भारतीय लगानीकर्तालाई प्रधानमन्त्री देउवाको आह्वान

भारतीय लगानीकर्तालाई प्रधानमन्त्री देउवाको आह्वान

नयाँ दिल्ली : प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय उद्योगी व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्। कन्फेडेरेसन अफ इन्डियन इन्ड्रस्टी (सीआईआई)ले शनिबार नयाँ दिल्लीको चाणक्यपुरीस्थित होटल आईटीसी  मोर्यामा आयोजन अन्तरक्रियामा देउवाले नेपालमा सहज लगानीको वातावरण बनाउने प्रतिबद्धता जनाएका हुन्। 

‘नेपालले भारतका व्यापारीसँग क्लोजर पार्टनरसीप चाहेको छ’, देउवाले भने, ‘लगानी स्वागत गर्न आतुर छौं।’ देउवाले लगानीको सहज वातावरण बनाउन नीतिगत रूपमा पनि सहजीकरण गर्ने प्रतिबद्धता जनाए। सरकारका तर्फबाट सुरक्षाको ग्यारेन्टीको प्रतिबद्धता उनले जनाए। नेपाल भारतीय लगानीकर्ताका लागि उर्वर भूमि भन्दै उनले नेपाल दक्षिण एसियाकै ग्रिन र क्लिन इनर्जी भएको उल्लेख गरे।

उनले ऊर्जा क्षेत्रमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग पनि द्विपक्षीय कुराकानी भएको उल्लेख गरे। नेपाल आउन भारतीय उद्योगी व्यवसायीलाई उनले आह्वान गरे। एमसीसी पास भइसकेपछि गोरखपुरसम्म ट्रान्समिसन लाइन बन्ने जानकारी उनले दिए। यसले क्लिन र ग्रिन ऊर्जा अभियानमा सघाउने उनको भनाइ थियो। ‘त्यसैले म ढुक्कसँग लगानी गर्न आह्वान गर्छु’, उनले भने, ‘चिसापानी, पश्चिम सेती बूढीगण्डकी परियोजनाहरू स्टोरेज छन्। म यहाँहरूलाई लगानी गर्न आग्रह गर्छु,’ उनले भने। उनले नेपालमा लगानी गरेर नेपाल–भारत सम्बन्धलाई आर्थिक रूपमा बलियो बनाउन आह्वान गरे। भारतीय उद्योगी व्यवसायीले नेपालका जलविद्युत् परियोजना, विमानस्थल र सडक पूर्वाधारमा चासो राखेका थिए। समृद्ध नेपालको अभियानमा ऊर्जा क्षेत्र गेमचेञ्जर बन्ने उनीहरूको भनाइ थियो। 

उनीहरूले वैदेशिक लगानीमा राखिएका प्रतिबन्ध हटाउन सुझाव दिएका थिए। प्रविधि र रिसर्चलाई नेपालले प्राथमिकतामा राख्नुपर्ने पनि सुझाव दिए। उनीहरूले नेपाल सरकारले प्राविधिक सहकार्यमा जोड दिनुपर्ने धारणा व्यक्त गरेका थिए। नेपालको विद्युत् भारत मात्रै होइन बंगलादेश पनि निर्यात गर्नुपर्ने, पूर्वपश्चिम रेलमार्गलाई अगाडि बढाउनुपर्ने उनीहरूको भनाइ थियो।

देउवा वनारस जाँदै

प्रधानमन्त्री देउवा भारत भ्रमणको तेस्रो दिन आइतबार उत्तर प्रदेशको धार्मिक सहर बनारस जाँदै छन्। प्रजातान्त्रिक आन्दोलनमा नेपालका अधिकांश नेताको सेल्टर मानिने बनारसमा देउवाले धार्मिक भ्रमण गर्न लागेका हुन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार १५ सदस्यीय नेपाली प्रतिनिधिमण्डल भारत सरकारको विशेष विमानबाट बिहान ७ बजे बनारस प्रस्थान गर्नेछ। लालबहादुर शास्त्री विमानस्थलमा उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्ने तालिका छ। त्यहाँ देउवाले काशी विश्वनाथ मन्दिरको दर्शन गर्नेछन्। 

उनी सारनाथमा बीपी कोइराला भाडामा बसेको घर अवलोकन गर्न जाने भएका छन्। बनारसमै हालै निर्मित पशुपतिनाथ मन्दिरको उद्घाटन गर्ने, त्यसपछि मुख्यमन्त्री आदित्यनाथले आयोजना गरेको दिवाभोजमा सरिक हुने कार्यक्रम छ। आइतबारै दिल्ली फर्किएर अपराह्न ४ः१५ को उडानबाट काठमाडौं प्रस्थान गर्ने तालिका  छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.