगायत अत्याधुनिक कार्यालय रहने जनाइएको छ। बाहिरी मुलुकबाट काठमाडौंमा आयात हुने र नेपालबाट निर्यात हुने वस्तुलाई एकीकृत सेवा दिने गरी यो बन्दरगाह बनाइएको हो। यसले सामान आयात–निर्यातमा सहज हुने अपेक्षा गरिएको अधिकारी बताउँछन्। कोलकाता, विशाखापटनम र चीनको समुद्री बन्दरगाहबाट सामान बोकेर आएका कन्टेनर सिधै चोभारमा आएर जाँचपास गर्न सकिन्छ। यसका लागि सीमा नाकामा प्रवेश गरेपछि कन्टेनरमा सरकारले विशेष ‘ताल्चा’ लगाउनेछ।

सूचना अधिकारी खड्काका अनुसार आन्तरिक परिवहनका लागि भने सीमामा आएको कन्टेनरलाई जिपिए प्रणालीमा ट्रयाकिङ हुने गरी साँचो लगाएर भन्सार कार्यालयसम्म ल्याउने व्यवस्था गरिन्छ। भन्सारले साँचो खोलेर सामानको जाँच पास गर्छ। व्यवसायीले गोदाममा राख्न चाहेमा यसको व्यवस्था पनि छ। 

यो व्यवस्थाले काठमाडौंसम्म सामान समयमै ल्याउन सकिन्छ। सीमामा धेरै समयसम्म सामान रोकिएर बसेको अवस्था केहि हदसम्म समाधान हुन्छ। व्यावसायीले काठमाडौंमै आउने सामान सिधै यहाँसम्म ल्याएर लाभ लिन सक्छन्। यहाँबाट आफ्नो गोदाममा लैजान र वितरण गर्न पनि सहज हुन्छ। आन्तरिक ढुवानीसम्बन्धी व्यवस्थाले पनि सीमा नाकाबाट चोभारसम्म सुरक्षित रूपमा मालवाहक वस्तु आइपुग्छ। नाकामा जाँचपास ढिला हुने भयो, समयमा आपूर्ति हुन सकेन, सामान समयमा बजारमा पु¥याउन सकिएन भन्ने खालका समस्या समाधान हुने विभागको भनाइ छ। काठमाडौंका उपभोक्ताको हित हुने गरी समयमा बस्तु आपूर्ति गर्ने उद्देश्यले चोभारमा ठूलो क्षेत्र ओगटेर भन्सार कार्यालय बनाइएको हो। 

विभागका अनुसार चोभार सुक्खा बन्दरगाहमा ३ सय ५० ट्रक र ६ सयवटा कन्टेनर अट्ने क्षमता छ। बन्दरगाहको प्रयोगले सामान आयात–निर्यात गर्न लाग्ने लागत र समय घट्ने विभागका अधिकारीको भनाइ छ।
नेपाल इन्टरमोडल यातायात विकास समितिले यो बन्दरगाह निर्माण गरेको हो। यो बन्दरगाहको योजना सन् २०१० मै तयार भएको थियो। निर्माण सन् २०१८ अगस्टदेखि सुरु भएको थियो। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.