‘आफन्त पोस्ने गठबन्धन’

‘आफन्त पोस्ने गठबन्धन’

कुश्मा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताका अधिकार खोसेर आफन्तलाई पोस्न ५ दलीय गठबन्धन बनेको बताएका छन्। एमाले पर्वतले कुश्मामा शनिबार आयोजना गरेको बृहत् जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्। 

उनले देउवा, प्रचण्ड र माधव नेपालले आफन्तलाई राज्यका विभिन्न पदमा नियुक्त गरिरहेको भन्दै आफन्तलाई पोस्न अदालतमार्फत आफ्नो सरकारलाई विस्थापित गरिएको बताए। गैरसांसदलाई मन्त्री बनाउने, आफ्नै भाइलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने र राजदूतमा आफ्नो मान्छे सिफारिस गर्ने, भ्रष्टाचार गर्न पाइँदैन भनेर गभर्नरलाई निलम्बित गर्ने जस्ता कार्य गरेको भन्दै असन्तुष्टि व्यक्त गरे। 

यो गठबन्धन मुलुक निर्माणका लागि नबनेको बताउँदै उनले भने, ‘मिलिजुली खानका लागि बनेको गठबन्धन हो।’ अध्यक्ष ओलीले नेकपा एमाले सरकारले गरेको विकास निर्माणलाई देखेर विरोधी तत्त्वहरू अत्तालिएको समेत बताए। उनले कोभिडका कारण आफ्नो कार्यकालमा रेल सञ्चालन गर्न नसकिएको बताए। उनले थपे, ‘आफ्नो पालामा बनेको रेल केही दिनअघि शेरबहादुर देउवाले दिल्लीमा गएर उद्घाटन गरेकोले मैले धन्यवाद दिएको हुँ।’ 

२०७४ सालको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनअघि पर्वतमा आएर कुश्मा हुँदै बेनी जाने रेलमार्ग बनाइने बताएको स्मरण गर्दै रक्सौल–काठमाडौं रेल, केरुङ–काठमाडौं रेलमार्ग निर्माण प्रक्रिया सुरु भइसकेको उनले बताए। ‘रेलमार्ग पोखरासम्म ल्याउने कुरा भइरहेको छ। त्यसपछि यता आउँछ। रेल मार्ग भनेको बोल्नेबित्तिकै बन्ने धागो तानेको जस्तो हो र ? भन्दै मध्यपहाडी रेलमार्ग बनाउन सकिने बताए। उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाएरै छाडिने बताए। 

ओलीले आफ्नो कार्यकालमा तुइन विस्थापन, हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्गलगायत अनेक स्वरोजगार र कृषिको आधुनिकीकरण, सघन सहरी विकास, डिजिटल नेपाललगायत कार्यक्रमहरू सञ्चालन गरेको बताउँदै नेकपा एमालेको विकास देखेर विरोधीहरू छटपटाइरहेको बताए। 

अध्यक्ष ओलीले नेपाल विकासको मार्गमा अत्यन्तै तीव्रताका साथअघि बढेको बताउँदै धरहरा, रानीपोखरी, अस्पताल, स्वास्थ्यचौकी, विद्यालय, सिँचाइ, घरघरमा धारा जस्ता धेरै पूर्वाधार बनेको बताउँदै अहिलेको सरकार विकास विरोधी भएको बताए। आफूले भारतलाई पत्र लेखेर फिर्ता गरेको भूमिसहितको चुच्चे नक्सा मातहतका कार्यालयमा नराख्न गठबन्धन सरकारले आदेश दिनुले गठबन्धन राष्ट्रियताको पक्षमा नरहेको कुरा स्पष्टसँग बुझ्न सकिने बताए। 

सबै स्थानीय तहमा नेकपा एमालेको विजयी सुनिश्चित गर्नुपर्ने ओलीको भनाइ छ। मुलुक निर्माणको प्रमुख आधार स्थानीय तह भएकाले जसरी भए पनि बढीभन्दा बढी स्थानीय तहमा जित्नुपर्ने उनले बताए। ‘संघीय सरकार हाम्रो होला, प्रदेश सरकार हाम्रो होला तर पनि विकासको आधार भनेको तल्लो तहको सरकार नै हो,’ उनले भने। स्थानीय तहमा कमजोर भइयो भने संघ र प्रदेशमा विजयी भएरमात्र मुलुकको विकास हुँदैन त्यसकारण सम्पूर्ण स्थानीय तहमा नेकपा एमालेको पक्षमा जनमत बनाउनुपर्छ।  

उनले ५ दलीय गठबन्धन बन्यो भनेर आत्तिनुपर्ने अवस्था नरहेको बताउँदै एमालेमा आएको जनलहरले ५ दलीय गठबन्धन ५ टुक्रा हुने पनि बताए। उनले नेकपा एमालेका कार्यकर्ताहरूलाई अरिंगालका रूपमा परिचालन हुनसमेत निर्देशन दिए। उनले ‘एमालेलाई जिताउनुस्, पर्वतको विकास गरेर देखाउँछ’ भन्दै एमालेलाई भोट दिन अपिलसमेत गरे। अध्यक्ष ओलीले कार्यक्रममा ५ सयभन्दा बढीलाई पार्टी प्रवेश गराएका थिए। 

ओलीले शनिबार नै बागलुङमा समेत सम्बोधन गरे। त्यहाँ उनले कार्यकर्ताहरूलाई प्रशिक्षण दिँदै एमाले सरकारमा छँदा राम्रा कामहरू भएको तर अहिलेको सरकारले देशलाई कंगाल बनाएको आरोप लगाए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.