बोक्सी लागेको भन्दै थुनिएकी महिला मृत फेला

बोक्सी लागेको भन्दै थुनिएकी महिला मृत फेला

महेन्द्रनगर : कञ्चनपुरको बेदकोट नगरपालिका–६ मुसेपानीकी ४३ वर्षीया रञ्चुला साउद चैत अन्तिमतिर बिरामी परिन्। दुई जना धामी जेठानी कमला साउदको घरमा आएको थाहा पाएर चैत २७ गते त्यतै गइन्। झारफुक गरेर फर्किइन्। तर, अर्को दिन धामीझाँक्रीले ‘बोक्सी लागेकाले आफूहरूले निको पारिदिने’ भन्दै कोठामा थुनेर राखे। तर, त्यसको छैटौं दिन थुनिएको अवस्थामै शंकास्पद तवरले रञ्चुलाको मृत्यु भएको खुलेको छ।

‘मेरो मम्मीलाई कोठामा थुने। हामीलाई कसैलाई नभन्नू भनेर धम्की दिए’, रञ्चुलाकी छोरी सरिताले भनिन्, ‘धामीझाँक्रीले घटनाका बारेमा बाहिर भने तिमीलाई पनि यस्तै बनाइदिन्छु भन्दै धम्की दिए।’ उनका अनुसार धामीले न घरका व्यक्तिलाई बाहिर जान दिए न त बाहिरकालाई घरमा पस्न दिए। उनीहरूले बोक्सी लागेको भन्दै आँगनमा धुनी बालेर फलामको सरिया तताई कुटपिट गरेको उनले बताइन्। 

‘मम्मीको हातखुट्टा केही नचल्ने भएपछि मैले के भयो भनेर धामीलाई सोधें’, सरिताले भनिन्, ‘तिम्रो आमालाई तिम्रो हजुरआमाको आत्मा लागेको छ, तिम्रो अंकल आएपछि मात्रै ठीक हुन्छ भने।’ त्यसपछि सरिताले पहाडमा रहेका काकालाई फोन गरेर बोलाइन्। काका आउँदासम्म नै रञ्चुलाको मृत्यु भइसकेको हुन सक्ने स्थानीयवासी बताउँछन्। तर, झाँक्रीहरूले अरूलाई रञ्चुलाको मुख हेर्न दिएनन्। 

‘मेरो अंकल पहाडबाट वैशाख १ गते पुगेपछि धामीले भोलि बिहान ८ बजे ठीक पार्छु भने। भोलि बिहान भने साँझ ८ बजे ठीक पार्छु भने’, उनले भनिन्, ‘मेरो घरमा आएका आफन्तलाई पनि झाँक्रीहरूले मुख हेर्न दिएनन्।’ उनीहरूले कोठामा बन्धक बनाएर कपडासमेत खोल्न लगाएको सरिताले बताइन्। 

वेदकोट–६ का वडा सदस्य धनसिंह पुजाराको घरमा शनिबार बिहान ७ बजेतिर मृतकका भाइ र अरू दुई स्थानीय युवा आए। मृतकका भाइले धामीझाँक्रीले आफूहरूलाई उक्त घरमा प्रवेश गर्न नदिएको भन्दै एकपटक गइदिन पुजारालाई आग्रह गरे। 

‘घरभित्र कसैलाई पनि प्रवेश गर्न दिएको छैन एकपटक गईदिनुस् भने। त्यसपछि म त्यहाँ गएको हुँ’, वडा सदस्य पुजाराले भने, ‘म त्यहाँ गएपछि धामीझाँक्रीले उल्टै मलाई धम्क्याए। अनि मैले प्रहरीलाई खबर गरेको हुँ।’ 

पुजारा त्यहाँ पुग्दा साउद परिवारका सदस्य र दुई धामी आँगनमा बसिरहेका थिए । आँगनमा कपडाले छोपेको अवस्थामा एउटा शव थियो । नजिकै आगोको धुनी र फलामका डन्डी थिए । ‘ती महिलाको वैशाख १ गतेतिर नै मृत्यु भइसकेको रहेछ । शव गन्हाउने अवस्थामा थियो’, पुजाराले भने, ‘फलामको रड तताएर महिलाको मुखमा लगाएको रहेछ । मैले हेर्दा पूरै पोलिएको थियो ।’ पुजाराले तत्कालै प्रहरीलाई खबर गरेपछि घटना बाहिर आएको हो । जेठानीको घरमा झारफुक गर्न गएकी रञ्चुलाको मृत्यु भएको वडाध्यक्ष फट्टेराम रानाले बताए । ‘त्यहाँ आएका दुई जना धामीझाँक्रीले आगो बालेका थिए । फलामका रडहरू पनि थिए’, वडाध्यक्ष रानाले भने, ‘महिलाको पहिले नै मृत्यु भइसकेको थियो । शव गन्हाउँदै थियो ।’

घटना शंकास्पद देखिएकाले भीमदत्त नगरपालिकाका दुुई धामीसहित ७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा धामीद्वय भीमदत्त–७ का ६० वर्षीय धर्मानन्द भट्ट, वडा नम्बर १ का ७२ वर्षीय नारायणदत्त भट्ट, मृतककी जेठानी कमला साउदलगायत रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख श्यामसिंह चौधरीले बताए । ‘हामी घटनाको अनुसन्धानमै छौं । पोष्टमार्टमको रिपोर्ट र हाम्रो प्रारम्भिक अनुसन्धानपछि मात्रै मृत्युको कारण खुल्छ’, जिल्ला प्रहरी प्रमुख चौधरीले भने ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.