म्यादी प्रहरी बनाइदिन्छु भन्दै १० बढी व्यक्तिबाट रकम असुल्ने पक्राउ
राजविराज : बेरोजगारीका कारण म्यादी प्रहरीमा भर्नाको आकर्षण देखिएसँगै सप्तरीमा केही व्यक्तिले भर्नाको प्रलोभन देखाइ पैसा असुल्ने गरेको पाइएको छ। स्थानीय तह निर्वाचन प्रयोजनका लागि म्यादी प्रहरीमा व्यापक आकर्षण देखिएसँगै पैसा असुल्ने गिरोह पनि सक्रिय भएको हो ।
यही मौकाको फाइदा उठाई म्यादी प्रहरीको भर्नाका लागि ५ देखि ७ हजार रुपैयाँ असुल्ने गरेको गुनासो सुनिन् थालेपछि प्रहरीले बिहीबार स्ट्रिङ अप्रेसन गरेको सप्तरीका एसपी अविनारायण काफ्लेले बताए । प्रहरीले म्यादी प्रहरीमा दरखास्त दिएकालाई नै उक्त योजनामा सहभागी गराएको बताए ।
योजनाअनुरूप उनले आफूजस्ता निवेदकहरूबाट पाएको जानकारी अनुसार फोन सम्पर्क गर्दै रकम असुल गर्ने व्यक्तिसमक्ष पुगे । मोलमोलाइ गरेपछि पाँच हजार रुपैयाँ लिँदै गरेको अवस्थामा प्रहरीले सप्तरीको महादेवा गाउँपालिका–२ बस्ने २३ वर्षीय अरबिन्दकुमार मण्डललाई बिहीबार पक्राउ गरेको एसपी काफ्लेले बताए । एसपी काफ्लेका अनुसार उनले एक दर्जन व्यक्तिबाट पैसा असुलेको स्वीकारे पनि कोमार्फत भर्ना गराउन खोजेको भने खुलाएका छैनन् ।
नेपाल सरकारले भर्ना गर्न थालेको म्यादी प्रहरीका लागि जिल्लाका विभिन्न गाउँ, सहर र चोकचोकमा व्यक्तिहरूले पैसा असुल्न थालेको सर्वसाधारणको आरोप छ । घुस रकम खुवाउन केहीले गरगहना समेत बन्धक राख्ने गरेको राजविराजका सुनचाँदी व्यवसायीहरूले जानकारी दिएका छन् ।
म्यादी प्रहरीले प्रहरी जवानको तलब सरह (आधारभूत तलब महिनाको २२,६८० रूपैयाँ) सहित ३० हजार २४० रूपैयाँ पाउनेछन् । उनीहरूको सेवा अवधि ४० दिन रहेनछ । त्यस्तै खाद्यान्नवापत एकमुष्ठ ७ हजार २ सय रुपियाँ र पोशाक र अन्य सामग्री खरिदका लागि प्रतिव्यक्ति ६ हजार रुपियाँका दरले थप रकम उपलब्ध गराइने छ । निर्वाचनमा खटिने कर्मचारीका लागि तयारी रुवरूप खटाइएको ठाउँमा आउन जान थप एक हजार रुपियाँ उपलब्ध गराइने जनाइएको छ ।
थोरै तलबमा जोखिम र परिश्रमपूर्ण काम भएपनि बेरोजगारी र पछि पाइने अवसरको खोजी गर्दै म्यादी प्रहरी बन्न चाहनेको संख्या बढेको चन्द्रनारायण मरिकले बताए । यसअघिको निर्वाचनको अनुभव र पछिको अवसरको खोजी गर्दै आउने युवाहरूसँगै लामो समय वैदेशिक रोजगार गरेर फर्किएकाहरू समेतले म्यादी प्रहरीमा आवेदन दिएका छन् ।
म्यादी प्रहरीमा भर्ना गराइ दिने आश्वासन दिइ रकम असुल्नेहरू हमेसा प्रहरीकै आसपास रहने र सोही विश्वासमा परी रकम दिने गरेको सुभाष यादवको भनाइ छ । गुनासो व्यापक भएपछि नै स्ट्रिङ अप्रेशन गरी रंगेहात मण्डललाई नियन्त्रणमा लिइएको र अन्यको खोजी भइरहेको एसपी अविनारायण काफ्लेले बताए ।
आगामी स्थानीय चुनावको लागि सप्तरीमा १ हजार ४१७ महिला र ८ हजार ७ जना पुरुष गरी जम्मा ९ हजार ४२४ जनाले म्यादी प्रहरीमा भर्नाका लागि दरखास्त फारम भरेका छन् । सप्तरी जिल्लामा सुरुमा ३ हजार १३९ जना म्यादी प्रहरीको कोटा रहेकोमा मतदान केन्द्र कम भएसँगै म्यादी प्रहरीको सङ्ख्या घटेर २ हजार ९४८ जना भएको एसपी काफ्लेले बताए ।
सप्तरीमा मतदान स्थल २ सय ९७ र मतदान केन्द्र ५ सय ३६ रहेको सप्तरीका निर्वाचन अधिकारी रमेशकुमार जोशी बताए । सप्तरीमा मतदाता भने ४ लाख २ हजार ४४५ रहेको छ । जसमा पुरुष २ लाख १३ हजार ८९२ र महिला १ लाख ५८ हजार ५३२ छन् । समलिङ्गी मतदाता २१ जना छन् ।
यसअघिको निर्वाचनमा सप्तरीमा ३ लाख ४६ हजार २१४ जना मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ । ९ नगरपालिका र नौ गाउँपालिका रहेको सप्तरीको राजविराज नगरपालिकामा सबैभन्दा बढी ३९ हजार ६९२ मतदाता र बलान बिहुल गाउँपालिकामा सबैभन्दा कम १४ हजार ४१८ मतदाता रहेको निर्वाचन अधिकारी जोशीले बताए । मतदातामा ३ हजार ६ सय जना दोहोरो मतदाता रहेको पाइए पछि हटाइएको जोशीले बताए ।
निर्वाचन सुरक्षाका लागि नेपाल र सशस्त्र प्रहरीलाई सहयोग गर्ने हिसाबमा मुलुकभर म्यादी प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरिएको हो । स्थानीय तहको निर्वाचन केन्द्रहरूमा नेपाली सुरक्षा निकायसँगै म्यादी प्रहरी परिचालन गर्ने सरकारको तयारी छ । म्यादी प्रहरीको दरखास्त फारम भरेकाहरूको अहिले प्राथमिक स्वास्थ्य परीक्षण र शारीरिक तन्दुरुस्ती परीक्षा भइरहेको छ । शुक्रबारसम्म प्राथमिक स्वास्थ्य परीक्षण र शारीरिक तन्दुरुस्ती परीक्षा गरिने र शनिबार लिखित परीक्षा सम्पन्न गरी सोमबार अन्तर्वार्ता पश्चात मङ्गलबार नतिजा सार्वजनिक गर्ने जिल्ला प्रहरी कार्यालयको कार्ययोजना रहेको छ ।