भारतवासी नेपाली प्रवासी कि आप्रवासी ?
पहिले नेपालमा बसोबास गर्नेहरूलाई मात्र नेपाली जाति भन्ने गरिन्छ। अहिले भने नेपाली अमेरिका, क्यानडा, बेलायत, हङ्कङ, अस्ट्रेलिया, युरोपका अधिकांश देश पुगेका छन्। विश्वका विभिन्न मुलुकमा पुगेर अस्थायी र स्थायी दुवै रूपमा बसोबास गर्न थालिसकेका छन्। तिनले नेपाली जाति महाजाति र नेपाली भाषा महाभाषाका रूपमा विकसित भइसकेको छ। नेपालबाट नेपाली विश्वका जुनजुन मुलुकमा पुगेका छन्, तीती मुलुकमा आफ्नो मूल पहिचान भाषा र संस्वृmति पनि सँगै लगेका छन्।
नेपाली जाति र नेपालीभाषी पृथक् कुरा हुन्। नेपाली जातिले नेपालमा बसोबास गर्ने र यहाँबाट नेपालबाहिर आफ्नो पहिचानका साथ बसोबास गर्ने समुदायलाई जनाउँछ। नेपालीभाषीले नेपालका र नेपालबाहिर बसोबास गरेका नेपालीलाई मात्र नभई नेपाली भाषा बोल्ने भारत, भुटान, म्यान्मा, थाइल्यान्डलगायत अन्य जुनसुकै मुलुकका भाषिक समुदायलाई पनि जनाउँछ।
यतिखेर नेपालीमा डायस्पोरा/डायस्पोरिक साहित्य, आप्रवासी साहित्य, प्रवासी साहित्य, परदेशी साहित्य, नेपालबाहिरको नेपाली साहित्य, लाहुरे साहित्य आदि अनेक नाम प्रचलनमा रहेका देखिन्छन्। विगत दशकदेखि नेपाली साहित्यका क्षेत्रमा अनेक ढंगबाट प्रशस्तै चर्चामा ल्याइएका शब्दमध्ये डायस्पोरा शब्दको चर्चा निकै भएको पाइन्छ। तर पनि यसको सैद्धान्तिक स्वरूपबारे चाहिँ उति धेरै चर्चा गरिएको पाइँदैन। वmुनै देशबाट अलि टाढा गएर केही समय बसेजति सबैले आफूलाई डायस्पोरा ठान्ने र तिनीहरूबाट सिर्जित साहित्यलाई डायस्पोरिक साहित्य भनिदिने गरेको पनि पाइन्छ। यसप्रकारको त्रुटिपूर्ण व्याख्याबाट नेपाली डायस्पोरासम्बन्धी दृष्टिकोण नै अस्पष्ट हुने स्थितिसमेत सिर्जना हुन लागेको देखिन्छ। केही समय उता (विदेश) गएका व्यक्तिहरूलाई डायस्पोरा र तिनीहरूद्वारा उतै बसेर वा यता (स्वदेश) फर्किएर लेखिएका जेसुकै र जस्तासुकै रचनालाई डायस्पोरिक/आप्रवासी साहित्य भन्ने भ्रम फिँजाइएको पनि पाइन्छ। उता वा विदेश गएकाजति सबैलाई डायस्पोरा र तिनीहरूद्वारा लेखिएका जुनसुकै र जस्तासुकै रचनालाई डायस्पोरिक/आप्रवासी साहित्य भन्न मिल्दैन। डायस्पोरिक/आप्रवासी साहित्यलाई प्रवृत्तिगत आधारमा हेर्नुपर्छ।
आफूलाई ज्ञान नभएका विषयमा कि त गहन अध्ययन गरेर मात्र बोल्नु वा गहन अध्ययन गर्न नसके चुप लागेर बस्नु नै श्रेयष्कर हुन्छ।
