सप्तरी, सिरहा, उदयपुर र सर्लाही सेमीफाइनलमा
![सप्तरी, सिरहा, उदयपुर र सर्लाही सेमीफाइनलमा](https://annapurnapost.prixacdn.net/media/albums/Football3_20220411193923_eJUAsm3IwL.jpg)
राजविराज : सप्तरीमा जारी मदन भण्डारीस्मृति गोल्डकप फुटबल प्रतियोगितामा आयोजक सप्तरी सोमबार सेमीफाइनलमा प्रवेश गरेको छ।
सप्तकोसी नगरपालिका फत्तेपुरस्थित रंगशालामा सोमबार भएको अन्तिम क्वाटर फाइनल खेलमा आयोजक सप्तरीले एपिएफ फुटबल क्लब महोत्तरीलाई २–० अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो। आयोजककोतर्फबाट निसान लिम्बूले पहिलो र यानिकले दोस्रो गोल गरेका हुन्। बिदेशी खेलाडी यानिक आयोजक टिमबाट खेलिरहेका छन्।
मङ्गलबार प्रथम सेमीफाइनल खेल सहलेस फुटबल क्लब सिरहा र बागमती फुटबल क्लब सर्लाहीबीच हुने आयोजकले जनाएको छ। यस्तै दोस्रो सेमिफाइनल खेल बुधबार सप्तरी र गाइघाट फुटबल क्लब उदयपुरबीच हुने जिल्ला फुटबल संघ सप्तरीका महासचिव अमर खवासले बताए।
प्रतियोगितामा प्रदेश नम्बर १ र मधेस प्रदेशका ८ वटा टिमको सहभागिता छ। राष्ट्रियस्तरका खेलाडीहरू सम्मिलित टिममा सप्तरी, सिरहा, उदयपुर, सर्लाही, महोत्तरीसहित झापाको दमक फुटबल एकेडेमी, मोरङको डाँगीहाट फुटबल क्लब र सुनसरीको इटहरी फुटबल क्लबको सहभागिता रहेको छ।
प्रतियोगितामा विजेतालाई नगद दुई लाख र उपविजेता टिमलाई नगद एक लाख रुपैयाँ तथा ट्रफी प्रमाणपत्र, मेडल प्रदान गरिने खवासले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)