‘फ्ल्यास ब्याक’: स्थानीय निर्वाचन-२०७४ सिन्धुली
![‘फ्ल्यास ब्याक’: स्थानीय निर्वाचन-२०७४ सिन्धुली](https://annapurnapost.prixacdn.net/media/albums/SindhuliBazar4_20220412150200_YfrbkdBTKn.jpg)
सिन्धुली : २०७४ मा सिन्धुलीको तिनपाटन गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका छत्रहादुर दाहाल झिनो मतले पराजित भए। २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा दाहाल नेपाली कांग्रेसका उम्मेदवार कर्ण थापा मगरसंग १९ मतको अन्तरले पराजित हुनु परेको थियो। थापाले ५७०१ मत पाएर विजयी हुँदा दाहालले ५६८२ मत पाएका थिए।
दाहालकै प्यानलकी उपाध्यक्ष पदममायाँ तामाङ भने ६ सय ३१ मत अन्तरले विजयी भईन। उनको निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसकी चिन्तादेवी दाहालले ५ हजार ९१ मत पाएकी थिइन्। सरकारले यसपटक पनि स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिरहँदा दाहाल पुनः गाउँपालिकाको अध्यक्षका लागि दरिलो उम्मेदवार बनेका छन्।
जिल्लामा स्थानीय तहको निर्वाचन नजिकिदैँ गर्दा राजनीतिक दलहरुबीच उम्मेदवार छनौटमात्र हैन अघिल्लो निर्वाचनको अंकगणितसहितको समिक्षासमेत हुन थालेको छ। २०७४ बैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा जिल्लामा राष्ट्रिय राजनीतिको मुलधारमा रहेका नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्र मुख्य प्रतिस्पर्धी पार्टीहरु थिए।
उक्त निर्वाचनमा सुनकोशी गाउँपालिकाकी अध्यक्ष दिपा बोहोरा दाहालले ३ हजार ४ सय ३३ मतका साथ स्थानीय तहको निर्वाचनमा विजयी भईन्। उनले नेपाली कांग्रेसका कपिल कुमार कोईरालालाई २ सय १९ मतको अन्तरलेपछि पारेकी थिइन।
दाहाल नेकपा माओवादी केन्द्रकोतर्फबाट उम्मेदवार बनेकी थिइन। कोइरालले ३ हजार २ सय १२ मत प्राप्त गरेका थिए। यसपटक पनि उक्त पालिकामा माओवादी केन्द्र, नेपाली कांग्रेस र एमाले बीचमै कडा प्रतिस्पर्धा हुने देखिन्छ। यि तिनै दलमा साविक प्रतिस्पर्धी तथा विजेता नै यसपटक पनि स्थानीय तहको निर्वाचनको उम्मेदवारका लागि टिकट लिन जोडतोडले लागेका छन्।
सुनकोसी गाउँपालिकामा माओवादी केन्द्र सत्तामा रहँदा सत्ता बाहिर रहेका कांग्रेस र एमाले दुबै यसपटक जित आफ्नो पोल्टोमा पार्ने दाउँमा छन्। तर, माओवादी केन्द्रकी नेतृ तथा गाउँपालिका अध्यक्ष दिपा दाहाल एक्लाएक्लै चुनावमा गएपनि यो पटक पनि माओबादी केन्द्र विजयी हुने बताउँछिन्।
यस्तै दुधौली नगरपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार दिनेश अधिकारी ३ सय ७५ मत अन्तरले पराजित भए। उनलाई उछिन्दै नेकपा एमालेका घाश्याम राउत ८ हजार ५ सय ९८ मत पाएर नगर प्रमुखमा विजयी भएका हुन्। अधिकारीले ८ हजार २ सय २३ मत पाएका थिए। उपप्रमुखमा भने ५ सय २६ मत अन्तरका साथ एमालेकै बालकुमारी अधिकारी निर्वाचित भइन्।
यसपटक भने आफूलेनै टिकट पाए माओवादी केन्द्रको जित सुनिश्चित भएको दिनेश अधिकारीको भनाई छ। अधिकारीसंग पुनः प्रतिस्पर्धामा एमालेका राउत नै आउन सक्ने प्रबल सम्भावना रहेको छ। कांग्रेसकी प्रतिस्पधी गंगा दाहाल यस पटकपनि मेयर कै पदमा उम्मेदवारी दिने तयारीमा छिन्। यद्यपी दुधौली नगरमा तिनै दलले उम्मेदवारको टुंगो लगाउन सकेको छैन्। सके गठबन्धन नभएपनि नगर जित्न सक्ने र योग्य उम्मेदवारलाई पार्टीले उम्मेदवार बनाउने नेकपा माओवादी केन्द्रका सिन्धुली इन्चार्ज राजन दाहालको भनाई छ। ‘गठबन्धन दलहरुबीचमा प्याकेजमै उम्मेदवार टुंगो लगाउने केन्द्रको निर्णयलाई जिल्लामा पनि कार्यान्वयन गर्ने र सोही आधारमा पालिकाहरु भागबण्डा गरिने छ,’ दाहालले भने।