प्रवासी/परदेशी/लाहुरे/विदेशी नेपाली साहित्य भनिएमा नेपालबाहिरका तत्तत् क्षेत्रसँग सम्बद्ध जोसुकैले लेखेका सबै साहित्यलाई लिन सकिन्छ। तर, ती सबैलाई डायस्पोरिक साहित्य भन्नचाहिँ मिल्दैन। यताबाट जो जहाँ गयो त्यहीँको भाषा, संस्वृmति, रीतिथिति, चालचलन आत्मसात् गरी बसेका छन्। आफ्नो जातीय भाषा, संस्वृmति र धर्मचाहिँ जोगाएका छन्। यस्ता भावना भएका व्यक्तिहरूबाट त्यसैअनुरूप सिर्जित रचनालाई चाहिँ डायस्पोरिक साहित्य भन्न मिल्छ। बिदेसिएका विभिन्न नेपालीका साथै अन्य जातिबाट अनेक विषयवस्तुमा आधारित थुप्रै कृति लेखिएको पाइन्छ। तापनि ती सबैलाई डायस्पोरिक साहित्यभित्र समेट्न सकिन्न। तिनलाई प्रवृत्तिगत आधारमा केलाउनुपर्ने हुन्छ। वmुनै मुलुकबाट अर्को मुलुकमा गएका व्यक्तिका सन्तान विदेशमै जन्मीहुर्की त्यहीँ स्थायी बसोबास गरेका र स्वदेशमा पाइलोसम्म पनि नटेकेका व्यक्तिबाट सिर्जित साहित्यलाई चाहिँ डायस्पोरा भन्न मिल्दैन। यस्ता साहित्यलाई पनि डायस्पोरिक साहित्य भन्ने हो भने संसारका सबै साहित्यलाई डायस्पोरा भन्नुपर्ने हुन्छ। यसतर्पm सम्बद्ध सबै सचेत हुनु आवश्यक छ।
नेपाली परिप्रेक्ष्यबाट हेर्दा कतिपयले विदेशमा गएका बेला वा नगएका बेला पनि स्वदेश वा विदेशका बारेमा लेखिएका साहित्यलाई डायस्पोरा भन्ने गरेको पनि पाइन्छ। वास्तवमा डायस्पोरिक साहित्य भनेको त्यस्तो होइन अर्थात् स्वदेश वा विदेशको वर्णन गर्नु नै डायस्पोराको परिचायक अभिलक्षण होइन। यताबाट उता गएका र उतै बसेका वा फर्केकाहरूबाट सिर्जित सबै खाले साहित्यलाई डायस्पोरिक साहित्य भन्न सकिन्न। यस्ता कतिपयलाई सामान्यतः नेपाली साहित्य, नेपालबाहिरको नेपाली साहित्य, विदेशी नेपाली साहित्य आदि भन्न सकिए पनि ती सबैलाई डायस्पोरिक साहित्य भन्नचाहिँ पटक्कै मिल्दैन। नेपालबाट विभिन्नतिर प्रवासिएका व्यक्तिहरूबाट लेखिएका साहित्यले नेपाली साहित्यको श्रीवृद्धिमा महत्त्वपूर्ण योगदान पु¥याएको देखिन्छ। तर पनि ती सबै डायस्पोरिक साहित्य भने होइनन्। कतिपयले भारत, भुटान, म्यान्मा आदि मुलुकमा बसोबास गर्ने नेपालीभाषी र तिनबाट सिर्जित साहित्यलाई प्रवासी/आप्रवासी/डायस्पोरा आदि अनेकथोक भनेर अनावश्यक भ्रम छर्न थालेको देखिएकाले यसबारे स्पष्ट पार्नु अत्यावश्यक छ।
नेपाली भाषाको प्रयोग गर्ने ठूलो समुदाय छिमेकी मुलुक भारतमा छ। विशेषतः सुगौली सन्धिपछि भूमिसहित र भूमिरहित दुवै ढंगबाट नेपाली बसोबास गर्न पुगे। नेपाली जाति भारतका सिक्किम, दार्जिलिङ, पश्चिम बंगाल, असम, मेघालय, मणिपुर, मिजोरम, हिमाञ्चल प्रदेशमा छन्। साथै गोर्खा रेजिमेन्टमा भर्ना भई भारतका विभिन्न ठाउँमा बसोबास गर्दै आएका छन्। भूमिसहित र भूमिरहित जुन रूपमा ती विभिन्न ठाउँमा पुगे पनि अहिले ती नेपाली नभएर नेपालीभाषी भारतीय वा भारतीय नेपाली हुन्।
स्वघोषित डायस्पोराविज्ञ भनाउने कतिपयले भारतमा बसोबास गर्ने नेपालीलाई प्रवासी नेपाली मात्र होइन, भारतीय नेपाली डायस्पोरा भन्ने गरेको पनि पाइन्छ।
विभिन्न समयमा गएका वा भारतमा बस्ने नेपालीलाई केही पहिलेसम्म प्रवासी नेपाली र तिनीहरूद्वारा सिर्जित साहित्यलाई प्रवासी नेपाली साहित्य भन्ने गरिन्थ्यो। अहिले तिनीहरू आफूलाई प्रवासी भन्न पनि रुचाउँदैनन्। वास्तवमा ती प्रवासी पनि होइनन्। खासमा भारतमा बसोबास गर्ने नेपालीभाषी भारतीय नेपाली हुन्। यसरी व्यक्ति प्रवासी नेपाली नभएर भारतीय नेपाली भएपछि तिनले सिर्जना गरेको साहित्य प्रवासी नेपाली साहित्य हुने कुरै भएन। यसर्थ भारतमा बसोबास गर्ने नेपालीभाषीद्वारा सिर्जित साहित्य प्रवासी नेपाली साहित्य नभएर भारतीय नेपाली साहित्य हो। बेलाबखत कामको खोजीमा गएर फर्किने नेपालीको संख्या ठूलै छ। तर पनि ती भारतीय वा भारतीय नेपाली नभएर नेपाली नै हुन् र तिनले सिर्जना गरेको साहित्य पनि नेपाली साहित्य हो।
स्वघोषित डायस्पोराविज्ञ भनाउने कतिपयले भारतमा बसोबास गर्ने नेपालीलाई प्रवासी नेपाली मात्र होइन, भारतीय नेपाली डायस्पोरा भन्ने गरेको पनि पाइन्छ। यो भनाइ त झनै उपयुक्त होइन। ती प्रवासी पनि होइनन् र डायस्पोरा पनि होइनन्। ती भारतीय नेपाली हुन्। कतिपयले भारतमा बसोबास गर्ने नेपालीभाषीलाई भारतीय नेपाली डायस्पोरा भन्दै तिनीहरूद्वारा सिर्जित साहित्यलाई भारतीय नेपाली डायस्पोरा/आप्रवासी साहित्य भन्नसमेत बाँकी राखेका छैनन्। व्यक्ति आप्रवासी नेपाली नभएर भारतीय नेपाली भएपछि तिनले सिर्जना गरेको साहित्य आप्रवासी नेपाली साहित्य हुने कुरै भएन। यसर्थ भारतमा बसोबास गर्ने नेपालीभाषीद्वारा सिर्जित साहित्य आप्रवासी नेपाली साहित्य नभएर भारतीय नेपाली साहित्य हो।