नेपाली कांग्रेसले पनि केन्द्रकै निर्णय पर्खेर बसेको छ। उता फिक्कल गाउँपालिकामा एमालेका धनबहादुर कार्की ३ हजार १ सय २६ मतका साथ विजयी भए। उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका मोहनबहादुर कार्की २ हजार ७ सय २७ मत पाए। उनीहरुबीच ३ सय ९९ मत अन्तर रहेको छ। उपाध्यक्षमा पनि ४ सय ९१ मत अन्तर रहेको छ। उपाध्यक्षमा विजयी एमालेकै पार्वती सुनुवारले ३२१४ र उनकी प्रतिद्धनद्धी नेपाली कांग्रेसकी २७२३ मत पाएकी थिइन्। उपाध्यक्ष सुनुवार यसपटक अध्यक्षको दावी गरिरहेकी छिन्। तर त्यहाँ एमालेका अन्य आधा दर्जन नेताहरु अध्यक्षको दौडमा छन्। भएका मध्ये योग्य र चुनाव जित्न सक्नेलाई पार्टीले टिकट दिने एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख संजय दाहालको भनाई छ।
जिल्लाको घ्याङलेख गाउँपालिकामा पनि निक्कै प्रतिस्पर्धा भएको थियो। पालिका अध्यक्षमा निर्वाचित नेपाली कांग्रेसका जगत बहादुर भोलनले २४२४ मत पाएका थिए। उनका प्रतिस्पर्धी नेकपा माओवादीका शंकरमान घलानले १ हजार ९ सय ५५ मत पाए। भोलन र घलान बीचमा ४ सय ६९ मत अन्तर भएको थियो।
उपाध्यक्षमा ३ सय १६ मतको मात्र अन्तर थियो। उपाध्यक्ष नेपाली कांग्रेसकै दुर्गादेवी सुनुवार २२८७ मतले निर्वाचित भएकी थिइन्। उनको निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी कान्छीमाया भोलनले १९७१ मत पाएकी थिइन्। यता जिल्ला सदरमुकामसमेत रहेको कमलामाई नगरपालिकामा नेकपा एमाले र नेपाली कांग्रेसकाबीच प्रतिस्पर्धा भएको थियो।
नगरप्रमुखमा निक्कै मत अन्तरले एमालेका खड्गबहादुर खत्री विजयी भएपनि उपमेयरमा भने ३ सय ९८ मत अन्तरमात्र रह्यो। एमालेकी उम्मेदवार मन्जु देवकोटा ९९२९ मतले विजयी भईन भने उनको निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी सुशिला थिङ रहिन्। थिङले ९५२३ मत प्राप्त गरेकी थिइन्।
यसपटक पनि मेयर खत्री, उपमेयर देबकोटा मेयरकै उम्मेदवारको दाबी गर्दै पार्टीमा टिकटकालागि धाईरहेका छन्। अधिल्लो चुनावका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उपेन्द्र पोखरेल यसपटक पनि नगरका सम्भावित उम्मेदवार हुन्। यसपटक नेपाली कांग्रेसका जिल्ला सभापतिसमेत रहेको पोखरेल खुलेर नलागेपनि कमलामाईमा आफैं मेयर हुने दाउमा छन्।
जिल्लाको मरिण र हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका थिए। दुबै पालिकाका निकटतम प्रतिद्धन्द्धीहरुबीच कम्तिमा एक हजारको मत फरक छ। मरिण गाउँपालिकामा माओवादी केन्द्रले एकलौटि जित हात पारेको थियो। यो पटक पनि माओवादी केन्द्र एक्लै चुनाव जित्ने दाउमा छ। गोलन्जोर गाउँपालिकामा भने अध्यक्ष र उपाध्यक्ष दुबै पदमा सानदार मतका साथ नेपाली कांग्रेसले विजयी भएको थियो। तर, यसपटक माओवादी केन्द्र र एमाले कुनैपनि हालतमा कांग्रेसको विरासत ढाल्ने दाउमा छन्।
दुई नगरपालिकासहित नौं वटा स्थानीयतह रहेको सिन्धुली जिल्लामा आगामी निर्वाचनमासमेत माओवादी केन्द्र, नेपाली कांग्रेस र एमालेबीचमै कडा प्रतिस्पर्धा हुने देखिन्छ। मुख्यत यी राजनीतिक दलहरु चुनाव केन्द्रित भएर गाउँ अभियानमासमेत जुटेका छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)