यसरी हेर्दा निकै पहिलेदेखि भारतमा बसोबास गर्दै आएका नेपालीभाषीहरू प्रवासी नेपाली र आप्रवासी नेपाली दुवै नभएर भारतीय नेपाली हुन्। तिनका साहित्य पनि प्रवासी नेपाली साहित्य र आप्रवासी नेपाली साहित्य दुवै नभएर भारतीय नेपाली साहित्य हो। यसर्थ यस्ता अनावश्यक कुरा गरेर भ्रम छर्ने दुष्प्रयास कोही कसैले पनि गर्नुहुन्न। नेपालबाट भारत गएका नेपालीभाषी प्रवासी हुन् कि आप्रवासी हुन्। तिनले सिर्जना गरेको साहित्य प्रवासी हो कि आप्रवासी हो भन्ने प्रश्न धेरैतिर गरिन्छ। नेपालबाट भूमिसहित वा भूमिरहित भारत गएका नेपालीभाषी प्रवासी पनि होइनन्। आप्रवासी पनि होइनन्। यिनीहरू राजनीतिक हिसाबले भारतीय हुन् भने भाषिक हिसाबले भारतीय नेपाली हुन्।
भारतबाहेक भुटान, म्यान्मा र थाइल्यान्डमा नेपालीभाषीको संख्या प्रशस्तै छ। कतिपयले त्यहाँका नेपालीभाषीलाई पनि डायस्पोरा/आप्रवासी भन्ने गरेको पाइन्छ तर त्यो भनाइ पनि उपयुक्त होइन। त्यहाँका नेपालीभाषी जति सबै नेपालबाट गएका होइनन् र कुनै बेला गएका भए पनि धेरै पुस्ताअगाडि गएकाले तिनमा नेपाली भाषाबाहेक नेपाल र नेपालीसँग अन्य साइनो केही पनि छैन। यसर्थ तिनलाई तत्तत् देशका स्वतन्त्र नागरिक मानी त्यहाँका नेपालीभाषीबाट लेखिएको साहित्यलाई भुटानी नेपाली साहित्य, म्यान्माली नेपाली साहित्य आदि मान्नुपर्छ। पछिल्लो समयमा नेपालबाट भुटान, म्यान्मा र थाइल्यान्डमा गई आफ्नो पहिचान जोगाएर बसोबास गरेका नेपालीलाई भने तत्तत् देशका डायस्पोरा मान्न सकिए पनि त्यस्ताको संख्या उति देखिन्न।
खाडी मुलुकलगायत विभिन्न श्रम मुलुकमा कामका लागि अर्थात् श्रम वा रोजगारीका लागि गएका नेपाली डायस्पोरा होइनन्। तिनबाट सिर्जित साहित्य पनि डायस्पोरिक नेपाली साहित्य होइन। तिनीहरू लामो समय बसोबास गरेर ती देशबाट न्यूनतम कानुनी अधिकार प्राप्त गर्न थाले भने तीचाहिँ डायस्पोरा हुन्छन्। अनिमात्र तिनको साहित्य प्रवृत्तिगत आधारमा डायस्पोरिक नेपाली साहित्य हुन्छ। यीबाहेक अन्य मुलुकमा विभिन्न कारणबाट पुगेर पहिचानसहित बसोबास गर्ने नेपालीलाई चाहिँ तत्तत् देशसँग गाँसिएका डायस्पोरिक नेपाली भन्न सकिन्छ। तिनीहरू पनि पुस्तान्तरण हुँदै जाँदा त्यहीँको सामाजिक–सांस्वृmतिक परिवेशमा घुलमेल भई डायस्पोरा नभएर त्यही देशका नागरिक हुन्छन्। यसर्थ नेपाली जाति र नेपाली साहित्य तथा आप्रवासी नेपाली र आप्रवासी नेपाली साहित्यसँग गाँसिएका विषयमा कसैले पनि अनावश्यक भ्रम फैलाउने काम
गर्नुहुन्न। आफूलाई ज्ञान नभएका विषयमा कि त गहन अध्ययन गरेर मात्र बोल्नु वा गहन अध्ययन गर्न नसके चुप लागेर बस्नु नै श्रेयष्कर हुन्छ।
प्रतिक्रिया दिनुहोस !